साढे ३ अर्बको शेयर कारोबार



 

नेपाल समाचारपत्र
काठमाडौं
गत साता शेयर बजारमा ३७ दशमलव ७८ अंकको गिरावट आएको छ। गत साता हजार ६ सय १७ दशमलव ८१ अंकबाट शुरू भएको शेयर बजार बिहीबार १ हजार ५ सय ८० दशमलव शून्य अंकमा आइपुगेको हो।

गत साता कारोबारमा आएका ८ मध्ये ७ समूहमा गिरावट आउँदा समग्र बजार परिसूचक ओरालो लाग्यो। यसक्रममा ३ अर्ब ५६ करोड १ लाख २३ हजार रुपियाँ बरारबको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। कारोबार रकम अघिल्लो साताको तुलनामा ७ दशमलव ४ प्रतिशत बढी हो। अघिल्लो साता बजारमा ३ अर्ब ३१ करोड ४९ लाख ६५ हजार रुपियाँको कारोबार भएको थियो।

अघिल्लो साता सुधारको संकेत देखाएको शेयर बजारगत साता भने सकारात्मक हुन सकेन। पाँचै दिन कारोबार भएको बजारमा साताको पहिलो दिन सुधार आए पनि त्यसयता निरन्तर ओरालो लाग्दा समग्र परिसूचक घटेको हो।

त्यसक्रममा शेयर बजारमा १ सय ८० कम्पनीका ७५ लाख ८४ हजार ८ सय ९० कित्तँ शेयर किनबेच भएका थिए। सातभरि कुल ३९ हजार ९१ कारोबार भएका थिए। गत साता कारोबारमा आएका ८ समूहमध्ये उत्पादन तथा प्रशोधन समूहमा मात्र सुधार आयो। साताभरमा उक्त समूहको परिसूचक ७१ दशमलव शून्य ९ अंकले बढ्यो।

गिरावट आउनेमध्ये सबैभन्दा धेरै बीमा समूहको परिसूचकमा ३ सय ३२ दशमलव ९३ अंकको गिरावट आयो। त्यस्तै होटल र बैंक समूहका परिसूचकमा क्रमशः ४५ दशमलव ६५ र ३९ दशमलव २५ अंकले घटे।

त्यसैगरी जलविद्युत्, वित्त र विकास बैंक समूहका परिसूचक क्रमशः ३४ दशमलव ३६, २६ दशमलव शून्य ३ र ९ दशमलव ४५ अंकले घटे।अन्य समूहको परिसूचक पनि ८ दशमलव १ अंकले ओरालो लाग्यो।
साताभर बीमा कम्पनी तथा बैंकका कारोबार समग्रमा राम्रो रहेको थियो। सो अवधिमा उच्च कारोबार गर्ने ५ मध्ये २⁄२ वटा बीमा कम्पनी र बैंक रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव ४२ अंकले घटेर ३ सय ३१ दशमलव ३२ अंकमा आइपुगेको छ।

कारोबार रकमको आधारमा गत साता लघुवित्त विकास बैंक अग्रस्थानमा रह्यो। कम्पनीको कुल १८ करोड ४२ लाख ७० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको हो।

त्यस्तै एनआईसी एसिया बैंकको १४ करोड ७६ लाख रुपियाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड १८ लाख रुपियाँ, नविल बैंकको १३ करोड ५४ लाख रुपियाँ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड ५९ लाख रुपियाँ बराबरको शेयर कारोबार भएका थिए।

कारोबार भएको सेयर संख्याको आधारमा एनआईसी एसिया बैंकले शीर्ष स्थान ओगटेको छ।

गत साता कम्पनीका ३ लाख २६ हजार कित्ता शेयर कारोबार भएका थिए। त्यस्तै कारोबार संख्याको आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रह्यो छ। कम्पनीका कुल ७ हजार ८ सय ७८ वटा कारोबार भएका थिए।
गत हप्ता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

 

प्रतिक्रिया दिनुहोस्