‘युरोपको यात्राः अक्षरको खेती’ विमोचित



 

साहित्यकार प्रा. रामप्रसाद दाहालको ‘युरोपको यात्राः अक्षरको खेती’ नियात्रा पुस्तक सार्वजनिक भएको छ। १९ वटा मूल शीर्षक र ११ वटा उपशीर्षक रहेको सो पुस्तकमा यात्रा र अनुभूतिबाहेक सबै लेख युरोपसँग सम्बन्धित छन्। सो पुस्तक हालै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक गर्नुभएको हो। सो अवसरमा मन्त्री बस्नेतले पुस्तकका लेखक दाहाल आफ्नो पनि गुरु भएको र गुरुको किताब विमोचन गर्न पाउँदा खुशी लागेको बताउनुभयो।

पुस्तकका बारेमा भाषाविद् प्रा.डा. माधव पोख्रेलले समालोचकीय मन्तव्य दिँदै भन्नुभयो– ‘ताना शर्माको बेलायततिर बरालिँदापछि काव्यात्मकतालाई साँधेर लेखिएको यो नियात्रा कृति हो।’ प्रा.डा. पोख्रेलका अनुसार यस कृतिमा आत्मपरकता र वस्तुपरकताको समन्वय एवं सन्तुलन पाइन्छ। पढेर पनि नसकिने, बुझेर पनि नसिद्धिने, जति पढ्यो, उत्ति बुझिने, गहिरो कुवा, पोखरी, ताल हुँदै समुद्र डुबुल्की मार्दा पनि नसकिने यदि कुनै संसारमा वस्तु छ भने त्यो ‘अक्षरको खेती’ नै हो।

त्यस्तै पुस्तकका लेखक दाहालले सरल वाक्यमा कर्ता, कर्म, क्रियाको संयोजनभन्दा पनि साहित्यिक उन्मुक्ततामा कृति लेखिएको बताउनुभयो। बी.पी.ले ‘शिक्षा र साहित्यमा सम्राट पनि निर्वस्त्र हुन्छ भनेजस्तै यो कृति पनि स्वतन्त्रतालाई अंगालेर निर्माण भएको दाहालले स्पष्ट पार्नुभयो।

नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष एवं वरिष्ठ साहित्यकार नगेन्द्र शर्माले विमोचन कार्यक्रमको सभापतित्व गर्नुभएको थियो। उहाँले दाहालको लेखनी कवितात्मक र रसास्वादन गर्ने किसिमको देखिने बताउनुभयो भने जनमत मासिक तथा प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले दाहालका रचनाले रौनक ल्याउने उल्लेख गर्नुभयो। दुवालले भन्नुभयो– ‘कृति सुन्दर छ र यो पाठकबीच प्रिय हुनेछ।’

वरिष्ठ पत्रकार शैलेन्द्र साकारले आफूलाई याद भएका कविता–गीतहरु राखेर झन् कृतिलाई भात, दाल, तरकारीपछिको अचारजस्तो चाखिलो बनाइएकोमा लेखकको सराहना गर्नुभयो। कार्यक्रममा नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय, नेपाल सरकारका पूर्वसचिव एवं परराष्ट्रविद् मधुरमण आचार्य, प्रतिष्ठानका अध्यक्ष काशीराज दाहाल, सञ्चारकर्मी अनिता आचार्यले पनि कृतिको बारेमा प्रकाश पार्नुभएको थियो। लेखक दाहाललाई शेयर वल्र्ड टोकियो र माया नेटवर्कले साहित्यिक र सामाजिक योगदानस्वरुप रु. २५,०००।– नगद एवं ताम्रपत्रद्वारा स्रष्टा सम्मान प्रदान गरेको थियो।

यस कृतिको प्रकाशन हिमालयन बुक स्टल, डिल्लीबजारले गरेको हो। पुस्तकको फोटो संयोजन देवी तिमिल्सिनाले गर्नुभएको हो भने डिजाइन अग्निराज पौडेल ‘अराप’ले गर्नुभएको हो। पृष्ठसंख्या १५२ भएको यस पुस्तकको मूल्य रु. २००।– रहेको छ।

प्रतिक्रिया दिनुहोस्