लेखापढीको आन्दोलन, मालपोतको काम ठप्प



पुष्कर बुढाथोकी, भक्तपुर ।
मालपोत कार्यालयले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनले आन्दोलन सुरु गर्दा कार्यालयको काम ठप्प भएको छ । एसोसिएसनले विभिन्न माग राख्दै मालपोत कार्यालय भक्तपुरको मूलढोका मै विरोधको व्यानर टाँसेर कलम बन्द गरी आन्दोलन गरेपछि कार्यालयको काम ठप्प भएको हो ।
एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार दाहालले मालपोत कार्यालयमा कर्मचारीले काम ढिलोसुस्ती गरेको, सेवाग्राहीलाई दुःख दिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । उहाँले भन्नुभयो–“मन्त्रालयको निर्णय भन्दै रोकिएको जग्गा कित्ताकाट खुल्ला गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपनि अझै जग्गा कित्ताकाट नगरेर दुःख दिएको छ ।”एसोसिएसनका पूर्वअध्यक्ष राजेन्द्र बस्नेतले सेवाग्राहीलाई छिटो र सहज सेवा दिन माग गर्दा उल्टै मोठमा जान नपाएर आन्दोलनमा उत्रिएको आरोप लगाएको बताउनुभयो ।
लेखापढीको आन्दोलनका कारण जग्गा नामसारी, अंशबण्डा लगायतका बिभिन्न कामका लागि आएका सयौ सेवाग्रहीलाई कार्यालय भित्र जान नदिएपछि सेवाग्राही काम नगरी फर्किएका छन् । कार्यालयका प्रमुख कमल तिमिल्सिनाले बाहिरी एवं बिचौलिया व्यक्तिले मोठ, तामेली फाँटमा प्रवेश गरेर समस्या पारेपछि त्यसलाई रोक्दा लेखापढी व्यबसायी आन्दोलनमा उत्रिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्