एउटा धृष्टता



 

प्रधानमन्त्री शेबदेका सहयोगीहरूको उमेर कतिजतिको छ कुन्नि धरहरालाई थाहा भएन। तर, उनीहरूले प्रमको सामाजिक सञ्जालमा उटपट्याङ कुरा गरेको देखेर भने यसलाई रमाइलो लागेको छ। केहीअघि प्रम भारत जाने बेलामा ‘हेल्लो भारत’ भन्दै जिस्किने शैलीमा प्रमको ह्यान्डलबाट सन्देश दिएको देखिएको थियो।

हिजो मात्रै बेप्रसंग प्रमको भारत भ्रमणको स्मरण गरेर तस्वीर राखिएका छन्। केही दिनअघि एक जना उहाँका सहयोगी बोल्दै गरेको सुनियो– ‘कहाँ ब्रिक्स समिट अहिले हुन्छ ? बुझ्दै नबुझी फोन गर्ने ?’ उनी कोसँग कुरा गर्दै थिए थाहा भएन। तर, धरहरालाई थाहा भयो, विचरा उनलाई ब्रिक्स समिटको बारेमा थाहा नै रहेनछ। जुन चीनमा हुन लागिरहेको छ र नेपालले यसपालि निम्तो पाएको छैन।

त्यसैले प्रमका नजिक हुने व्यक्तिले त्यसमा पनि सार्वजनिकरूपमा बोल्दा वा सामाजिक सञ्जाल चलाउँदा अलि बुझेर मात्रै बोल्ने⁄चलाउने हो कि भन्ने धरहराको सानो सुझाव छ है। किनकि प्रम बोलेको भनेको देश बोलेको रूपमा बुझ्नुपर्ने हुन्छ। खेलाँची गर्दा देशलाई घाटा होला। तलब सुविद्या नलिए पनि धरहराले सानो सल्लाह दिने धृष्टता गरेको छ है। अन्यथा नमानियोस्। कि कसो पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्