यसरी जाग्दै बाग्मती



 

सुरेश तामाङ

ग्मतीको नाम झट्ट लिँदा डुङडुङ्ती गन्ध आउने र कालो लेदोसहितको फोहोर ढल बग्ने नदीको दृश्य चित्र हरेकको मस्तिष्कमा आउने गर्छ। झण्डै तीन दशकअघिदेखि हरेकको मन मस्तिष्कमा बाग्मती सम्झँदा यस्तो दृश्य चित्र बन्दै आएको हो।

जनसंख्याको उच्च चापसँगै नदीमा सीधै ढल मिसाउनाले बाग्मती नदी कुरूप देखिएको सबैलाई ज्ञात भएको विषय हो। कुनै समय सफा र स्वच्छ पानी बग्ने यो नदीको स्वरूप फरिने दिन भने अब निश्चितप्रायः भएको छ। यसको मतलब बाग्मतीको सुधारका थुपै्र काम भइरहेको पाइएको छ। बाग्मतीलाई पहिल्यैको अवस्थामा ल्याउने काम द्रुत गतिमा हुँदै छ। अब चाँडै नै बाग्मतीमा पहिलाकै जस्तो सफा र स्वच्छ पानी बग्नेछ।


स्वच्छ, सफा, हराभरा र जीवन्त नदी प्रणाली कायम गर्न विभिन्न निकायले काम गरिरहेका छन्। यसमा प्रत्यक्षरूपमा अधिकार सम्पन्न बाग्मती एकीकृत विकास समितिले काम गरिरहेको समितिका वरिष्ठ इन्जिनियर प्रभात श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार समितिका साथै बाग्मतीमा जल तथा ऊर्जा आयोग र सिँचाइ विभागले सहरी विकास मन्त्रालय मातहतमा रहेर काम गरिरहेका छन्।

केके काम भइरहेको छ ?
समितिका वरिष्ठ इन्जिनियर श्रेष्ठका अनुसार जल तथा ऊर्जा आयोगले नीतिगत सुधार, नदी जलाधार संस्था गठन, नदीको तटीय क्षेत्रमा बाढी पूर्वानुमान तथा सचेत सूचना प्रणालीको स्थापना, नदी तटीय विकास गुरूयोजना बनाउनेलगायतका काम गरिरहेको छ।

सिँचाइ विभागले नदीमा पानीको बहावको मात्रालाई बढाउनका लागि ड्याम बनाउने, जसमा वर्षाको पानी जम्मा हुने र नदीलाई आवश्यक पानीको बहावको मात्रालाई बढाउन सहयोग गर्दछ। यसको मद्दतले सुख्खा याममा पनि उही बहावमा पानी बग्न पाउँछ। त्यसका लागि सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम गर्दछ।

समितिअन्तर्गतका बाग्मती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजना र बाग्मती सुधार आयोजनाले भने नदी किनारको दुवैपटि ढल निर्माण गर्ने, दुवै किनारमा १४–१४ किमि लामो पर्खाल निर्माण, २ हजार ५ सय घरधुरीलाई आकाशेपानी संकलन प्रविधि जडान, नदी नियन्त्रण, धार परिवर्तन कार्य गर्ने, बाटो निर्माण कार्य गर्ने, हरियाली क्षेत्र विकास कार्य तथा नदीको वातावरणीय सुधार कार्य, ढल प्रशोधन कार्य गर्दछ। त्यस्तै समितिले बाग्मतीका सहायक नदीहरु नख्खु, काड्कु, हनुमन्ते, मनोहरा, धोबीघाट, विष्णुमती र बल्खुखोलामा पनि काम गरिरहेको छ।
सुन्दरीजलदेखि सुन्दरीघाट चोभारसम्म बाग्मती नदीको लम्बाइ साढे २८ किमि (उपत्यकाभित्र) छ। समितिले गोकर्ण–गुह्येश्वरी, सुन्दरीजल–गोकर्ण, तिलगंगा–मनोहरा दोभान र मनोहरा दोभान–सुन्दरीघाट चोभार गरी चार खण्डमा विभाजन गरेर बाग्मतीलाई पुनर्जीवित गर्ने काम गरिरहेको छ।

खर्च विवरण
समिति मातहत हुने यी कार्य गर्नका लागि ३६ मिलियन यूएस डलर खर्चिने अनुमान गरिएको छ। एडीबीको ४.५ मिलियन अनुदान र २५.५ मिलियन सहुलियत ऋणसहित ३० मिलियन र नेपाल सरकारको ६ मिलियन सहयोग हुनेछ। बाग्मती नदीको सम्पूर्ण कार्यप्रगति ३० प्रतिशत सम्पन्न भइसकेकाले अबको ५ देखि ७ वर्षको बीचमा वाग्मती नदीमा स्वच्छ नीलो पानी बग्ने सम्भावना छ।

ढलमुक्त कहाँ–कहाँ भयो ?
हालसम्म गोकर्ण–गुह्येश्वरी– तिलगंगा–शंखमूल–मनोहरा दोभानसम्मको नदी क्षेत्रलाई पूरै ढलमुक्त बनाइसकिएको र बाग्मती नदीको उपत्यका क्षेत्रभित्र बाँकी रहेको भाग पूर्णरूपमा ढलमुक्त बनाउन अझै ३ देखि ४ वर्ष समय लाग्ने आँकलन गरिएको छ।

नदीको सहायक खोलाहरु बल्खु खोलामा ढल बिछ्यानका लागि सम्झौता भइसकेको, नख्खु र टुकुचा खोलामा ढल हाल्न अध्ययन भइरहेको समितिले जनायो। बाग्मती नदीलाई मात्रै ढलमुक्त पारेर बाग्मती सफा नहुने हुनाले बाग्मतीसँग जोडिएको सहायक खोलालाई पनि ढलमुक्त पार्न यस्तो गरिएको हो।

धाप क्षेत्र बन्दै
बाग्मतीको मुहान क्षेत्र (धाप) मा सानो (२४ मि. अग्लो, सुख्खायाममा ४० लिटर प्रतिसेकेण्डका दरले बग्ने) र नागमती (शिवपुरी वन्यजन्तु आरक्षण) भित्र ठूलो (९०–१०० मि. अग्लो, ४ सय लिटर प्रतिसेकेण्डको दरले बग्ने) गरी २ वटा ड्यामको परिकल्पना गरिएको छ।

अस्ट्रेलियन कन्सल्टेन्सी एन्टोरा र नेपाली कन्सल्टेन्सी टोटल म्यानेजमेन्ट सर्भिसले सम्भाव्यता अध्ययन सकेर विस्तृत अध्ययन प्रतिवेदनका लागि काम गरिरहेको छ। आगामी असार मसान्तभित्र प्रतिवेदन तयार पारिसक्नेछ। धाप क्षेत्रको सानो ड्याम यही आर्थिक वर्षभित्र सम्पन्न गर्न चिनियाँ कम्पनी लामा, रमण र गोन्जाउ ज्वाइन्ट भेन्चरले ठेक्का पाइसकेका छन्। यसको निर्माणको काम निर्माण पक्षले थालिसकेको समितिले जनाएको छ।

निर्माण हुन लागेका यी ड्याममार्फत् ८ लाख ५० हजार घनमिटर पानी संकलन गरेर सुख्खायाममा ४ सय लिटर प्रतिसेकेण्ड नदीमा छोडिनेछ। ड्याम निर्माणका लागि एसियाली विकास बैंकले करिब ५२ करोड रुपियाँ सहयोग गरेको छ।

नदी किनारमा पार्क
बाग्मती नदीको विभिन्न खण्डमा गरी हालसम्म २१ वटा उद्यान (पार्क) बनाउने कार्य भएको, सोमध्ये ८ वटा पार्कले पार्कको रूप लिँदै गरेको अवस्था छ।

२४ वटा (करिब १ सय १ रोपनी क्षेत्रफल) पार्क बनाउनका लागि सम्झौता भइसकेको छ। ४५ वटा पार्क बनाउन विभिन्न संघ–संस्थाबाट माग भइआएको छ।

परम्परागत शैलीको निकै आकर्षक पार्क निर्माण गर्ने काम कुनै स्थानमा त शुरु पनि भइसकेको छ।

बाग्मती नदीको दुवै किनारामा भौतिक पूर्वाधार निर्माणकार्य गरी बाँकी रहेको क्षेत्रमा हरियाली प्रवद्र्धन गर्ने, वाग्मती नदीको सौन्दर्यता बढाउनुका साथै पानीको शुद्धता र वृद्धिमा समेत सहयोग पुग्ने कार्य गर्न र भू–क्षय नियन्त्रणमा पनि सहयोग पुर्याई वातावरण स्वच्छ गर्न सहयोग पुग्नेछ।

बाग्मती किनारमा बसोबास गर्नेहरु साथै अन्यलाई पनि स्वस्थ्य मनोरञ्जनको स्थल विकास गर्न र स्वास्थ लाभ गर्ने सुन्दर स्थान बनोस् भन्ने उद्देश्यलाई मध्यनजर गरी बाग्मती नदीको दुवै किनारमा खाली भएको क्षेत्रहरुमा विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुलाई स्वतःस्फूर्त उद्यान निर्माण र वृक्षरोपण कार्यमा सहभागी हुन आह्वान गरिएको छ।

११ स्थानमा चेकड्याम बन्दै
पानीको बहाव बढाउन थप सहायता गर्न र पानीलाई छचल्किनका लागि सहयोग पुगोस् भनेर नदीको बीच–बीचमा चेकड्यामको निर्माण गर्न लागिएको छ। अधिकार सम्पन्न बाग्मती एकीकृत विकास समितिअन्तर्गत बाग्मती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजनाले गृहकार्य गररिहेको छ भने प्रस्तावित डिजाइनसमेत बनाइसकेको छ। यसको मुख्य उद्देश्य भनेको मानिसले सजिलैसँग पानी छुन सकून्, नदी थप आकर्षक बनोस्, चेकड्याम बनाएर पानी छचल्किँदा हावासँग ठोक्किएर अक्सिजन कायम होस् भन्ने हो।

सरसफाइ महाअभियान
पूर्वमुख्यसचिव पौडेलको नेतृत्वमा २०७० जेठ ५ गतेदेखि शुरु नदी सरसफाइ महाअभियान शुरु भएको हो। सरकार तथा गैरसरकारी, अभियन्ता, स्वयंसेवक व्यक्ति, नागरिक समाज, स्कुल, कलेज, कूटनीतिक नियोग, सेना, प्रहरीलगायत ७ सयभन्दा बढी संघ–संस्थाहरु यस अभियानमा निरन्तर लागिरहेका छन् भने करिब १० हजार टन फोहोर संकलनसमेत भइसकेको छ।

नदीलाई सफा, स्वच्छ र हराभरा बनाई पहिलाकै अवस्थामा फर्काउने यस अभियानले मुख्य उद्देश्य लिएको छ भने नदीमा थुप्रिएको ठोस फोहोरलाई हटाउने, नदीमा फोहोर फाल्न नदिन चेतनामूलक कार्यक्रम चलाउने, फोहोर फाल्नेलाई समाउने काम गरिरहेको छ। सफाइ अभियान बाग्मती नदीमा मात्रै केन्द्रित नभई हाल आएर यसको सहायक नदी र देशभरका नदीमा सञ्चालित छ।

उपत्यकाभित्र रहेको बाग्मती नदीको २८ किमि खण्डमा २ सय रोपनीभन्दा बढी जग्गा अतिक्रमण भएको अनुमान गरिएको छ। समितिका नापी शाखा प्रमुख केदारप्रसाद देवकाअनुसार तिलगंगादेखि मनोहरा दोभानसम्मको ४ हजार ८ सय मिटर दूरीमा सबैभन्दा बढी अतिक्रमण गरिएको छ।

२०२१ सालको नक्सामा जहाँ बाग्मती बगेको देखिन्छ, अहिले त्यहाँ सुकुम्बासीका घर टहरा, भव्य घर, कलेज र व्यापारिक भवन बनेका छन्। यसले गर्दा बाग्मतीको काममा अवरोध पुगिरहेको छ।२० वर्षसम्म पनि के–कति जमिन क–कसले मिचेका छन् भन्ने विवरण समितिले पत्ता लगाउन सकेको छैन।

२०२१ सालको नापीअनुसारको नदीको बहावलाई आधार मानेर नदीकिनारको बासिन्दाको सहमति र सहकार्यमा पुरानै धारमा बाग्मती बगाउने योजना समितिको छ।

२०२१ सालको नापीअनुसार नदीको बहाव र दायाँ–बायाँ क्षेत्र निर्धारण भइसकेकाले जतिसुकै प्रभाव देखाउन खोजे पनि अतिक्रमणकारीलाई कुनै पनि दिन हटाउन सकिने समितिको धारणा छ। त्यस्तै सर्वोच्च अदालतले बाग्मतीलाई पूर्णरूपमा सफा बनाई वातावरणीय सुधार गर्न अतिक्रमित बस्ती हटाउन सरकारलाई परमादेश दिएको छ।

धार्मिक मान्यता
नदीको किनारबाट सभ्यताको विकास भएको मानिन्छ। मिश्रको सभ्यता नाइल नदी, सिन्धुभाषीको सिन्धुनदीको किनारमा आ–आफ्नो सभ्यता विकास भएको जस्तै नेपालको सभ्यता पनि बाग्मती नदीको किनारबाट भएको मानिन्छ। त्यसैले बाग्मतीसँग मानव सभ्यता पनि जोडिएको छ।
स्वयम्भु पुराणमा बाग्मतीको वर्णन गरिएको छ। बाग्मती नदीको महिमा वराह पुराणमा पनि उल्लेख गरिएको छ। बाग्मती नदीलाई गंगा नदीभन्दा सय गुणा पवित्र मानिन्छ। बाग्मतीलाई महानदीमा गणना गर्ने भएकाले शास्त्रअनुसार महानदीमा वर्षामा नुहाउँदा पनि दोष लाग्दैन।

वर्षामा नदी रजश्वला हुने भएकाले अरू नदीमा नुहाउनुहुँदैन भनेर शास्त्रमा भनिएको छ। त्यस कारण महानदीमा नुहाउन शास्त्रले बन्देज गरेको छैन। यहाँको जल पिउनाले पढ्न आउने, सद्बुद्धि आउने भन्ने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्