लायन्स डिस्ट्रिक्ट ३२५ बी १ को राहत वितरण



 

नेपाल समाचारपत्र
पोखरा
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालले तराई क्षेत्रका बाढी प्रभावितहरूलाई राहत वितरणमा तिब्रता दिएको छ। डिस्ट्रिक्टले बाढी प्रभावित करिब १ हजार परिवारलाई राहत वितरण गरेको डिस्ट्रिक्ट गभर्नर धनराज आचार्यले जानकारी दिए।‘४० लाख रुपियाँँबराबरको जस्तापाता वितरण गरिसकिएको छ,’ उनले भन– ‘जस्ताबाहेक थुप्रै खाद्यान्न र लत्ताकपडा पनि वितरण भएको छ।’

यसैक्रममा बर्दियास्थित गुलरिया नगरपालिकाका २ ठाउँमा ६५ परिवारलाई शनिबार राहत वितरण गरिएको छ। प्रतिपरिवार २ बण्डलका दरले १ सय ३० बण्डल जस्तापाता वितरण गरिएको राहत वितरणमा सहभागी डिस्ट्रिक्टका सिनियर एम्बेसडर अफ गभर्नर मोहनबाबु खड्काले जानकारी दिए। डिस्ट्रिक्ट ३२५ बी २ का डिस्ट्रिक्ट गभर्नर मधुसूदन शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। बी २ सँग सहकार्य गरी राहत वितरण गरिएको जोन चियरपर्सन डोलराज पोखरेलले जानकारी दिए।

यस अगाडि रसुवा, कास्कीको रिवान, धादिङको फिस्लिङ, नवलपरासीको सुस्ता र मध्यविन्दुलगायतका ठाउँका बाढीपीडितलाई जस्तापाता वितरण गरिसकिएको क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले जानकारी दिए। तत्कालका लागि राहत सामग्री धेरैले वितरण गरेकाले पुनस्र्थापनामा सहयोग गर्ने लक्ष्यले जस्तापाता वितरणमा जोड दिइएको ३२५ बी १ नेपालका डिस्ट्रिक्ट गभर्नर आचार्यले बताए। ‘सामाजिक भावनाका साथमा राहत वितरणमा जोड दिएका छौं’, उनले भने– ‘बाढी गएपछि धेरै नेपालीको घरवास गुमेकाले पुनस्र्थापनामा सबैले साथ दिनुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्