अमेरिकामा आतंक



भगवती तिमल्सिना,नर्थक्यारोलिना, अमेरिका ।

केहि दिन देखि अमेरिकाको टेक्सासमा आएको आधि, हुरी र ठूलो समुन्द्री छालका कारण धेरै ठूलो आर्थिक नोकसानी भएको छ। यसका साथै यहाँको शनिवार रातीको भारी बर्षाका कारण हिस्टन, ग्यालवेष्टन लगायतका क्षेत्र पूर्ण रूपमा डुबानमा परेका छन्।

यतिबेला टेक्सासको हिस्टन र ग्यालवेष्टनमा १ हजार भन्दा बढी घरहरूका साथ २५ भन्दा बढी अस्पताल तथा नर्सिङ होमहरू डुबानमा परेका छन्। यहास्थित अमेरिकी रेडक्रस, सरकार लगायतले उद्धारकार्यलाई सकृयताका साथ अघि बढाएका छन्।

तर कतिपय स्थानमा बत्ती जानुका साथै पानीको बहाव अत्यन्तै बढेको र भारी बर्षा भैरहेका कारण उद्धारकार्यमा निकै कठीनाई आईरहेको छ। यतिबेला राज्यले सक्दो शक्ति परिचालन गरेको भए पनि सडक, घर सबै डुबानमा परेको र अन्धकार भएका कारण उद्धार गर्न कठीन भैरहेको जनाइएको छ। आपतकालीन अवस्थामा १५ घण्टाको बीचमा यहाँको सुरक्षा निकायको सम्पर्क नम्बर ९११ मा ६५ हजार मानिसले फोन गरेर सुरक्षाको माग गरिसकेको र बाहिरी भागमा रहेका कम डुबानमा परेका क्षेत्रमा मात्र उद्धारकर्मी पुग्न सकेको अवस्था छ।

यतिबेला उद्धार गर्दै सेल्टरहरू खडा गरि राख्ने कार्यमा राज्यका सम्पूर्ण निकायहरू तदारुकताका साथ लागि परेका छन्। आकासमा हेलिकोप्टरद्धारा अनुगमन गरिरहेको छ भने सडक मार्गमा ठूला ठूला ट्र्कहरू उद्धारका लागि प्रयोग गरिएको छ। सडक र घरवरीपरि पार्किडङमा रहेका गाडिहरू पुरै डुबेको अवस्था छ।

अमेरिकामा बुढाबुढीहरू काम गर्न नसक्ने अवस्थामा नर्सिंङहोममा बस्दै आउने भएकाले यतिबेला हिस्टन क्षेत्रमा नर्सिङ होमहरूमा बस्दै आएका जेष्ठ नागरिकहरू नर्सिङहोम डुबानमा परेपछि निकै संकटमा परेका छन्। यतिबेला आँधी आएको र भारी बर्षा भएको क्षेत्रमा बत्ती, पानी, खाद्यान र बासको अभाव बढ्दै गएको छ।

हिस्टन एरियाका अस्पताल नर्सिङहोम, लगायतका स्वास्थ्य संस्थाहरू डुबानमा परेपछि यहाँ निकै हाहाकार मच्चिएको छ। नजिकैका शहरमा रहेका अस्पतालहरू यतिबेला बिरामीले खचाखच भरिदै गरेको र उद्धारपछि बिरामी राख्ने स्थान नभएको बुझिएको छ। यतिमात्र नभई डुबान क्षेत्रमा को कतिको ज्यान गयो र फेला परेकालाई पनि सुरक्षित तरिकाले शव घरमा पुर्याउन कठीनाई भइरहेकाले आकस्मिक कक्षमानै राख्नुपर्ने अवस्था रहेको उद्धारमा खटिएका रेडक्रसकर्मीहरूले सरकारलाई जानकारी गराएको बुिझएको छ।

यतिबेला डुबानमा परेको क्षेत्रमा राती आधी, बर्षादसँग बाढी आउन सक्ने मौसमविद्धहरूले औल्याईरहेका छन्। यो अवस्था अझै कतिदिन रहने हो र यहाँका जनतालाई कसरी खाद्यान्न, औषधि उपचार लगायतको व्यवस्था मिलाउने भन्ने बिषयमा राज्यपक्षमात्र नभै आम जनता त्रसीत भएको देखिन्छ। अब डुबानमा परेका क्षेत्रका बासिन्दालाई सुरक्षित अवतरण गराउनु ठूलो चुनौति त छँदैछ थप खानका लागि खाद्यान्न ल्याउने समेत बाटो बन्द भैसकेको अवस्थामा यो साता सप्लाई गर्न सक्ने अवस्था नभएको समेत बुझिएको छ।

टेक्सास प्रान्तमा नेपाली अधिक मात्रामा बसोबास गर्दै आएका छन्। यतिबेला आँकलन गर्दा ६० हजार भन्दा बढी नेपाली यो प्रान्तमा बस्दै आएको अनुमान टेक्सासमा बसोबास गर्दै आएका नेपालीको छ। २४ सैं घण्टा मेसिन जसरी चल्ने यहाँका जनता त्रासदीको अवस्थामा गुज्रीरहेका छन्। सन् २००८ मा पनि हिस्टन, ग्यालवेष्टन लगायतका क्षेत्रमा डुबानमा परेको थियो।
यतिबेला रेडक्रसले २१ वटा सेल्टर खोल्दै गरेको र ४१ वटा पहिला नै खुलीसकेको जनाएको छ। साथै चर्च, स्कूल लगायत खुल्ला ठाउँहरूमा पनि उद्धार गरेर जनताको सुरक्षा गर्ने र खानेपानी, आइस र खाद्यान्नको लागि विशेष प्राथमिकतामा राखेर सप्लाई गर्न समेत सप्लायर्सहरूलाई टेक्सास प्रान्त सरकारले आग्रह गरिसकेकोछ।

यतिबेला विजुलीको चिन्ता भन्दा पनि जो जहाँ छन उनीहरूको सकुसल उद्धारका लागि सबै जना जुट्नमा पहिलो प्राथमिकता दिने सरकारले उद्घोष गरेको छ। डुबानमा कतिको ज्यान गयो या कति क्षति भयो भन्ने कुराको लेखाजोखा अहिले सम्म भैनसकेको र सम्बन्धीत व्यक्तिहरूको स्वीकृति लिएर मात्र सार्वजनिक गरिने सुरक्षा निकायले जनाएको छ।

अफ्रिकाबाट अगष्ट १७ मा शुरु भएको सामान्य अवस्थाको पानी र हुरी पहिला भएको थिएन। २३ अगष्टबाट आँधी आउन थालेपछि समुद्रमा ठूलो छाल आएको थियो। यतिबेला पानीको बहाव ४ फिट भन्दा माथी सम्म रहेको र कतिपय होचो स्थानमा रहेका घरहरू एक तल्ला सम्म डुबानमा परेकाले उद्धारमा निकै कठीन भएको छ। साथै कसैलाई घरको छाना निकालेर त कसैलाई मुनीबाट निकालिएको छ। घरभित्र पुरै पानी पसेर कतिबेला घर भासिने हो यकीन हुन सकेको छैन।

विशेष गरि अमेरिकाका घरहरूको भित्रीभाग काठै काठको हुने हुनाले डुबानमा परेपछि काठ गलेर भासिने सम्भावना उच्च रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्