उपमेयरका १०० दिन



सरस्वती खडका उपप्रमुख, कीर्तिपुर नगरपालिकाका

कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खडकाले कार्यभार सम्हालेको १ सय दिन पुगेको छ। के गर्नु भयो त उहाँले १ सय दिनमा ? प्रस्तुत छ, नेपाल समाचारपत्रका कीर्तिपुर संवाददाता
प्रेमकृष्ण श्रेष्ठसँग उहाँले गर्नुभएको कुराकानीका मुख्य अंशहरू ः

सरस्वती खडका
उपप्रमुख, कीर्तिपुर नगरपालिकाका

१ सय दिनमा उपमेयरको हिसाबले के के गर्नुभयो ?

जेठ ८ गते सपथ तथा पदबहाली पश्चात यस नगरपालिकामा सर्वसाधारणको दैनिक सेवालाई चुस्त बनाउन हामीले तत्कालै हेल्प डेक्स संचालन गर्यौं। यस न.पा.मा नेवार जातीको बाहुल्यता भएकोले नेपाली र नेपाल भाषालाई कामकाजको भाषा बनायौँ।

कर्मचारीको कार्य क्षमताका आधारमा जिम्मेवारी दिनका लागि त्यस सम्वन्धी अध्ययन गर्न १५ दिनको समयमा मेरो संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरि सम्पूर्ण कर्मचारीहरूको क्षमता, दक्षता र कार्य सम्पादनको अध्ययन गरि प्रतिवेदन पेश गरेको केही दिनमा नै कर्मचारीलाई जिम्मेवारी बाँडफाँड
गरी सेवालाई चुस्त बनाउन पाइला अगाडि बढायौं।

१५ वर्ष सम्म स्थानीय निकायमा जन प्रतिनिधि नभएको अवस्थामा हामी निर्वाचित भएर गइसकेपछि जनताका गुनासा धेरै आएका थिए। विशेषगरि अंशवण्डा, पारिवारिक सम्वन्ध आदीमा। यस कुरालाई मध्यनजर गरि सर्वसाधारणको समस्यालाई समाधान गर्न तत्कालै मेरो संयोजकत्वमा नै तीन सदस्यीय न्यायीक समिति गठन गरी त्यस सम्वन्धी कार्यलाई अगाडि बढाउन प्रत्येक हप्तामा दुई पटक समिति बस्ने गरी विभिन्न समस्याको छलफल गरी न्याय दिने कार्य पनि गर्दै आएको अवगत गराउँछु।

साथ साथै कीर्तिपुर नगर ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक रूपमा धनी रहेको तथा त्यसलाई संरक्षण गर्न विभिन्न कार्यक्रम गरि सर्वसाधारणलाई सचेतना जगाउने कार्य गरियो। खास गरी कीर्तिपुर प्राकृतिक रूपमा पनि मनमोहक क्षेत्र रहेकाले ती क्षेत्रलाई संरक्षण गर्न सचेतना कार्यक्रम गर्नुका साथै वृक्षारोपण कार्यक्रम पनि गरियो।

विशेष गरि त्यस्ता प्राकृतिक श्रोत, पानीको मुहान तथा जंगल संरक्षण गर्नका लागि यस नगरपालिकामा रहेका सम्पूर्ण सामूदायिक वन उपभोक्ता समुहसँग छलफल गरी आवश्यक सहयोग गर्ने गरी कार्य अगाडी बढाउने काम गरेको छु।

प्रत्येक वडामा जनप्रतिनिधि निर्वाचित भइसकेको अवस्थामा निर्वाचित अध्यक्ष तथा सदस्यहरू वडा कार्यालयमा बसी सेवाग्राहीहरूलाई सेवा दिन कतिको सहज कार्यालय भवन छ भनी निरीक्षण गर्ने कार्य पनि गरियो। साथै सहज नभएको कार्यालयका लागि सहज कार्यालय बनाउनका लागि पनि मेरो तर्फबाट काम अगाडि बढाएको कुरा राख्न चाहन्छु।

कीर्तिपुरमा रहेका खासीबजारको ऐतिहासिक तीन पोखरीमध्ये एकलाई वर्षोदेखि डम्पिङ साईट गर्दै गरेकोमा हामीले पुनः पोखरीको स्वरूपमा नै ल्याएका छौ साथै अन्य दुई पोखरीलाई पनि मनमोहक बनाइ कीर्तिपुरको रिङरोडलाई प्राकृतिकरूपमा शोभनीय बनाएका छौँ।

न्यायिक समितिमा यसपालि महिलाको बाहुल्यता छ, यसले महिला हिंसाको रोकथाममा कस्तो भूमिका निर्वाह गर्छ र आएका मुद्दा र चुनौतीलाई कसरी समाधान गर्नु भयो ?

यस कीर्तिपुर नगरपालिकामा हामी जनप्रतिनिधिहरू निर्वाचित भइसके पछि र मैले नगरपालिकामा पदबहाली गरेको केहि दिनमा नै हाम्रो नगरपालिकामा हिंसा रोकथाम तथा सेवाग्राहीहरूको विभिन्न समस्या समाधान गर्न तत्कालै संविधानअनुसार नगरपालिकाको उप प्रमुखको संयोजकमा तीन सदस्य रहने गरी न्यायिक समिति गठन गरियो। यस समितिमा महिलाको बाहुल्यता रहेकाले महिला सम्बन्धी हुने विभिन्न समस्याहरू नगरपालिकाका महिलाले सहज किसिमले आफ्नो समस्या भन्ने वातावरण रहयो।

महिला हिंसा धेरै किसिमका हुन्छन् ती मध्ये विशेष गरी घरायसी हिंसा हुने तथ्याङ्क यस नगरपालिका रहेको छ। तर पनि त्यस्ता खालका हिंसाहरू सामाजिक मान, मर्यादा र प्रतिष्ठाका कारणले बाहिर खुलेर हिंसा विरुद्ध महिलाहरू अगाडी बढ्न नसकेको अवस्था छ।

यस्ता हिंसालाई रोकथाम गर्न विशेष गरी महिलाहरूलाई हिंसा विरुद्ध अभिमुखीकरण तालिम दिने , जनचेतना फैलाउने र शिक्षामार्फत नागरिकलाई ंिहसाविरुद्ध सचेत बनाउने जस्ता कार्यक्रमहरू नियमित रूपमा संचालन गरी हिंसा न्यूनीकरण गर्ने जस्ता भूमिका नगरपालिकाबाट गर्न सकिनेछ।

विशेष गरी सविधानतः न्यायिक समितिमा देवानी मुद्दाको विषयमा मात्र अधिकार रहेको र फौजदारी मुद्दा सम्वन्धी यस समितिमार्फत गर्ने अधिकार नरहेको तथा अहिलेसम्म पनि यस क्षेत्रभित्र जति पनि मुद्दा आएका छन्, लगभग ९० प्रतिशत भन्दा बढी मुद्दालाई आपसी सम्झौताबाटै टुङयाएका छौँ।

तपाईको भावी योजना के के छन् ?

कीर्तिपुर ऐतिहासिक, साँस्कृतिक, धार्मिक र प्राकृतिक धरोहरको केन्द्र रहेकोले यसलाई पर्यटकीय नगरीको रूपमा स्थापना गर्नु नै हाम्रो भावी योजना हो। यसका लागि हामीले विकास निर्माणका कार्यहरू जस्तै सडक विस्तार, मठ मन्दिरहरूलाई पुरातात्विक शैलीमा निर्माण तथा कीर्तिपुरमा भएका सम्पदाहरूको संरक्षण गर्दैछौँ। यसका लागि हामीले हाम्रो यस वर्षको आर्थिक बजेटमा समेत रकम छुट्याएका छौं। कीर्तिपुरलाई स्वस्थ, सफा र हराभरा राख्ने हाम्रो लक्ष्य छ।

यसका लागि प्रत्येक वडामा सार्वजनिक शौचालयहरू स्थापना गर्ने, वन संरक्षणका लागि परेका छ वटा सामुदायिक वन उपभोक्ता समूहलाई अगाडि बढाउनेछौं। कीर्तिपुरको प्राङणमा त्रिभुवन विश्वविद्यालय रहेको हुनाले कीर्तिपुरलाई ‘शैक्षिक हव’ को रूपमा परिचित गराउने हाम्रो ठूलो उद्देश्य छ। साथै, स्वास्थ तथा फोहोरमैलालाई प्राथमिकतामा राखि यसको उचित व्यवस्थापन गर्ने, खानेपानीको समस्याको समाधान गर्ने, बालमैत्री कीर्तिपुर नगरपालिका बनाउन पहल गर्ने आदि हाम्रा भावी योजनाहरू हुन।

आफू न्यायिक समितिको संयोजक भएको हुनाले महिला हिंसाको अन्त्य गर्ने र कुनै पनि नगरबासीलाई अन्यायमा नपार्ने उद्देश्य छ। कीर्तिपुर बासीलाई सचेत नागरिक बनाउनका लागि स्वास्थ्य र फोहोरमैला सम्वन्धी अभिमुखीकरण कार्यक्रम गराउने छौं र कृषकहरूलाई पनि बैज्ञानिक कृषि प्रणाली अपनाउन प्रोत्साहित गर्नेछौं।

हाम्रो भावी योजना भनौं या लक्ष्य भनेको कीर्तिपुरलाई एक सफा, सुुन्दर र व्यवस्थित नगरको रूपमा विकास गर्नु हो जसले गर्दा कीर्तिपुर एक पर्यटकलाई आकर्षित गन्तव्यको रूपमा रहनेछ। यसले सम्पूर्ण कीर्तिपुर नगरपालिका र नगरबासीहरूको आर्थिकस्तर बृद्धिमा ठूलो भूमिका खेल्दछ अनि मात्र ‘हाम्रो कीर्तिपुर, संमृद्ध कीर्तिपुर’ को नारा सार्थक हुनेछ।

कीर्तिपुरमा बालमैत्री स्थानीय शासन कायम गर्नका लागि तपाईले कसरी भूमिका खेल्नु हुन्छ ?

हामी सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी, सामाजिक परिचालिकाहरूले अभिमुखिकरण तालिममा सहभागी भइसकेको र बालमैत्री कीर्तिपुर बनाउनका लागि चाहिने सूचकहरू पालन गर्न सबैलाई प्रोत्साहन गर्नेछौँ। बाल क्लव, बाल उद्यानहरूको व्यवस्था गरी बाल मैत्री वातावरण बनाउने छौं। बालबालिकाहरूको हक—हितका लागि उनीहरूको अधिकारको पूर्ण रूपमा संरक्षण गर्नेछौं।

सेवाग्राहीको गुनासा निकै सुनिने नगरपालिकाको स्थानीय प्रशासनलाई सेवाग्राहीहरू लाभान्वित हुने किसिमले कसरी प्रशासनीक भूमिका खेल्दै हुनुहुन्छ ?

म संयोजक भएको पाँच जनाको सामान्य प्रशासन समितिको गठन गरिएको छ। सेवाग्राहीहरूको गुनासाको उचित सुनुवाइका लागि हामीले हेल्प डेक्सको व्यवस्था गरेको छौं। सेवाग्राहीहरूलाई छिटो र छरितो सेवा दिनका लागि बिद्युतीय शासन प्रणाली अपनाउँदै आएका छौँ। कीर्तिपुर नगरपालिकाको आफ्नै वेवसाइटबाट पनि सेवाग्राहीहरूले आवश्यक जानकारी पाउन सकेका छन्। नक्सा फाँटमा कुनै गल्ती नहोस् र छिटो छरितो होस् भनेर इविपिएस प्रणाणीको प्रयोग गरिएको छ। कर्मचारीहरूलाई पनि समयमा आउनका लागि निर्देशित गरिएको छ।

अन्त्यमा केही भन्नु छ तपाईलाई विजयी गराउनु भएका जनताको नाममा ?

सर्वप्रथम मलाई विजयी बनाउनुभएकोमा सम्पूर्ण कीर्तिपुरवासीलाई धन्यवाद दिन चाहन्छु। मेरो हरेक पाइलामा यहाँहरूकै आशा र आस्था जोडिएको छ। अव भोलिबाट नै मेरो कार्यसम्पादनको पहिलो अध्यायलाई केलाउँदै गल्ती भए सच्याउने र राम्रो काम गरेको भए त्यसमा अझ सौन्दर्य थप्ने प्रयासमा लाग्नेछु। सुन्दर र समुन्नत कीर्तिपुर बनाउने अभियान पथमा हामी अग्रसर छौँ।

 

 

प्रतिक्रिया दिनुहोस्