कुनै पनि नागरिकले असुरक्षित महशुस गर्नु पदैनःमन्त्री श्रेष्ठ



नेपाल समाचारपत्र, रामेछाप ।
गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले हरेक नागरिकहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले कुनै पनि नागरिकले असुरक्षित भएको महशुस गर्न नपर्ने बताएका हुन् ।
गृहराज्य मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला राामेछापमा आएका उनले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई निर्देशन दिदै जनतालाई केन्द्रमा राखेर सेवा सुविधा प्रवाह गर्न निर्देशन दिए ।

‘म देशकै गृहराज्य मन्त्री हुँ । शान्ति सुरक्षाको प्रत्याभूति रामेछापमा भएन भने अन्यत्र हुन सक्दैन’, उनले भने,‘हरेक नागरिकहरुले शान्ति सुरक्षाको अनुभूति गराउन सरकार प्रतिबद्ध छ ।’
आफूलाई सांसददेखि गृहराज्य मन्त्री बनाउन रामेछापवासीको ठूलो भूमिका रहेको स्मरण गर्दै उनले रामेछापवासीको वलिदानी र पसिनाको कारण आफू मन्त्री बन्न सफल भएको बताए । उनले भने,‘म जहाँ जन्मिए जहाँ हुर्किए यो भूमिको विकास गर्ने मन बचन र कर्मबाट काम गर्छु ।’

सबै क्षेत्रको सहयोग र समन्वय भए मात्र लक्ष्य प्राप्त गर्न सहज हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले कानुनी जलिटलता फुकाउनको लागि सरकार तयार रहेको बताए ।
‘विपद व्यवस्थापन ऐन बनाउन सहमतिको लागि कानुन मन्त्रालय पठाइएको छ, अध्यायगमन विभागकमा रहेका समस्या समाधान गर्न पनि ऐनकै खाँचो छ’, उनले भने,‘शान्ति सुरक्षा कायम गर्न संरचनागत रुपमा रहेका जटिलाहरु समाधान गर्न सरकार गम्भीर रुपमा लागेको छ ।’
मन्त्री आउने जाने क्रम चलिरहन्छ, स्थायी शक्ति भनेको कर्मचारीहरु नै हुन, नीतिगत रुपमा व्यवस्था गर्न सक्यौ भने मूलुक सञ्चालन गर्न सहज हुन्छ, उनले भने । नेपालमा भित्रिने सबै पर्यटक मात्र नहुने बताउदै उनले आतङककारी गतिविधिमा संलग्न र हत्या हिंसाको गतिविधिमा संलग्न पनि पस्न सक्ने भएकाले सर्तक हुनुपर्नेमा जोड दिए ।

रामेछाप जिल्ला ऐतिहासिक भूमि रहेकाले रामेछापमा आउने कर्मचारीहरु पनि भाग्मानी रहेको बताउदै गृहराज्य मन्त्री श्रेष्ठले आफू सहकार्य गरेर काम गर्ने पक्षमा रहेको बताए । ‘समस्या छन भने म आफ्नो ठाउँबाट गांठो फुकाउन तयार छु,संवाद र सहकार्य हुनुपर्छ’, उनले भने,‘गृहमन्त्रालय र राष्ट्रसेवक कर्मचारीहरु एउटै परिवार हौ ।’ उनले आगामी तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्