यस्तो छ कक्षा १० का विद्यार्थीले बनाएको पानी र हावाबाट चल्ने रकेट



नेपाल समाचारपत्र, काठमाडौं । कक्षा १० मा अध्ययनरत विद्यार्थीले पानी र हावाको मिश्रणको चापबाट चल्ने रकेट तयार पारेका छन । कान्तिभैरव मावि, थली डाँछीमा भएको कार्यशालामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले बनाएका १ सय ४० वाटर रकेट प्रक्षेपण गरिएको हो । मनकामना माविकी कक्षा १० मा अध्ययनरत सुकृति अधिकारीले पानी र हावाको मिश्रणको चापबाट चल्ने रकेट उडाएर शिक्षक र विद्यार्थीलाई अचम्म पारीन ।

काठमाडौं पूर्वी क्षेत्रीय विज्ञान शिक्षक समाजको संयोजकत्वमा ‘पानी रकेट बनाउने बृहत विज्ञान प्रयोगात्मक कार्यशाला’ आयोजना गरिएको हो । कार्यशालामा विद्यार्थीलाई पानी र हावाको मिश्रणको चापबाट चल्ने रकेट बनाउन सिकाइएको थियो ।

भदौ १० गते गोदावरीमा हुन लागेको राष्ट्रिय वाटर रकेट प्रतियोगितालाई लक्षित गरी कार्यशाला आयोजना गरिएको हो । नेपाल विज्ञान क्रियाकलाप तथा अनुसन्धान केन्द्रको आयोजना तथा विज्ञान शिक्षक समाज नेपालको संयोजकत्वमा प्रतियोगिता हुन लागेको छ ।

उक्त प्रतियोगितामा मुलुकभरका करिब सय विद्यालयको सहभागितामा बताइएको छ । प्रतियोगिताबाट छनोट हुने ६ विद्यार्थी आउँदो नोभेम्बरमा भारतको बेङ्लोरमा हुने विश्व वाटर रकेट प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्