घर बगैँचा ब्यवस्थापन गर्दै गाउँका किसान



सन्तोष अधिकारी, गोरखा । जिल्लाका विभिन्न साविकका गाविसहरुका किसानहरु घर बगैँचा ब्यवस्थापनमा जुटेका छन् ।
गोरखा खाद्य सुरक्षा तथा जिविकोपार्जन सुधार कार्यक्रम अन्तरगत किसानहरु घर बगैँचा सुधारमा लागेका हुन् ।

साविकको हर्मि, छोप्राक, खोप्लाङ्ग, गाँखु, मुच्चोक र बारपाक गाविसका बिपन्न घरहरु पहिचान गरी नौसय घरधुरीलाई घर बगैँचा ब्यवस्थित गर्ने तालीम दिए पछि किसानहरु बगैँचा ब्यवस्थापनमा लागेका हुन् ।

‘हामीलाई केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्रले आफ्नो भएको सानो घर बगैँचाबाट पनि कसरी आयआर्जन गर्न सकिन्छ भनेर तालीम दियो’ मुच्चोकका किसान भद्रप्रसाद देवकोटाले भने ‘तालीम पछि हामीलाई घरबगैचा ब्यवस्थापनको लागि सामाग्री तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । हामीले पनि विभिन्न आयमुलक काम गर्न थालेका छौँ ।

कसैले फलफूल, कसैले तरकारी खेती गर्न थालेका छौँ । हामीले थोरै बारीमा पनि धेरै उब्जनी र आम्दानी लिने सिक्दै छौँ ।’ केयर नेपाल र श्री स्वाँरा सघन गाउँ बिकासकेन्द्र, गोरखा वाट ताइवान आईसिडिएफको सहयोगमा सञ्चालित गोरखा खाद्यसुरक्षा तथा जिविकोपार्जन सुधार कार्यक्रम गोरखाका साविकका छ गाविसमा भएको हो ।

परिवारको पोषण सुरक्षामा सहयोग र दैनिक घर खर्च चलाउने ब्यवस्था मिलाउन सिमान्तकृत ,महिला र किसोरीहरुमा लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको स्वाँरा सघन गाउँ बिकासकेन्द्रका परियोजना संयोजक असल कट्टेलले जानकारी दिए ।

घरवगैंचा कार्यक्रममा तरकारीका अतिरिक्त मौसम सुहाउदो कृषकहरुको मागमा फलफुलमन विउविजनहरु समेत संस्थाले सहयोग गरेको छ । आँप, लिची, मेवा, अम्वा, अनार, कागती, सुन्तला, अंगुर तथा उन्नत जातका घाँसका विउ, नीम, अदुवा आदिका विउ र विरुवा कृषकहरुलाई सहयोग गरिएका कट्टेलले जानकारी दिए ।

विउविजन पाउने किसानहरुले तरकारी लगायतका फलफूलहरु उब्जनी गर्न नै थालि सकेको किसान देवकोटाले जानकारी दिए । उनका अनुसार सागसब्जीहरु किनेर खानेहरुले अहिले किन्न नपर्ने अबस्था सिर्जना गरिसकेको र केहिले ब्यवसायिक रुपमै खेती गर्न थालि सकेका छन् ।

अहिले किसानहरुले गरेको कामलाई निरन्तरता दिए र अझ ब्यवसायिक हुँदै गए उनीहरुको जिविकोपार्जनमा ठुलो सहयोग पुग्ने केएर नेपालका खाद्यसुरक्षा तथा जिविकोपार्जन बिशेषज्ञ कृष्ण प्रसाद पाण्डेले बताए ।

त्यस्तै खाध्य सुरक्षा तथा जीवीकोपार्जन अन्तर्गत जिल्लाको साविकका ११ वटा गाविसहरुमा साना सिंचाई कुलो निर्माण तथा मर्मत, अर्ध व्यवशायिक कृषि उत्पादन, गैह्र कृषि व्यवशाय, क्षमता विकास, कृषि समुह तथा सहकारी व्यवस्थापन, वजार व्यवस्थापनका लागी समन्वय गर्ने गरेको स्वाँरा सघन गाउँविकास केन्द्रका द्रोर्ण तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्