गोरखा साक्षर जिल्ला घोषणा



सन्तोष अधिकारी, गोरखा । गोरखालाई औपचारिक रुपमा साक्षर जिल्ला घोषणा गरिएको छ ।

शुक्रबार सदरमुकाममा आयोजित कार्यक्रममा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले गोरखा जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । १५ देखि ६० वर्ष उमेर समुहका महिला तथा पुरुषहरु ९७.२ प्रतिशतसाक्षर भएको भन्दै साक्षर जिल्ला घोषणा गरेका हुन् । जिल्लामा अब चार हजार ७९ जना मात्रै निरक्षर रहेको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले जानकारी दिए ।

‘१५ देखि ६० वर्ष उमेर समुहको साक्षरता दर ९५ प्रतिशत भन्दा बढी भएपछि उत्त क्षेत्रलाई साक्षर क्षेत्र घोषणा गर्न मिल्ने नेपाल सरकारको निती अनुसार गोरखालाई घोषणा गरेका हौँ’ सुबेदीले भने ‘शैक्षिक स्रोत तथा विकास केन्द्र नेपाल सँगको सहकार्यमा जिल्ला शिक्षा कार्यालयको नेतृत्वमा २७ वटा सामुदायिक अध्ययन सिकाई केन्द्र मार्फत हामी यतिको संख्याका गोरखालीलाई साक्षर बनाउन सफल भएका हौँ ।’ मन्त्री श्रेष्ठले आज नै जिल्ला शिक्षा परिसर भित्र निर्माण गरिएको साक्षरता स्तम्भ समेत अनावरण गरेका छन् ।

सोही कार्यक्रमको अबसरमा जिल्ला शिक्षा अधिकारी सुबेदीले मन्त्री श्रेष्ठलाई २०५ वटा विद्यालयको भूकम्प पछिको पुननिर्माण सम्पन्न भएको, ४४ वटा निर्माणाधिन, ४६ वटा विद्यालय बनाउन स्रोत सुनिश्चित भएको र १४९ वटा विद्यालय निर्माण गर्न स्रोत नै नभएको जानकारी गराए । मन्त्री श्रेष्ठले विद्यालयको पुननिर्माणका लागि सरकारले पुननिर्माण प्राधिकरण मार्फत स्रोतको जोहो गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्