श्रीमतीको हत्याको आरोपमा श्रीमान र सासु पक्राउ



भद्रपुर(ने.स) । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा शुक्रबार श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान र सासुलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पाँचथर घर भई हाल सुरुङ्गामा डेरा गरेर बस्ने वर्ष २० वर्षीया शर्मिला माझीको आफ्नै श्रीमान करिब २० वर्षीय सविन माझी र सासु करिब ४० वर्षीया सारदा माझीले हत्या गरेर घरछेउकै बकाइनोको रुखमा झुण्डाएको आरोप लगाइएको छ ।

बिहान ५ बजे स्थानीयले बकाइनोको रुखमा सलको पासो बनाएर शर्मिला झुण्डाएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शरिरभरी रगत र घाउ देखिएकोले उनको हत्या गरी झुण्डाएको भन्दै स्थानीयले श्रीमान र सासुलाई कुटपिट गर्न खोजेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको हो । तर घटनाबारे पोष्टमटम रिर्पोट हेरेर अनुसन्धान गरेपछि मात्र थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

करिव दुई वर्ष पहिलेमात्रै विवाह बन्धनमा बाधिएका यी जोडीमा बिहेदेखि नै खटपट रहेको आफन्तहरु नै बताउँछन । सासु सारदाले भने आफुले बेलुकी बढी मदिरा पिएर सुतेकाले केही थाहा नभएको बताइन । उनी मानसिक रुपमासमेत रोगी रहेको जनाएको छ । सासु, छोरा र बुहारी एउटै कोठामा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्