भारतद्वारा माल्दिभ्सविरुद्ध गोलवर्षा



 

नेपाल समाचारपत्र
काठमाडौं
भारतीय खेलाडी रविबहादुर राणाले जारी साफ यु १५ च्याम्पियनसिपमा छिटो ह्याट्रिक गरेका छन्।

शनिबार एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले माल्दिभ्सलाई ९–० गोलअन्तरले हराउँदा रविले ह्याट्रिक गरेका हुन्। उनले २१औं मिनेटमा गोल गरेका थिए। दोस्रो गोल २६औं मिनेटमा विपक्षीको खराब डिफेन्सको फाइदा उठाउँदै उनले गोल थपे। त्यस्तै ४८औं मिनेटमा अर्को गोल गरेर उनले ह्याट्रिक पुरा गरेका थिए। यो प्रतियोगितामा दोस्रो ह्याट्रिक थियो।

भारतको एकपक्षीय जितमा मोइराङथेम थोइबा सिंहले ४१औं मिनेटमा गोल गरेका थिए। त्यस्तै रिकी जोन शाबोङ, विक्रम प्रताप सिंह र लालरोइमाले क्रमशः ५७औं, ७१औं र ८०औं मिनेटमा गोल गरेका थिए। दुई गोल आत्मघातीबाट भएको थियो। माल्दिभ्सका डिफेन्डर मोहमद फैहान इमरानले २२औं र ८७औं मिनेटमा आत्मघाती गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्