नेप्से घटेने क्रम जारी, साताभर ३ अर्बभन्दा बढीको कारोबार



 

काठमाडौं, (नेस)
समग्रमा यस साता शेयर बजारले सकारात्मक गति लिन सकेन। शुरूदेखि नै लगातार गिरावट आएको नेप्से बुधबार केही सुधार हुन खोजे पनि त्यसले निरन्तरता पाउन सकेन।

नेपाल स्टक एक्सचेन्जमा यस साता जम्मा १७८ कम्पनीको २७ हजार ४६६ कारोबारबाट ३ अर्ब ५ करोड ६७ लाख ६२ हजार रुपियाँ बराबरको ८४ लाख ४६ हजार ४ सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन्। कारोबार रकमका आधारमा अघिल्लो साताको भन्दा १९ दशमलव ९५ प्रतिशत कम हो।
यस साता होटल र व्यापार बाहेक सबै समूहका सूचक ओरालो लागेका थिए। जसमध्ये सबैभन्दा बढी उत्पादन समूह १४० अंकले घटेको छ। त्यस्तै १४ करोड ४८ लाख ६० हजार रुपियाँको कारोबार भई कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ।

त्यस्तै कारोबार भएको शेयर संख्या (१४ लाख ९२ हजार कित्ता) को आधारमा नबिल व्यालेन्स फन्ड १ अग्रस्थानमा रहेन पुग्यो। १४७७ पटक कारोबार हुँदै कारोबार संख्याका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्हे। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन। यस साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २ दशमलव २५ अंकले घटेर ३४२ दशमलव ३४ अंकमा झरेको छ।

त्यस्तै यस साता पाँच कम्पनीको साधारण, हकप्रद र बोनस शेयर सूचीकृत भएका छन्। फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त विकास बैंक र सानिमा बैंकको हकप्रद, सेती फाइनान्सको बोनस सेयर तथा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

 

प्रतिक्रिया दिनुहोस्