म्यानचेस्टर युनाइटेडको अर्को सानदार जित



 

लन्डन, (एजेन्सी)
चार मिनेटमा तीन गोल गरेपछि म्यानचेस्टर युनाइटेडले यस सिजनको इंग्लिस प्रिमियर लिगमा दोस्रो सानदार जित हात पारेको छ।

लिगको पहिलो खेलमा वेस्टह्यामलाई ४–० ले हराएर राम्रो शुरुआत लिएको म्यानचेस्टर युनाइटेडले शनिबार पनि सोही नतिजा दोहोर्यो। जोजे माउरिन्होको टोलीले स्वानसी सीटीलाई ४–० गोल अन्तरले हराएको हो। इरिक बाइलीले गोलको शुरुआत गरेको टोलीका लागि रोमेलु लुकाकु, पउल पोग्बा र एन्थोनी मार्सिएलले गोल थपेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुन गइरहेको अवस्थामा इन्जुरी समयमा बाइलीले गोल गरेका थिए। उनले क्रसबारमा ठोकिएको बललाई ट्याप गरेर जाली चुमाएका थिए। यो उनको करिअरको पहिलो लिग गोल पनि थियो। दोस्रो हाफमा पनि दुबै टोली गोलको खोजीमा रहेका थिए। तर गोल अन्तिम १० मिनेटमा भएका थिए।

८१औं मिनेटमा हेनरिक मिखीटार्यानले अनमार्कमा रहेको लुकाकुलाई बल क्रस गरेपछि बेल्जियन खेलाडीले सहजै गोल गरेका थिए। म्यानचेस्टरलाई २–० को अग्रतामा राखेका लुकाकुको यो लगातार दुई खेलमा तेस्रो गोल थियो। यसअघि वेस्टह्यामविरुद्ध उनले दुई गोलको योगदान दिएका थिए। यसको दुई मिनेटपछि नै पोग्बाले विपक्षी गोलकिपर फाबियानस्कीको माथिबाट बल क्लिप गर्दै गोल गरेका थिए। यस्तै ८४औं मिनेटमा मार्सिएलले काउन्टर एट्याकमा गोल गरेर म्यानचेस्टरलाई फराकिलो जितको हकदार बनाए। स्वानसीको यो पहिलो पराजय थियो। दुई खेलमा स्वानसीको एक अंक बनेको छ भने म्यानचेस्टरको दुई खेलबाट ६ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्