सहकारी पोष्टमा दुवालको ‘भूगोलका पाइलाहरु’



राजेन्द्र श्रेष्ठ
सहकारी पोष्ट राष्ट्रिय त्रैमासिक पत्रिकाको पाँचौ वार्षिकोत्सवमा वरिष्ठ साहित्यकार एवं जनमत प्रकाशनका प्रधान सम्पादक मोहन दुवालको ‘भूगोलमा पाइलाहरु’ (नियात्रा सङ्ग्रह) पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गत शनिबार सार्वजनिकीकरण गर्नुभएको छ। सहकारी पोष्टका प्रकाशक एवं प्रधान सम्पादक विद्यान जोशीको सभापतित्वमा प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि कुलपति उप्रेतीले नेपालजस्तो भौगोलिक बनावट र विशिष्ट सामाजिक रहनसहन भएको मुलुकको आर्थिक विकासमा सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै अहिले नेपालमा सहकारीको संख्या धेरै भएकोले गुणात्मकतामा जोड दिनुपर्ने कुरा औल्याउनुभएको थियो।

विमोचित कृतिका बारेमा चर्चा गर्दै उपकुलपति उप्रेतीले मोहन दुवाल साहित्यिक अभियानका एक सशक्त अभियन्ता भएको र जनमतमार्फत उहाँले नेपाली साहित्यिक क्षेत्रमा थोरै जनाले मात्र गर्न सक्ने विशिष्ट योगदान गर्नुभएको बताउनुभएको थियो।
कार्यक्रममा सहकारी विज्ञ एवं पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले सहकारी र साहित्यलाई सहकारी पोष्टले जोड्ने कार्य गरेको बताउनुहुँदै अहिले सहकारीलाई व्यवसायीकरणभन्दा पनि व्यापारीकरण गर्ने प्रवृत्ति मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। सहकारी पोष्टका सल्लाहकारसमेत रहनुभएका उहाँले सहकारीका आवश्यकतालाई पहिचान गरी सामग्री प्रकाशन गर्न र नराम्रो गर्नेको नराम्रो र राम्रो गर्नेको राम्रो कुराहरु उजागर गर्नुपर्ने बताउनुभएको थियो। सांसद ओमदेवी मल्लले सहकारी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएकोले सहकारी व्यवसायी हुनुपर्नेमा जोड दिनुभएको थियो।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी क्षेत्रमा सूचना प्रकाशन, सहकारीसम्बन्धी जानकारी र पाठ्यक्रमको अभाव खट्किएको अवस्थामा सहकारी पोष्टले केही हदसम्म यो अभावलाई पूरा गरेको बताउनुभयो। उहाँले सहकारी पोष्टले सहकारी गतिविधिसँगै साहित्यका मुर्धन्य व्यक्तित्वहरुलाई पनि परिचित गराउने कार्य गरेकोमा प्रंशसा व्यक्त गर्नुभएको थियो।

वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यलाई सबै क्षेत्रमा पुर्याउने उद्देश्यले आफू लागिपरिरेहको र साहित्य, कला र सस्कृति मुलुकको धरोहर भएको हुँदा यसको विकासको लागि सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो। जुनसुकै काम गर्न पनि राम्रो संकल्प लिनुपर्ने कुरामा जोड दिनुहुँदै उहाँले आफूले राम्रो संकल्प लिएकै कारण सबैबाट सहयोग पाई निरन्तर साहित्यिक यात्रामा लाग्न प्रेरणा मिलेको यथार्थ सुनाउनुभयो। कार्यक्रममा विमोचित पुस्तक र मोहन दुवालको व्यक्तित्व र कृतित्वका बारेमा वरिष्ठ साहित्यकार डा. रामप्रसाद ज्ञवालीले प्रकाश पार्नुहुँदै मोहन दुवाल सधैँ सत्यको पक्षमा र सबैलाई समेटेर अगाडि बढाउने अभियानमा लागेका आधुनिक युगका मोतिराम भट्ट भएको चर्चा गर्नुभएको थियो।

विमोचित पुस्तकमा दुवालले २०५३ देखि २०७२ सालसम्म यात्राकै क्रममा बटुलेका ४७ वटा अनुभूतिलाई समेटिएको छ। वरिष्ठ साहित्यकार हरिप्रसाद पाण्डे, राष्ट्रिय सहकारी बैंकका कार्यकारी प्रमुख केबी उप्रेती, सहकारीकर्मी बुद्धरत्न मानन्धरलगायतले साहित्यकार मोहन दुवालको साहित्यिक योगदान र सहकारी पोष्टका बारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको सो कार्यक्रममा सहकारी पोष्टका सम्पादक रामसुन्दर देउजाले पत्रिकाको स्थापनादेखिका आरोह–अवरोह र गतिविधिहरु प्रकाश पार्नुभएको थियोे। वरिष्ठ कवि अर्जुन पराजुलीले कविता वाचन गर्नुभएको कार्यक्रममा सहकारी पोष्टमा लेख–रचना प्रकाशित भएका लेखकहरुलाई सम्मानका साथ मायाको चिनो प्रदान गरिएको थियो।

सहकारीसम्बन्धी पत्रिकाको अभाव महसुस गरी वरिष्ठ साहित्यकार मोहन दुवालको प्रेरणा र सहयोगबाट २०६९ सालमा सहकारी पोष्ट त्रैमासिक पत्रिका काभ्रे जिल्लामा दर्ता भएको हो। यसमा मुलकभरका सहकारीहरुको गतिविधि एवं सहकारीसम्बन्धी नियमितरुपमा लेख–रचना प्रकाशित हुँदै आएको छ। यस पत्रिकामा सहकारीसँगै साहित्यसम्बन्धी लेख–रचना पनि प्रकाशित गर्दै आएको यसका प्रधान सम्पादक विधान जोशीले जानकारी दिनुभएको थियो। कार्यक्रम साहित्यकार यादव भट्टराईले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्