गौरिकाको पाँच राष्ट्रिय कीर्तिमान



नेपाल समाचारपत्र,काठमाडौं
नेपालको महिला पौडीमा उदीयमान भएकी जलपरी गौरिका सिंहले २०औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा कुल पाँच राष्ट्रिय कीर्तिमान रचेकी छन्।

शुक्रबार अन्तिम दिन थप तीन कीर्तिमान रचेपछि नेपाली सेनाकी गौरिकाले प्रतियोगितामा कुल पाँच राष्ट्रिय कीर्तिमान राखेकी हुन्। उनले तीन राष्ट्रिय कीर्तिमान १ सय मिटर फ्रिस्टाइल, १ सय मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टाइलमा बनाइन्। बिहीबार उनले २ सय मिटर फ्रिस्टाइल र ५० मिटर बटरफ्लाईमा नयाँ राष्ट्रिय कीर्तिमान सृजना गरेकी थिइन्।

महिला १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले हिट चरणमा १ मिनेट शून्य दशमलव ७९ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान राखेकी छिन्। उनले फाइनल चरणमा १ मिनेट २ दशमलव ३ सेकेन्डको समय निर्धारित गर्दै स्वर्ण जितिन् र मध्यमाञ्चलकी टिशा शाक्यले १ मिनेट ६ दशमलव ३१ सेकेन्डमा रजतमा चित्त बुझाइन्। यसअघिको कीर्तिमान पनि गौरिकाकै नाममा थियो। उनले सन् २०१६ मा दुबईमा भएको आइरिस ओपन च्याम्पियनसिपमा १ मिनेट १ दशमलव ७८ सेकेन्डको समय निकाल्दै सो इभेन्टमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

यसै गरी सातदोबाटोको पौडी पोखरीमा गौरिकाले १ सय मिटर बटरफ्लाईतर्फ १ मिनेट ७ दशमलव ६९ सेकेन्ड समय निकालेर राष्ट्रिय कीर्तिमान राखिन्। दोस्रो भएकी सशस्त्रकी दुआना लामा (१ मिनेट २३ दशमलव ७ सेकेन्ड) निकै पछि परेकी थिइन्। यो इभेन्टमा पनि गौरिकाले आफ्नै कीर्तिमानलाई पछि पारेकी हुन्। उनले भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग)मा १ मिनेट १० दशमलव ९४ सेकेन्डको समयको राष्ट्रिय कीर्तिमान राखेकी थिइन्।

अर्को इभेन्टमा भने गौरिकाले १२औं सागमा सोफिया शाहले राखेकी राष्ट्रिय कीर्तिमानलाई तोडेकी थिइन्। उनले ५० मिटर फ्रिस्टाइलको हिट चरणमा २८ दशमलव ९ सेकेन्डका साथ कीर्तिमान आफ्नो नाममा लेखाएकी हुन्। फाइनल चरणमा गौरिकाले २८ दशमलव ५० सेकेन्डसहित स्वर्ण जित्दा मध्यमाञ्चलकी टिशा शाक्यले ३० दशमलव ६३ सेकेन्डमा रजत हासिल गरिन्। यसअघि सोफियाले यस इभेन्टमा १२औं सागमा २८ दशमलव ८५ सेकेन्डका साथ कीर्तिमान बनाएकी थिइन्।

शुभमको पनि कीर्तिमान
पुरुषतर्फ नेपाल एपीएफ क्लबका शुभम श्रेष्ठले प्रतियोगिताको अन्तिम दिन १ सय मिटर र ५० मिटर ब्रेस्ट स्ट्रोकमा गरी दुई नयाँ राष्ट्रिय कीर्तिमान राखे। शुभमले आफैले हंगेरीको बुडापेस्टमा भएको १७औं फिना च्याम्पियनसिपमा १ सय मिटर बे्रेस्ट स्ट्रोकमा राखेको कीर्तिमान १ मिनेट ११ दशमलव ३४ सेकेन्डलाई छायामा पारेका हुन्। नयाँ कीर्तिमान बनाउने क्रममा शुभमले १ मिनेट ११ दशमलव २४ सेकेन्डको समय निकाले। उनले स्वर्ण जित्दा मध्यमाञ्चलका किरण कार्कीले १ मिनेट १६ दशमलव ७८ सेकेन्डका साथ रजत हात पारेका थिए।

यसै गरी शुभमले ५० मिटर बे्रस्टस्ट्रोकमा मध्यमाञ्चलका किरण कार्कीले सन् २०१६ मा भएको २१औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा राखेको कीर्तिमान भंग गरे। उनले हिट चरणमा ३२ दशमलव ४० सेकेण्डका साथ किरणको ३२ दशमलव ४५ सेकेण्डलाई पछाडि पारेर नयाँ राष्ट्रिय कीर्तिमान बनाए। किरणले हिजो उक्त इभेन्टमा ३३ दशमलव ८१ सेकेन्डको समय लिँदै रजतमै चित्त बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्