शारीरिक सुगठन टोली कोरिया जाने



 

नेपाल समाचारपत्र
काठमाडौं
एसियाली शारीरिक सुगठन प्रतियोगिताको ५१औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली शनिबार दक्षिण कोरियाको सिओल जाँदैछ। भदौ ४ देखि शुरू भइ १० गतेसम्म चल्ने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले आ–आफ्नो क्षमता प्रदर्शन गर्नेछन्।

पुरुषको ५५ केजीमा कमल भण्डारी, ७० केजीमा अशोक महर्जन, ७५ केजीमा गत संस्करणका स्वर्ण विजेता महेश्वर महेश महर्जन तथा स्पोर्ट्स फिजिक्सको १७० सेन्टिमिटर उचाईंमाथि विजयत्तमरत्न वज्राचार्यले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै निर्मला खड्काले मोडल फिजिक्सअन्तर्गत १६० सेन्टीमिटर उचाईंसम्म भाग लिने छिन्।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठको नेतृत्वमा रहने टोलीको अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय, निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायक एवं संघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ र प्रशिक्षकमा ज्ञानेन्द्र नकर्मी छन्।

प्रतिक्रिया दिनुहोस्