ए डिभिजन लिग मंसिरमा हुने



 

नेपाल समाचारपत्र
काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले लामो समयदेखि शुरू नभएको ए डिभिजन लिग आयोजना गर्ने मिति तय गरेको छ।

बुधबार एन्फाको कार्यसमिति बैठकले निर्णय गरेअनुसार ए डिभिजन लिग आगामी मंसिर १४ गतेदेखि शुरू हुने तय भएको हो। नेपालमा घरेलु लिग नभएको करिब चार वर्ष भइसकेको छ। चार वर्ष अघि २०७४ सालमा लिग हुँदा मनाङ मस्र्याङदी क्लब लिग च्याम्पियन बनेको थियो। हुन त यसपछि पनि लिग त भइयो तर त्यो सबै ए डिभिजन क्लबको समावेश रहेको थिएन। सो राष्ट्रिय लिग २०७२ मा भएको थियो।

तर सो बैठकले थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा भने निर्णय थाती राखेको छ। यसका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरको तीन सदस्यीय संयोजकत्वमा कमिटि गठन गरेको छ। एन्फाले क्षतिपूर्ति दिने विषयमा अझै थप अध्ययन गर्नुपर्ने जानकारीमा ल्याएको छ। सो कमिटिमा कुँवरसहित कार्य समितिका सदस्यहरू गणेशबहादुर चन्द र दिनेस व्यन्जकारको संलग्नता रहनेछन्।
यो कमिटिले १० दिनभित्र प्रतिवेदन अध्यक्षलाई बुझाउनुपर्ने समय पनि दिइएको छ। यो प्रतिवेदन कार्यसमितिमा प्रस्तुत गरिएपछि विशेष साधारण सभामा निर्णयार्थ पेश हुनेछ। एन्फाले विधान संसोधनका लागि असोज २३ गते विशेष साधारण सभा गर्ने भएको छ। एन्फा चुनाव भने सशोधित विधानअनुसार पुष २३ गते हुनेछ। यसको मतलब थ्रीस्टार क्लबले क्षतिपूर्ति पाउन अझै कुर्नुपर्ने भएको छ।

एन्फाको बैठकले केही ठोस निर्णयहरू पनि भएका छन्। जसमा नेपालमा सेप्टेम्बर २० देखि २४ तारिखसम्म हुने एएफसी यु १६ च्याम्पियनसिप २०१८ छनोटबारे छलफल गरियो। जसको बजेट ८५ लाख ५१ हजार ६ सय रहने पनि उल्लेख गरिएको छ। त्यस्तै भुटानमा हुने साफ यु १८ च्याम्पियनसिप तथा किर्गिस्तानमा हुने एएफसी यु १९ च्याम्पियनसिप २०१८ छनोटको लागि खर्चबारे छलफल गरियो। जसको खर्च २६ लाख ८९ हजार रुपियाँ लाग्ने पनि अनुमानित बजेट पास गरिएको छ।

यसै गरी एन्फा फुटसल लिग र एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता हुन लाग्ने सम्पूर्ण खर्च एन्फाले नै व्यहोर्ने जानकारीमा ल्याएको छ। त्यस्तै काठमाडौं, नवलपरासी र मकवानपुरमा मीनी पिच बनाइने र एएफसी यु १५ गल्र्स च्याम्पियपनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउने पनि एन्फाले निर्णय लिएका छन्।

प्रतिक्रिया दिनुहोस्