रेडिअन्ट र इनोभेटिभको जित



 

काठमाडौं, (नेस)
आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुल र इनोभेटिभ इङलिस स्कुलले पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी शुरुआत गरेका छन्।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले राइजिङ स्टारलाई ४६–१४ ले सहजै पराजित गर्यो। रेडिअन्टको जितमा सुरज सिंहले ९ अंक योगदान गरे। सुजन शाहीको १४ अंक सहयोगमा इनोभेटिभले विस्डमलाई ४६–१० को फराकिलो अन्तरले हरायो। सिनियर ब्वाइजमै विल्सन एकेडेमी, महामञ्जुश्री र ग्यालेक्सी पब्लिक स्कुलले पनि जितका साथ यात्रा प्रारम्भ गरे। विल्सनले पिपुल्सलाई ५४–२३ ले पन्छायो। विल्सनका पेम्बा शेर्पाले उत्कृष्ट प्रदर्शन गर्दै ३५ अंक जोडे।

महामञ्जुश्रीले डेनेबलाई ३२–२८ ले पाखा लगायो। महामञ्जुश्रीका मीन बुढा मगरले १५ स्कोर गरे। ग्यालेक्सीले ज्योति एकेडेमीमाथि ३३–११ को सहज जित दर्ता गर्यो। ग्यालेक्सीका सुवास गुरुङले १५ अंक जोडे। जुनियर ब्वाइजमा साइन मोडेल र इनोभेटिभ विजयी भए। साइन मोडेलले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ४–२ ले पराजित गर्यो। विजयी टिमका लागि छिरिङ मोक्तानले २ अंक बटुले। लोयल्टी एकेडेमी विरुद्धको खेलमा इनोभेटिभ १४–६ ले विजयी भयो। इनोभेटिभका विवेक न्यौपानेले ७ अंक जोडे।

प्रतियोगिताको आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणसिंह कुँवर र रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे। भदौ ९ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १८ र जुनियर ब्वाइजमा १४ गरी ३२ टिम सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्