बर्षाले बित्याँसः अझै त्रास



कृष्णउदास खनाल, वीरगन्ज । पर्साको धोबिनीकी स्थानीय सुकैन चमैन नातीको उपचारका लागि बुधबार वीरगन्ज आउने प्रयास गरिन् तर उनी थाकिन । भाइरल ज्वरोबाट पीडित उनको नातिको उपचार अभावमा नै ज्यान जान्छ कि भन्ने चिन्ताले उनी छिमेकी देश भारत तर्फ पैदल हिँडेर नै लागिन् ।

उनी वीरगन्ज आउन नसक्नुको एउटै कराण थियो,डुबान । बिगत केही दिनको बर्षाका कारण पर्साको सदरमुकाम वीरगन्ज र ग्रामीण भेगको सडकखण्डको सम्पर्क बिच्छेद भएपनि स्थानीयहरु प्रत्यक्ष मारमा परेका छन् ।

पर्साको ग्रामीण भेगदेखि शहरसम्म अहिले पीडितहरू उद्धार तथा राहतको खोजीमा बसेका छन् भने दुर दराजमा पीडितहरुको बिजोग भएको छ। अहिले गाउँ तथा शहरको सम्बन्ध पूर्णरूपले टुटेको छ ।

सडक तथा सञ्चार सम्बन्ध टुटेको कारण अधिकांश गाउँको अवस्थाबारे जनकारी सम्बन्धित निकायलाई समेत नहुने गरेको देखिएको छ । गाउँमा के कति क्ष्ँति भएको छ, तथ्याङ्क सङ्कलन कार्य गर्ने  निकायसमेत आप्mनो ठाउँबाट बिस्थापित भएको कारण समस्या भएको सुरक्षा निकायका प्रमुखहरूले आफैं स्वीकार गरेका छन् ।

पर्साको विकट गाविसका बासिन्दा अहिले पनि सम्पर्क बाहिर छन् । सीमावर्ती क्षेत्रमा बग्ने ओरिया नदीमा आएको बाढीको कारण आवागमन पूर्णरूपले ठप्प भएको  छ । सो गाउँ सञ्चार सम्पर्कबाट पूर्णतः विच्छेद भएको छ ।  सीमासँग जोडिएको मिर्जापुर, जयमङ्गलापुर तथा सम्भौता गाविसका जनताको अवस्था पीडादायी रहेको स्थानीयहरुले बताएका छन् । रातहको टोली अझै गाउमा आइनसकेको स्थानीयहरुले जानकारी दिएका छन् ।

विद्युत् सेवा अवरुद्ध हुँदा ती गाविसलगायत अन्य गाविसका जनत पनि सम्पर्क बाहिर रहेको पाइएको छ । विद्युत् सेवा ५ दिनदेखि बन्द भएको कारण मोबाइल टावरका उपकरणहरूले काम  गर्न छोडेपछि अहिले सञ्चार सम्पर्क टुटेको छ ।

पोखरिया–भिस्वा सडकखण्डको  वसन्तपुर, लङ्गडी, धोबिनी, गण्डक नहर सडकखण्डको मसिहानी, जानकीटोला र दसौता तथा ठोरी सडकखण्डको विजयबस्ती, आठघरे, ठोरी जाने जङ्गलको बाटो बगाएको कारण बाटो अवरुद्ध भएको छ ।  बाढीको कारण किसानहरूले लगाएको धान बाली पूर्णरूपले क्षति भएको छ ।  खेतमा लागेको पानीको निकास नभएको कारण धान खेतमा नै सडन थालेको गाउँलेहरूले जनाएका छन् ।

अविरल परेको पानी तथा बाढीको कारण ग्रामीण भेगमा रहेका माटाका घरहरू भत्केको कारण ती घरका मानिस सडक तथा विद्यालयमा बास बस्ने गरेको पाइएको छ ।  दैनिक गुजारा गरी खाने  विपन्न परिवार सबभन्दा बढी बाढीको चपेटामा परेको पाइएको छ ।

ओरिया, सिक्टा, तिलावेलगायत ससाना नदीमा आएको बाढीको कारण वरपर तथा सीमावर्ती क्षेत्रका बासिन्दा बढी प्रभावित भएको पाइएको छ । ऋणमा लिएर पोखरी खनाई माछापालिन गर्ने किसानको थप बिचल्ली भएको छ ।   बाढीको कारण भत्केको सडक, बिद्युत् सेवा तथा सञ्चार सेवा तत्काल सुचारु भए पनि गाउँका बासिन्दाले केही राहत महसुस गर्ने जनाएका छन् ।पानी पर्ने कार्य अझै जारी रहेका कारण र डुबान केही कम भएपनि पानी थपिनेक्रम नरोकिएका कारण स्थानीयहरु झनै त्रासमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्