खुला दिसामुक्त बनाउने ६ करोड हावामा उडाईयो !



यमलाल भुसाल, बुटवल ।
रूपन्देहीलाई खुला दिसामुक्त बनाउन करिब ६ करोड रूपैयाँ खर्च भइसकेको छ । २०६८ सालदेखि सुरू भएको खुला दिसामुक्त (ओडिएफ) घोषणा अभियान जिल्लामा अझै पूरा हुन सकेको छैन ।

जिल्लाका अझै पनि १.१३ प्रतिशत घरधुरीमा शौचालय बन्न नसक्दा सुगम र विकशित जिल्लाको पहिचान बनाएको रूपन्देही सरसफाई अभियानमा पछाडि परेको छ । जसका कारण जिल्लामा पूर्ण सरसफाई अभियान अगाडि बढ्न सकेको छैन । खुला दिसामुक्त घोषणापछि मात्र पूर्ण सरसफाई अभियान सञ्चालन गनुपर्ने हुन्छ ।

 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, योगिकुटी रूपन्देहीका डिभिजन प्रमुख बासुदेव पौडेलले ३ स्थानीय तह (साविक भिवासिसी) ले खुला दिसामुक्त अभियानलाई जिम्मेवारी बोध गर्न नसक्दा अभियान समयमै पूरा हुन नसकेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यहाँका अझै एक हजार ८ सय ५० घरधुरीमा शौचालय बन्न बाँकी छन । ९८.८७ प्रतिशत घरधुरीमा शौचालय बनिसके ।’

 

ओडिएफ अभियानमा जिल्ला विकास समिति, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सुआहार, वल्ड भिजनले काम गरिरहेका छन् । जिल्लाका लुम्बिनी सांस्कृतिक नगरपालिका १ हजार ५ सय, गैडहवा गाउँपालिकामा ५ सय र सिद्धार्थनगर नगरपालिकाका शौचालय बन्न बाँकी छ ।

जिल्लामा १ लाख ६३ हजार ८ सय ३५ घरधुरी छन । जसमध्ये १ लाख ६१ हजार ९ सय ८५ घरधुरीमा शौचालय बनिसकेका छन् । विश्वका बौद्ध धर्मालम्बीको आस्थाका केन्द्र रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शौचालय बन्न नसक्दा नेपालको नराम्रो सन्देशविश्वभर गएको छ ।

कार्यालयका इन्जिनियर धु्रव धितालले लुम्बिनी सांस्कृतिक नगरपालिकामा सांस्कृतिक नगरपालिकाले गर्दा रूपन्देहीलाई खुला दिसामुक्त बनाउन चुनौतीपूर्ण देखिएको बताउनु भयो । उहाँलेभन्नु भयो ‘अब स्थानीय तहमा जनप्रतिनिधिहरू आउनुभएको छ ।४ महिनाको अवधिमा जिल्लालाई खुला दिसामुक्त बनाउने दायित्व सबैको हो ।’ धितालले थप्नु भयो, ‘तराई मूलका मानिसहरूमा शौचालय प्रयोग गर्न बानीको विकास अझैसम्म हुन नसक्दा चर्पी बन्न सकेनन ।’

आर्थिक वर्ष २०७३÷०७४ मा ३ हजार ७ सय ८५ घरधुरीमा शौचालय बनेको डिभिजन कार्यालयको तथ्याङकले देखाउँछ । सरकारले सन् २०१७ भित्र नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । हालसम्म करिब ४० जिल्ला खुला दिसामुक्त भइसकेको छन् ।

खुला दिसामुक्त घोषणा गर्न बनाइएका त्यस्ता चर्पी प्रयोगविहीन छन । जनदबाबले शौचालय निर्माण गरे पनि दिसापिसाबको लागि उनीहरू जंगल र खेतबारीमा जाने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्