लन्डनमा भिजिट रसियाको कार्यालय



 

लन्डन, (एजेन्सी)
सन् २०१८ को फिफा विश्वकप फुटबल आयोजक रसियाले लन्डनमा भिजिट रसियाको कार्यालय खोलेको छ।

विश्वकपमा इंग्लिस समर्थकलाई हुल्याहा दर्शकहरूबाट नियन्त्रण गर्न सहयोग गर्ने प्रायोजनले रसियाले उक्त कार्यालय लन्डनमा खोलेको बताइएको छ। रसियामाथि गत वर्ष सम्पन्न युरो २०१६ का क्रममा करिब १ सय जना इंग्लिस समर्थकलाई रसियाली हुल्याहा समर्थकहरूले घाइते बनाएको आरोप लागेको थियो।

‘सम्पूर्ण ब्रिटिस समर्थकलाई हाम्रो सम्पूर्ण ढोका खोलेको देखाउन चाहन्छौं। भर्खरै खोलिएको अफिसको माध्यमबाट उनीहरूको कुनै पनि प्रकारका प्रश्नहरूलाई कुनै पनि समयमा हामी समाधान गर्न तत्पर छौं। कुनै पनि सुरक्षा समस्या अथवा दुविधाको समाधानका लागि नै हामी यहाँ आएका हौं।’ –भिजिट रसियाका चेरेपानोभले भने।

सन् २०१८ को विश्वकप फुटबल आयोजनामा सुरक्षालाई चुस्त बनाउन रसियाले विशेष परिचयपत्रको समेत व्यवस्था गर्ने भएको छ। जुन परिचयपत्र स्टेडियम प्रवेशका साथै देश प्रवेशका लागि पनि भिसासरह मान्यता दिइने बताइएको छ।
विश्वकपको रिहर्सलका रूपमा रहेको कन्फेडरेसन कप गत जुनमा रसियाले सफलतापूर्वक आयोजना गरेको थियो। उक्त क्रममा कुनै प्रकारको उच्छृखंल गतिविधि भएन। जसबाट प्रभावित भएर फिफा अध्यक्ष जिआनी इन्फान्टिनोले ‘महान् सफलता’ भनेर संकेत गरेका थिए।

हाल खोलिएको भिजिट रसियाको अफिस सेप्टेम्बर १ तारिखपछि मात्र आधिकारिक रूपमा सञ्चालन हुने जनाइएको छ। यसले समर्थकहरूलाई बसोबासको जानकारीसमेत प्रदान गर्ने चेरापानोभले बताए। रसियाको ११ वटा शहरमा आयोजना हुने फिफा विश्वकप आगामी वर्षको १४ जुनदेखि १५ जुलाईसम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्