नाडाल विश्व नम्बर एकमा फर्किंदै



 

लन्डन, (एजेन्सी)
रोजर फेडेररले सीनसीनाटी मास्टर्स नखेल्ने भएपछि अर्को सोमबार प्रकाशित हुने पुरुष टेनिस वरीयतामा राफाल नाडाल विश्व नम्बर एक हुने भएका छन्।

१९ पटकका ग्रान्डस्लाम विजेता फेडेररले ढाड दुखेको समस्याले सीनसीनाटी मास्टर्स नखेल्ने तय गरेका हुन्। आइतबार मात्रै पनि स्विस खेलाडी रोजर्स कपको फाइनलमा जर्मनीका एलेक्सान्डर जभेरेभसँग पराजित भएका थिए। ब्रिटिस खेलाडी एन्डी मुरेले रोजर्स कपमा बीचैमा छाड्नु र सीनसीनाटी मास्टर्समा सहभागी नहुनाले पनि उनको विश्व नम्बर एक असुरक्षित भएको छ। फ्रेन्च ओपन विजेता नाडाल जुलाई २०१४ पछि पहिलोपटक वरीयतामा शीर्ष स्थानमा उक्लिन लागेका हुन्। ३१ वर्षीय स्पेनी खेलाडी रोजर्स कपअन्तर्गत अन्तिम १६ मा वाइल्डकार्ड खेलाडी डेनिस सापोलभालोभसँग पराजित भएका थिए।

सीनसीनाटीमा ३६ वर्षीय फेडेररसँगै अन्य शीर्ष १० भित्रका खेलाडीहरू मुरे, केइ निशिकोरी र मारिन चिलिचले सहभागिता नजाउने भएका छन्। त्यस्तै यूएस ओपन २०१६ का विजेता स्टान वावरिन्का र १२ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच पनि सो प्रतियोगितामा देखिनेछैनन्। बीबीसीले जनाएअनुसार जोकोभिचले यो वर्ष कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन सक्ने छैनन्।

प्रतिक्रिया दिनुहोस्