सागका लागि किर्तिपुरमा कभर्ड हल निर्माण शुरु



काठमाडौँ, ३१ साउन । नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि पूर्वाधार तयार गर्न त्रिभुवन विश्वविद्यालयको परिसरको ७० रोपनी जमिनमा अत्याधुनिक कभर्ड हल निर्माण शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् र त्रिविको सहकार्यमा दुई वर्षभित्र सो कभर्ड हल तयार गरी केही प्रतियोगिता समेत खेलाइने लक्ष्य राखिएको छ ।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आज हल शिलान्यास गर्दै मुलुकको प्रतिष्ठासँग जोडिएको साग खेललाई सफलतापूर्वक सम्पन्न गर्न अन्य स्थानमा पनि पूर्वाधार विस्तार गर्दैै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले समय तालिकाअनुसार द्रुतगतिमा उक्त हल गुणस्तरीय बनाउन निर्देशन दिँदै त्यसका लागि आवश्यक पर्ने रकम खर्च अभाव हुन नदिने जानकारी दिनुभयो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले सरकार र त्रिविको संयुक्त स्वामित्व रहने सो हल निजी क्षेत्रलाई व्यावसायिक रुपमा प्रयोग गर्न दिएर आयआर्जन गर्नसक्ने बताउँदै रु दुई अर्व करोड २४ करोड मन्त्रालयको कुल बजेटबाट संघीय संरचनाअनुसार स्थानीय तहमा खेलकुदको विकासका लागि पनि रकम पठाउन शुरु गरिएको बताउनुभयो ।

त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले आगामी वर्षमा खेलकुदका विषयमा कक्षा सञ्चालनको गृहकार्य भइरहेको बताउनुभयो । कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनले उक्त स्थानमा तयार हुने हल तथा अन्य पूर्वाधार विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले करिब पाँच हजार दर्शक अटाउने उक्त हल करिब रु ८३ करोडको लागतमा सम्पन्न गरिने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्