सत्यतथ्य सूचना पाइएन



 

अविरल वर्षा र बाढीपहिरोबाट भएको विपत्तिको अवस्थामा सत्यतथ्य सूचना संकलन तथा सम्प्रेषण नभएको पाएको छु। आमसञ्चारका माध्यम, दूरसञ्चार सेवाप्रदायक र सरकारी निकायले दिएको सूचना फरक–फरक आउँदा हामी अन्योलमा परेका छौं। वर्तमान परिस्थितिलाई ध्यानमा राखी बाढीपहिरोबाट भएको जनधन र भौतिक संरचनाको क्षतिका बारेमा सत्यतथ्य एवं विश्वसनीय सूचना प्रवाह गर्नुपर्नेमा त्यसो भएको छैन। यस विषयमा सबै सञ्चारमाध्यमको ध्यान जानु जरुरी छ।

विपद्का बारेमा स्थलगतरूपमा समाचार एवं विवरण संकलन तथा सम्प्रेषण गर्दा जिल्लास्थित विपद् व्यवस्थापन समिति, क्षेत्रीय प्रशासन, सुरक्षा समितिसँग समन्वय गरी प्रकाशन गरिएको आधार भेटिए पनि उनीहरूको भनाइमा फरक परेको छ। भनाइ पनि बङ्याएर हाल्दा समस्या सिर्जना हुने गर्छ। सूचना संकलनका लागि स्थलगतरूपमा खटिएका सञ्चारकर्मीलाई सूचना उपलब्ध नगराएर हो या किन हो, हावादारी समाचारले अन्योलता सिर्जना गरेको छ। बाढीपहिरोबाट भएको क्षतिको मर्मत हुन लाग्ने समय, मर्मत हुन नसक्ने अवस्था, वैकल्पिक व्यवस्था र बाढीपहिरोले क्षति भएको स्थानमा तत्कालै निजी वा सार्वजनिक संरचना निर्माण गर्न हुने वा नहुने बारेमा पनि समाचार सम्प्रेषण हुनुपर्छ। रेडियो, एफएम र टेलिभिजनलगायत सञ्चारमाध्यमले यो विषयमा सूचना दिएर सरकारी निकायलाई सहयोग गर्नुपर्छ।

– मिलन सुनार, मिलनचोक, काठमाडौं

विदेशीको अवैध व्यापार रोक

राजधानीका विभिन्न स्थानमा विदेशीहरूले अवैध व्यापार गर्ने गरेको पाइएको छ। विशेषतः चिनियाँ र भारतीय मूलका व्यक्तिहरूले सडकमै व्यापार गर्ने गरेको पाइएको हो। सरकारी निकायले पनि यो विषयमा खासै वास्ता गरेको पाइएको छैन। त्यसले गर्दा पैदलयात्रीहरू मारमा परेका छन्। सडकमा हामीलाई हिँड्न अप्ठ्यारो भयो भनेर गाली गर्ने हो भने पनि उल्टै थर्काउँछन्। त्यसैले देखको नदेखेझैँ गरेर हिँड्नुपर्ने भएको छ।

काठमाडौं उपत्यकाका व्यस्त सडकहरू न्यूरोड, रत्नपार्क, भृकृटीमण्डप, चाबहिल, कलंकीलगायतका स्थानमा यस्तो व्यापार हुने गरेको पाइएको छ। विशेषतः बेलुकीको समयमा सडक व्यापार हुने गरेको छ। उनीहरूले घडी, क्याल्कुलेटर, फेन्सी आइटमका सामग्रीहरू अवैधानिक तवरबाट सडकमै बिक्री गर्दा प्रहरीले देखेको नदेखेझैँ गर्छ। प्रहरी प्रशासनले यो विषयमा ध्यान दिनु जरुरी छ।

– पवित्र आचार्य, काठमाडौं

धन्य प्रवासी नेपाली !
बेनी नगरपालिका–३, भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले ९ लाख ३७ हजार रुपियाँ सहयोग गरेका छन् । जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहेका भकिम्लीका सन्तबहादुर क्षत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो । विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका हुन्। गाउँ–ठाउँको विकास गर्न उनीहरू यसरी लागिपरेको देख्दा खुशी लाग्छ। धन्य प्रवासी नेपाली ⁄ यहाँ राज्यबाटै सहयोग नपाउने अवस्थामा पैसा कमाउन गएकाहरूले नै सहयोग गरिरहेका छन्। नेपाल सरकारले पनि यस्ता काममा चासो दिएर बजेट विनियोजन गर्न जरुरी छ।

– सुवर्ण धिताल, म्याग्दी

जाजरकोट अन्धकार भयो

लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् उत्पादका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध हुँदा पनि कसैको ध्यान गएको छैन। लाखौँ रकम खर्चेर निर्माण गरेको विद्युत् सेवा अवरुद्ध भएपछि यहाँ हामी स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छौं।

त्रिवेणी नलगाड नगरपालिका–३, करुवास्थित भेरीखोला चिलिखोलेसा लघु जलविद्युत योजनाको नहर बगाएपछि विद्युत् सेवा ठप्प भएको छ यहाँ। कुलो बाढीले भत्काउँदा ६५ घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छौं। वडा नं. ९ तात्रामा रहेको रु. ७२ लाख बराबरको १८ किलोवाट क्षमताको दोवीया खोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको छ। यसलाई बनाउन जनप्रतिनिधिले पनि पहल गर्नुपर्छ।

कुशे गाउँपालिका–२ मा रहेको झन्डै रु. १ करोड ४० लाखको लागतमा निर्माण गरिएको खाराखोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको छ । झन्डै ३६ किलोवाट विद्युत् खपत क्षमता भएको सो लघु जलविद्युत् आयोजनाको कुलो बाढीले भत्काएसँगै ४ सय घरधुरीका यहाँका स्थानीय बासिन्दाले अँध्यारो झेल्नुपरेको छ। त्यस्तै बारेकोट गाउँपालिका–२, रोकाय गाउँमा रहेको गाग्रा खोला लघु जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन रोकिएको हप्ता दिन पुगिसक्दा पनि निर्माण कार्यमा सरोकारवाला निकायले चासो देखाएका छैनन्। जनताका घर उज्यालो बनाउन चाँडो ध्यान जाओस्।

– सुप्रिया शर्मा, जाजरकोट

जुम्लास्थित ‘मारी’को हविगत

करिब ४ वर्षअघि जुम्लामा स्थापना भएको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान (मारी) अहिले अलपत्र अवस्थामा छ । स्थापनाकालदेखि नै यहाँ विषयगत क्षेत्रका वैज्ञानिकको अभाव र काम चलाउ निर्देशकका भरमा प्रतिष्ठानलाई छोडिदँदा यो अलपत्र अवस्थामा परेको हो। २०७१ सालयता निमित्त निर्देशकको भरमा यो प्रतिष्ठान चलिरहेको छ । प्रतिष्ठानको उद्देश्यअनुरूपका विषयगत वैज्ञानिक सरकारले नियुक्त गर्न नसक्दा एउटा कार्यशाला गोष्ठीबाहेक अन्य काम अघि नबढेको अवस्था छ।

सम्बन्धित विषयका वैज्ञानिक नहुँदा अनुसन्धान कसरी हुन सक्छ र संस्था प्रगतिको आशा कसरी गर्न सम्भव हुन्छ ? अहिले यो प्रश्न उब्जेको छ यहाँ। प्रतिष्ठानको प्रस्तावित ३० जनाको दरबन्दीमा १३ जना वरिष्ठ वैज्ञानिकको छ तर त्यो पदमा ११ जनाको दरबन्दी अहिले पनि खालि छ । राष्ट्रिय कृषि र पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटार ललितपुर (नारी र नास्री) पछिको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान तेस्रो हो तर यसको लक्ष्य, उद्देश्य, दृष्टिकोण र कार्यक्षेत्रअनुरूप काम शुरु हुन सकेको छैन। जुम्लामा स्थापना भएको यो प्रतिष्ठानको काम नेपालका उच्च पर्वतीय क्षेत्रमा पर्ने जिल्लाहरूको पशु, चरन तथा घाँसेबाली, बागवानी, माछा, जडीबुटी र औषधिजन्य वनस्पतिको अनुसन्धान गर्ने हो। तर हविगत बिग्रेर यसले कसरी काम गरोस् ? यसलाई उठाउनतिर सोच्न जरुरी छ।
– सावित्रा राम्जा, जुम्ला

 

प्रतिक्रिया दिनुहोस्