“विश्वकै १ नम्बर भन्दा गौरव भो”



बालकृष्ण बुर्लाकोटी
मल्टिपल काउन्सिल चेयरपर्सन
एवम् डिस्ट्रिक्ट ३२५ बी १ नेपालका निवर्तमान डिस्ट्रिक्ट गभर्नर

एमजेएफ लायन बालकृष्ण बुर्लाकोटी मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन एवम् डिस्ट्रिक्ट ३२५ बी १ नेपालका निवर्तमान डिस्ट्रिक्ट गभर्नर रहनुभएको छ। उहाँ सन २००८⁄०९ मा लायन्स क्लब अफ काठमाडौं गोङगबुको चार्टर प्रेसिडेन्टका रूपमा लायनवादमा प्रवेश गर्नुभएको हो। लायन्सका विभिन्न पदमा रही लायन वर्ष २०१६⁄१७ मा डिस्ट्रिक्ट गभर्नर हुनुभएका बुर्लाकोटीले नेपालको लायन्स इतिहासमा विश्व रेकर्ड राख्न सफल हुनुभएको छ। २ सय १० राष्ट्रमा आफ्नो सञ्जाल फैलाएको विश्वको सबैभन्दा ठूलो सामाजिक संस्थामा रहेका ७ सय ५० डिस्ट्रिक्टमध्ये डिस्ट्रिक्ट ३२५ बी १ नेपाललाई विश्वकै सर्वोकृष्ट डिस्ट्रिक्ट बनाउन सफल लायन वर्ष २०१६⁄१७ का सफल गभर्नर बुर्लाकोटीसँग नेपाल समाचारपत्रका लागि पोखरा प्रतिनिधि टंकराज अधिकारीले गर्नुभएको कुराकानीः

 

लायन्स को हुन् र यिनले के गर्दछन् ?

लायन्स क्लब अन्तर्राष्ट्रियको सदस्य बनेका व्यक्तिहरू नै लायन्स हुन्। समाजका उत्कृष्ट व्यक्तिको समूहबाट नै लायन्स क्लबको विस्तार हुने गर्दछ। समाजका उत्कृष्ट व्यक्तिले आफ्नो स्वधर्मको कर्तव्य पालना गर्दै बचत भएको समय र स्वआर्जनको केही अंशबाट बचेको रकम समाजको आवश्यकताअनुसार व्यक्तिगत लाभको उद्देश्य नराखी समुदायमा जहाँ जे आवश्यकता पर्छ त्यहाँ सेवा गर्दछ। आफूभन्दा कम अवसर पाएका व्यक्ति तथा समूदायसमक्ष सेवाका कार्य विशेष गरी स्वास्थ्य, शिक्षा तथा पर्यावरणका क्षेत्रमा लायन्सले काम गर्दछन्।

लायनवादमा किन र कसरी लाग्नुभयो, लायन्समा लागेर पाएको महत्त्वपूर्ण उपलब्धि के के हुन् ?

जब म समाजका लागि केही आर्थिक सहयोग गर्नका लागि सक्षम भएपछि मैले सुनिरहेको संस्था, जुन विश्वको २ सय १० राष्ट्रमा फैलिएको लायन्सको अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको सदस्य बनें। लायन्स क्लबको सदस्यता निवेदन दिएर नपाउने र सदस्य बन्नका लागि लायन्स बनेकाले नै निमन्त्रणा गर्नुपर्ने रहेछ र मलाई लायन्सको सदस्य बन्नका लागि पूर्वमल्टिपल काउन्सिल चेयरपर्सन राजन लम्सालले लायन्ससम्बन्धी जानकारी दिएर सदस्य बन्न अभिप्रेरित गर्नुभयो।

नयाँ क्लब लायन्स क्लब अफ काठमाडौं गोंगबुको नामकरण गरी म नै संस्थापक अध्यक्ष बनें। यस संस्थामा लाग्नुभन्दा अघि सीमित क्षेत्रमा मात्र चिनिन्थें भने अहिले आएर नेपालको मात्र नभई र अन्तर्राष्ट्रिय स्तरमा लायनवादको माध्यमबाट परिचित भएको छु।

लायनवादले दिएका अवसरलाई कसरी चित्रण गर्नुहुन्छ ?

म एउटा साधारण परिवारमा जन्मेर गाउँको सरकारी स्कुलमा पढेको र कामका साथै पढाइको सिलसिलामा काठमाडौं छिरेको सामान्य मानिस हुँ। आफ्नो पढाइ, काम अनि परिवारको जिम्बेवारी बहन गर्दै २⁄४ पैसा कमाउन थालेपछि जुन समस्या मैले बाल्यकालमा भोगेको थिएँ त्यस्तो समस्या जो कोहीलाई नपरोस् भन्दै आफूले सकेको सहयोग आवश्यकता हुनेलाई गरी नै रहन्थें। यो संस्थाको सदस्य भए पछि मैले आफूले गर्ने सेवाका साथसाथै सयौं सेवा गर्ने मनलाई यो संस्थामा आबद्ध गराएर बढीभन्दा बढी आवश्यकता पर्ने समूदायसमक्ष सेवा पुर्याउन सफल भए।

सामाजिक सेवाको क्षेत्रमा लायन्सले कस्तो भूमिका खेलेको छ, अन्य सामाजिक संस्था र लायन्समा के फरक छ ?

हामीले सामाजिक सेवाको क्षेत्रमा लायन्सले उल्लेख्य भूमिका निर्वाह गरेको पाएका छौं। लायन्स क्लबले सञ्चालन गरेका आँखा शिविर, स्वास्थ्य शिविर, स्वास्थ्यसम्बन्धी जनचेतना, दादुरा रुबेला सम्बन्धी खोप, डाइबेटिक अर्वानेस कार्यक्रम, विद्यालयका लागि भौतिक पुवार्धार निर्माण, छात्रवृत्ति प्रदान, पुस्तकालय स्थापना, पिस पोस्टर, वातावरण संरक्षरणका लागि वृक्षारोपण, प्राकृतिक प्रकोपबाट पीडितलाई राहत वितरणलगायतका मानव जीवनमा प्रत्यक्ष रूपमा समाजलाई प्रभाव पार्ने भूमिका खेलेको छ। लायन्स एउटा भोलेन्टियर अर्गनाइजेसन भएका कारण लायन्सले कोही कसैसँग प्रतिस्पर्धा नगरी आफ्नो काम गर्दै आएका छौं।

लायन्सको सदस्यता वृद्धि हुनुमा लायन्सले समाजमा देखिने खालका मानवीय सेवाका काम गर्दै आएको छ। अर्को महत्वपूर्ण कुरा यस संस्थामा प्रवेश गरेपछि सर्भिस, फेलोसिप र लिडरसिप तीनवटै कुरा प्राप्त गर्न सकिन्छ। यिनै कारणले गर्दा पनि यो संस्थाको सदस्य बन्न आकर्षित भएर आउँछन्।

लायन्स क्लब र सदस्यहरूको संख्यात्मक वृद्धि धेरै भएको छ, सदस्यता बढ्नुको कारण के हुन् ?

लायन्सको सदस्यता वृद्धि हुनुमा लायन्सले समाजमा देखिने खालका मानवीय सेवाका काम गर्दै आएको छ। अर्को महत्त्वपूर्ण कुरा यस संस्थामा प्रवेश गरेपछि सर्भिस, फेलोसिप र लिडरसिप तीनवटै कुरा प्राप्त गर्न सकिन्छ। यिनै कारणले गर्दा पनि यो संस्थाको सदस्य बन्न आकर्षित भएर आउँछन्। लायनवादप्रति बढ्दो आकर्षण यसको काम गर्ने तौर तरिकाका साथै कुशल नेतृत्व विकास, संस्थाको स्थायीत्व, दीर्घकालीन योजनाका साथ कार्य सम्पादन गर्ने हुँदा नै यस्को प्रभाव केही न केही समाजमा परेको हुन्छ।

लायन्समा लाग्नेको सदस्यताबापतको मोटो रकम बिदेसिने गरेको छ तर त्यसको प्रतिफल पाउन नसकेको भनिन्छ नि ?

यो अन्तर्राष्ट्रिय संस्था हो। प्रत्येक वर्ष हामीले नियमित सदस्यताबापत निश्चित रकम नेपालमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको अन्तर्राष्ट्रिय खातामा जम्मा गर्नुपर्छ र उक्त रकम नेपालमा नै रहन्छ। लायन्स क्लब अन्तर्राष्ट्रियले जति पनि परियोजना नेपाललाई दिन्छ सोही खाताबाट सोही रकम नेपालमा नै लगानी गर्छ।

धेरै वर्षदेखि नेपालमा अन्धोपन निवारणका लागि लायन्स अन्तर्राष्ट्रियले ठूलो रकम सहयोग गर्दै आएको छ। प्रत्येक वर्ष नेपालका चार वटै डिस्ट्रिकलाई स्ट्यान्डर ग्रान्टअन्तर्गत विभिन्न स्थायी परियोजनाका लागि दुईदुई लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्दैै आएको छ। प्रत्येक वर्ष लायन्स क्लबद्वारा देशका विभिन्न ठाँउमा सञ्चालित लायन्स अस्पतालहरूमा आर्थिक सहयोग प्राप्त भइराखेको छ। त्यसै गरी मिजेला रुबेलामा नेपाल सरकारमार्फत् ठूलो रकम सहयोग प्राप्त भएको छ। भूकम्पपछिको विद्यालय पुनर्निर्माणका लागि झन्डै ५० करोड सहयोग प्राप्त भएको छ। सोबापत अहिले नौवटा विभिन्न जिल्लामा विद्यालय निर्माण कार्य भएका छन्। हामीले तिरेको रकमभन्दा प्राप्त गर्ने रकम धेरै नै बढी छ।

पछिल्लो समयमा लायन्समा नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा निकै बढेको देखिन्छ, सामाजिक सेवाभावले लाग्ने यो संस्थामा यस्तो किन ?

जुनसुकै संस्थालाई अघि बढाउनका लागि नेतृत्वको आवश्यकता पर्दछ। हाम्रो संस्थामा स्वस्थ प्रतिस्पर्धाबाट प्रजातान्त्रिक ढंगले नेतृत्व चयन हुने गर्दछ। लायन्स क्लब यस्तो सामाजिक संस्था हो कि यसभित्र कुनै राजनीतिक, धार्मिक, जातीय लैंगिक, भेदभाव हुँदैन त्यसैले पनि नेतृत्व चयनमा स्वच्छ प्रतिष्पर्धा हुन्छ। संस्थाको विकास र विस्तारका लागि क्षमता भएको व्यक्तिलाई नै लायन्सले चुनेर नेतृत्वमा पठाउँछन्।

लायनवादमा पुरातनवादी सोच हावी छ, अवको जेनेरेसनमा यो तरिकाले चल्न सम्भव रहला ?

लायनवादमा विचार र धारणा अनि हामीले गर्ने सामाजिक कार्यमा समयानुकुल परिवर्तन हुँदै गइरहेका छन्। यसमा पुराना र नयाँ भन्ने कुनै गुन्जायस नै छैन। समयसापेक्षअनुरुप सूचना प्रविधिका कारणले पनि हाम्रो संस्थामा सकारात्मक परिवर्तन आएको छ। नयाँ र पुरानो विचारको समिश्रणबाट हामीले गर्ने सेवाका कार्यमा निखारता आएको छ।

शुद्ध सामाजिक सेवाभावले लायन्समा लागेकालाई वितृष्णा बढेको सुनिन्छ, के यो सत्य हो ?

विशुद्ध सामाजिक सेवाभावले लायनवादमा लागेकालाई त वितृष्णा हुन नपर्ने हो। तर कहिलेकाही लायन्सको भावनासँग कसैको विचार नमिल्दा मानवीय स्वभाव हो केही कुरा त बाहिर आइहाल्छन् नि। तर समग्रमा हेर्दा वितृष्णा बढेको छ भन्ने कुरा सत्य हैन।

डिस्ट्रिक्टमा महत्त्वपूर्ण पद लिनका लागि अग्रज लायनहरू लालयित धेरै देखिन्छन्, अवसर नयाँले मात्र पाएका छन् भन्ने सुनिन्छ, खासमा के हो ?

स्वाभाविक नै हो, लायनवादमा लाग्नेले सर्भिस, फेलोसिप र लिडरसिप तीनवटै कुरामा आफूलाई अब्बल बनाएको हुन्छ। यसकारण पनि नेतृत्वका लागि चाहना र इच्छा जो कोहीले पनि राख्न सक्छन्, मलाई लाग्छ प्रतिष्पर्धामा नै क्षमताको विकास हुन्छ। काम गर्ने चाहे त्यो पुरानो होस् या नयाँ, अवसर क्षमता हुने सबैले पाउँछन्।

लायन्स क्लबले सञ्चालन गरेका आँखा शिविर, स्वास्थ्य शिविर, स्वास्थ्य सम्बन्धी जनचेतना, दादुरा रुवेला सम्बन्धी खोप, डाईबेटिक अर्वानेस कार्यक्रम, विद्यालयका लागि भौतिक पुवार्धार निर्माण, छात्रवृत्ति प्रदान, पुस्तकालय स्थापना, पिस पोस्टर, वातावरण संरक्षरणका लागि वृक्षारोपण, प्राकृतिक प्रकोपबाट पीडितलाई राहत वितरणलगायतका मानव जीवनमा प्रत्यक्ष रूपमा समाजलाई प्रभाव पार्ने भूमिका खेलेको छ।

 

एक वर्षे कार्यकाल रहने यस संस्थामा पछिल्लो समयमा नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धाका साथै भोज भतेरमा ठूलो धनराशि खर्चेको देखिन्छ, के छ र यसमा ?

आफू संलग्न रहेको संस्थाको नेतृत्व लिएर काम गर्ने चाहना सबैमा हुन्छ। त्यो महत्वपूर्ण एक वर्षे कार्यकालमा संस्थाको हितका लागि पछिसम्म सम्झन योग्य काम गर्ने चाहना सबैमा हुन्छ र सोहीअनुरुप स्वच्छ प्रतिष्पर्धाबाट नेतृत्व चयन हुन्छ। भोजभतेर भन्ने अनावश्यक हल्ला मात्र हो।

लायन वर्ष २०१६⁄१७ कस्तो रह्यो, डिस्ट्रिक्ट ३२५ बी १ नेपाल र समग्रमा लायनवादमा भएका प्रगति के के हुन् ?

लायन वर्ष २०१६⁄१७ को मेरो कार्यकाल अविष्मरणीय रह्यो। विशेष गरी नयाँ क्लब स्थापनामा जोड दिने र नयाँ सदस्य महिला र युवा सदस्यलाई लायनवादमा आकर्षण गरी धेरैभन्दा धेरै वर्ग, क्षेत्र, लिङ्ग र विभिन्न उमेर समूहका व्यक्तिलाई आकर्षित गर्ने योजनाअनुरुप यी सबै कार्यमा सफलता हासिल भयो। रक्तदान, मेघा निःशुल्क स्वास्थ्य शिविर, लायन्सको आफ्नै गुठी नेपाल लायन्स फाउन्डेसनको कोष वृद्धिलगायतका कार्यलाई अघि सारेका थियौं। यी सबै कार्यमा हामीले ऐतिहासिक सफलता प्राप्त गरेका छौं।

तपाईंको कार्यकालमा भएका उल्लेख्य कार्य के–के थिए र डिस्ट्रिक्टलाई विश्वको नम्बर एक डिस्ट्रिक्ट बनाउन सफल हुनुभयो ?

मेरो कार्यकालमा विश्व लायनवादको १००औं वर्षको इतिहासमा हालसम्मकै सबैभन्दा बढी १०० वटा क्लब गठन गर्न सफल भयौं। यसै गरी विश्वका २ सय १० राष्ट्रमा फैलिएको संस्था अनि ७ सय ४० डिस्ट्रिक्टमध्ये हाम्रो डिस्ट्रिक्टले सदस्यता बृद्धिमा अहिलेसम्मको विश्व रेकर्ड राख्न सफल भएको छ। ३० हजारभन्दा बढी विभिन्न रोगका बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार पाएका छन। त्यसै गरी वाग्मती, अर्घाखाँची, गुल्मी क्षेत्रका लायन्सको संयुक्त आयोजनामा काठमाडौंको गोलढुंगामा १०० रोपनी जग्गामा एकै दिन ८ हजारभन्दा बढी विभिन्न जातका बिरुवा आरडीसी नेपालको सहकार्यमा रोपी लायन्स पार्क निमार्ण गरेका छौं । हामीले हाम्रो आफ्नै गुठी नेपाल लायन्स फाउन्डेसनको कोषमा १ करोड ३१ लाख रकम थप गर्न सफल भयौं।

अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मानित हुँदा कस्तो महसुस भएको छ ?

निश्चय पनि लायन्सको १००औं अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकाको सिकागो शहरमा भइरहँदा लायन्सका अन्तर्राष्ट्रिय प्रेसिडेन्टले मलाई विश्वको सर्वोकृष्ट डिस्ट्रिक्ट गभर्नर भनी पटकपटक सम्बोधन गरिरहँदा मैले आफूलाई अत्यन्तै गर्व महसुस गरें। विश्वभरका ३०औं हजार लायन्स उपस्थित भएको सम्मेलनमा अन्तर्राष्ट्रिय प्रेसिडेन्टबाट २⁄२ वटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुने अवसर प्राप्त गरें, जसले गर्दा विश्वका २ सय १० राष्ट्रका लायन्सका माझ नेपाल र नेपालीलाई चिनाउन सफल भएँ, यो नै महत्त्वपूर्ण उपलब्धिका रूपमा मैले लिएको छु। हाम्रो डिस्ट्रिक्ट सर्वोत्कृष्ट डिस्ट्रिक्ट हुन सफल भएपछि यो कसरी सम्भव भयो भनी मलाई सम्मेलनमा सहभागी रहनुभएका डिस्ट्रिक्ट गर्भनर र भाइस डिस्ट्रिक्ट गर्भनरहरूको सेमिनारमा वक्ताका रूपमा आमन्त्रण गरियो।

नारा नै बी वान, लायन्स डिस्ट्रिक्ट ३२५ बी १ लाई पनि विश्वमा बी वान बनाउन सफल हुनुभयो, कसरी सम्भव भयो ?

गएको दुई वर्ष पहिले देशमा आएको महाभूकम्पका कारण धेरै जनधन र राष्ट्रिय महत्वका धेरै संरचना क्षति भएको हुँदा तिनको पुनर्निर्माण तथा उचित व्यवस्थापनमा हामी सकृय रुपमा लागेका थियौं। मानवीय सेवाका कार्यमा अझ बढी उत्कृष्टता हासिल गर्न डिस्ट्रिक्ट ३२५ बी १ को लायन वर्ष २०१६⁄१७ को नारा नै बी वान तय गरेका थियौं। यस अभियानलाई विश्वमा नम्बर १ बनाउन हाम्रो डिस्ट्रिक्टका अग्रज लायन्स लिडरको सहयोग र साथ, मेरो क्याविनेट टिम लगायत सम्पूर्ण लायन सदस्यको योगदानका साथै टिम वर्कले नै सम्भव भयो । हामीले तय गरेको नारा बी वान विश्वमा नै बी वान बनाइ डिस्ट्रिक्ट ३२५ बी १ नेपाललाई विश्वको नम्वर एक डिस्ट्रिक्ट बनाउन सफल भयौं।

हाल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको मल्टिपल काउन्सिल चेयरपर्सन हुनुहुन्छ, भावी कार्यक्रम के ल्याउनुभएको छ ?

मल्टिपल काउन्सिल चेयरपर्सनको दायित्व नेपालमा रहेका ४ वटै डिस्ट्रिक्टलाई समन्वय गर्ने हुन्छ। विशेष गरी मल्टिपल डिस्ट्रिक्टअन्र्तगतको नेपालका लायन्सको सकृयतामा स्थापना गर्न लागिएको लायन्स ब्लड बैंक भवन निमार्ण कार्य छिट्टै थाल्ने, भूकम्पबाट क्षतबिक्षत भई पुनर्निमार्ण अन्र्तगत भईरहेका स्कुल निमार्णका कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्न बनेका समितिलाई सहयोग गर्ने, डिस्ट्रिक्टहरूमा चलिरहेका प्रोजेक्टलाई तडारुकताका साथ सम्पन्न गरी बढी प्रोजेक्ट ल्याउन डिस्ट्रिक्ट गर्भनरहरूलाई मोटिभेसन गर्ने, मल्टिपलअन्र्तगत अन्तर्राष्ट्रियबाट ल्याउन सकिने प्रोजेक्टहरूको पहल गर्ने लगायतका योजना मेरो कार्यकालमा रहनेछन्।

 

 

प्रतिक्रिया दिनुहोस्