लास्ट पेग



‘ओहो, बिरु के छ खबर ? धेरै पछि भेट भयो नि। कता हो हिजोआज ? सन्चै छ ?’ बीचसडकमा मलिनो अनुहार लिएर मन लागी–नलागी हिँडिरहेको बिरुलाई सन्तोषले सोध्यो।

‘ठिक्कै छ यार।’ बिरुले औपचारिकता मात्र पूरा गर्यो। ‘केही समस्या छ कि कसो ? अनुहारमा चमक नै देख्दिनँ। केही समस्या छ ? शेयर गर्न।’ सन्तोषले फेरि सोध्यो।

‘होइन, यसपालि सामान्य पैसाको पनि समस्या भयो। औषधि खाने पैसासमेत भएन। तँसँग भए २÷३ हजार दिइराख्न।’

बिरुको शब्द भुइँमा झर्न नपाउँदै सन्तोषले भन्यो, ‘ओहो सबै कुरा गर् यार, तर अहिले पैसाको चाहिँ कुरा नगर्। तँ पनि प्रब्लममा रैछस्, मेरो पनि हालत त्यस्तै छ। बरु जाऊँ, कतै बसेर माइन्ड फ्रेस गरौं।’ उसले बिरुको कुराको वास्तै नगरी अंगालो मारेर तान्यो र नजिकैको एक आलिसान रेस्टुराँमा छिर्यो।

‘भाइ, ह्वीस्की विथ आइस। अनि चिकेन चिल्ली, मटन ब्वाइल, ससेज फ्राइ, फिंगर चिप्स’, सन्तोषले सासै नफेरी मेनु हेर्दै बिरुतिर फर्केर एकैपटक धेरै आइटम अर्डर गर्यो। भन्यो– ‘भोक पनि लाग्या होला है। यसो गर भाइ, चिकेन चिल्ली, मम र मिक्स पिज्जा पनि लेऊ।’

खानपिन शुरु भयो, सन्तोषका केही अरु साथी पनि थपिए। टेबुलका प्लेट रित्तिँदै गए, उसले अर्डर थप्दै गयो। बिरु पनि पहिले बिस्तारै र पछि छिटो–छिटो पेग लगाउन थाल्यो।

रात छिप्पिँदै गयो। बिरुका साथ सन्तोष र उसका साथीहरु मातिन थाले। वेटरले बिल ल्यायो। नशाले लठ्ठ सन्तोषले पर्स निकाल्यो र १४ हजार चानचुन तिर्यो। ‘गुड सर्भिस’ भन्दै वेटरलाई ५ सय रुपियाँ टिप्स पनि दियो र बिरुतिर हेरेर लरबरिएको आवाजमा भन्यो, ‘सरी बिरु, तँलाई हेल्प गर्न सकिनँ। मसँग पनि हिजोआज पैसाको सर्टेज छ यार।’

अहिलेसम्म केही अर्डर नगरी मौन बसेर टेबुलमा आएका परिकार र ह्वीस्की पिइरहेको बिरुले अचानक लरबरिएर मुस्किलले बुझिने आवाजमा अर्डर गर्यो, ‘भाइ लास्ट अर्डर, वन मोर लार्ज पेग विथ आइस।’ सन्तोषले धाप मार्दै लरबरिएकै जिब्रोले थप्यो, ‘ली न यार ली। २÷४ पेग अरु लिए हुन्छ नि। त्यति त तेरो लागि गर्न सकिहाल्छु नि।’ बिरु एकैपटक सुरुप्प पारेर लर्खराउँदै जुरुक्क उठ्यो र केही नबोली हिँड्यो।

प्रतिक्रिया दिनुहोस्