रुसद्वारा सुदूरपूर्वी इलाकामा क्षेप्यास्त्र प्रतिरोध प्रणाली तैनाथ



मस्को, (एजेन्सी)
उत्तर कोरियामा जारी तनावलाई लिएर रुसले उत्तर कोरियासँगको सिमा नजिकै आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई उच्च सतर्कतामा राखेको छ।

क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट अन्तर महाद्विपीय ब्यालेस्टिक क्षेप्यास्त्र वा अन्य ब्यालेस्टिक क्षेप्यास्त्रको हमलालाई बीचमा नै ध्वस्त पार्ने गर्छ। रुसको संसद्ले माथिल्लो सदनका एक सदस्य भिक्टर ओजेरावले वायुसेना र हवाई क्षेत्र सुरक्षा बललाई सुदूर पूर्वी इलाकामा तैनाथ गरिएको बताए।

उनले भने– उत्तर कोरियालाई लिएर जे भइरहेको छ, त्यसलाई हेरिरहेका छौं र प्रक्षेपणको सम्भावित इलाकामा हाम्रो विशेष ध्यान रहेको छ। उत्तर कोरियाले बुधबार प्रशान्त महासागरस्थित अमेरिकी द्विप गआममा हमला गर्ने धम्की दिएका थिए। विगत दुई दिनदेखि दुबै देशबीच ब्यापक तनाव बढेको छ। दुबै देशको तर्फबाट उक्साउने खालका बयान आइरहेका छन्।

यसैबीच रुसको सरकारी समाचार एजेन्सी आरआईए नोवोस्टीले भिक्टर ओजेरावलाई उद्धृृत गर्दै रुसको सुदूर पूर्वी क्षेत्रमा उच्च सतर्कताको घोषणा गरेको जनाएको छ। विद्यमान तनावलाई लिएर रुसले अमेरिकासँग उत्तर कोरियामाथि हमला नगर्न भनेको छ। ‘उत्तर कोरियालाई खतरनाक कारवाही गर्न भड्काउन सक्ने कुनै पनि त्यस्तो कदम अमेरिका चाल्ने छैन भन्ने रुसले अपेक्षा गरेको छ’ रुसको सरकारी सञ्चार माध्यम तासले जनाएको छ।
चीनको चेतावनी

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले यदि अमेरिकाविरुद्ध उत्तर कोरियाले हमला गर्छ भने चीन तटस्थ हुनु पर्ने तर अमेरिका र दक्षिण कोरियाले सत्ता परिवर्तनको उद्देश्यले उत्तर कोरियामाथि हमला गर्छ भने चीन चुप लागेर बस्न नहुने उल्लेख गरेको छ।

चीनले यो हमलालाई रोक्नका लागि हस्तक्षेप गर्नुपर्ने सरकारी अखबारले जनाएको छ। ग्लोबल टाइम्स चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुख पत्र हो।

प्रतिक्रिया दिनुहोस्