शेयरमा गिरावट



 

नेपाल समाचारपत्र
काठमाडौं
बिहीबार नेप्से परिसूचकमा ८ दशमलव १९ अंकको गिरावट आएको छ। बुधबार ६ दशमलव २२ अंकले घटेको शेयर बजारमा साताको अन्तिम दिन पनि करेक्सन देखिएको हो।

हिजो १ हजार ६ सय ६१ दशमलव ७२ अंकबाट शुरु भएको बजार १ हजार ६ सय ५३ दशमलव ५३ को बिन्दुमा कारोबार बन्द भएको हो।

बजार परिसूचक घट्नुमा हिजो कारोबारमा आएका ८ मध्ये ६ समूहमा आएको गिरावट प्रमुख कारण बन्यो। हिजो कारोबारमा आएका वित्त र उत्पादनमूलक समूहबाहेक अरु समूहमा सुधार आएनन्। त्यस्तै परिसूचकमा गिरावट आउँदा हिजो कारोबार रकममा भने सुधार आएको छ। अघिल्लो दिन ९१ करोड ६२ लाख रुपियाँ बराबरको शेयर किनबेच भएको बजारमा हिजो भने ९२ करोड ७९ लाख ३० हजार २ सय ३९ रुपियाँको शेयर किनबेच भए। यसक्रममा ७ हजार ९ सय ७५ कारोबारमार्फत १ सय ६१ कम्पनीका २० लाख १० हजार ४ सय ७७ कित्ता शेयर किनबेच भए।

हिजो बीमा समूहको परिसूचक सर्वाधिक १६ दशमलव ७५ अंकले घट्यो। त्यस्तै विकास बैंक १२ दशमलव ३६, बैंक समूह ९ दशमलव ९१ र होटल समूहमा ४ दशमलव ४६ अंकको गिरावट आए। जलविद्युत् र अन्य समूह पनि क्रमशः २ दशकलव ३७, ३ दशमलव ७६ अंकले घटे।

हिजो फाइनान्स समूह १ दशमलव ११ र उत्पादमूलक समूह १२ दशमलव ३४ अंकले उकासिए।
हिजो सबैभन्दा बढी खरिद बिक्री नागरिक लगानी कोषको शेयर भएको छ। कोषले घोषणा गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिनमा बजारमा लगानीकर्ताको आकर्षण देखिएको हो। सो क्रममा कोषको कुल ६ करोड ६४ लाख ३२ हजार रुपियाँ बराबरको शेयर किनबेच भयो। कोषले २१ दशमलव ८५ प्रतिशत बोनस शेयर दिएको थियो। कारोबार रकमका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ करोड ६० लाख रुपियाँ र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८९ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको हो।
हिजो प्रोग्रेसिप फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। हिजो सो कम्पनीमा लगानीकर्ताले ९ दशमलव ७५ प्रतिशत कमाउँदा कुवेर मर्चेण्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ दलशमलव ७८ प्रतिशत शेयर मूल्य गुमाए। यो कम्पनीमा शेयरमा प्रतिशेयर २३ रुपियाँको गिरावट आएको छ।
हिजो ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ९४ अंकले घटेर ३ सय ४७ दशमलव शून्य ३ अंकमा आइपुगेको छ।

प्रतिक्रिया दिनुहोस्