स्वाइनफ्लुको रोकथाममा तदारुकता देखाऊ



 

अहिले मुलुकको जताततै स्वाइनफ्लुको संक्रमण फैलिएको छ । राजधानी उपत्यकासहित पाल्पा, स्याङ्जा, पोखरा, बुटवल, झापालगायतका जिल्लामा स्वाइनफ्लुको समस्या बढ्दै गएको छ । खोकी लाग्ने, घाँटी दुख्ने, वाकवाकी लाग्ने यो रोगका लक्षण भए पनि सामान्य ठानेर बेवास्ता गर्दा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । व्यवस्थापिका संसद्को बुधबारको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वाइनफ्लुका कारण हालसम्म ३८१ बिरामी देखा परेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिनुभएको समाचार छ । पहिचान हुन नसकेका बिरामी अझ धेरै हुन सक्छन् । त्यसैले यस रोगको रोकथामका लागि सरकारले कुनै कसरत बाँकी नराखी पहल गरिहाल्नुपर्छ ।
केही दिनअघि मात्र स्याङ्जा जिल्लाका खुमप्रसाद अर्यालसहित ४ जनाको स्वाइनफ्लुका कारण मृत्यु भएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ । स्याङ्जाको वालिङमा २० जनाको घाँटीको र्याल परीक्षण गर्दा ५ जनामा सिजनल इन्फ्लुएन्जाको भाइरस भेटिएको छ । परीक्षणमा यस्तो खालको नतिजा भेटिएका कारण स्याङ्जाको भिरकोट नगरपालिका तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै विद्यालयसमेत बन्द गरिएको समाचार छ । यस्तै गतहप्ता स्वाइनफ्लुकै कारण लुम्बिनी मेडिकल कलेजमा भर्ना भएका पाल्पाका मानबहादुर चिदीको काठमाडौंको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएभएपछि पाल्पा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । त्यस्तै, रुखाखोकी तथा श्वासप्रश्वाससम्बन्धी बिरामी भई भर्ना भएका ७ जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ । पोखरामा पनि स्वाइनफ्लुका कारण ३ जनाको मृत्यु भइसकेको समाचार छ । यसै गरी रूपन्देही जिल्लामा २ जना स्वाइनफ्लुका बिरामी फेला परेकामा एकजनाको मृत्यु भएको र एकजनाको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारपछि निको भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यसबाहेक प्रकाशमा नआएका बिरामीहरु पनि धेरै हुन सक्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक स्वाइनफ्लु नेपालमा पनि भित्रिन सक्ने खतरा बढ्दै गएकोले सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभएको छ । सबै जिल्लामा स्वाइनफ्लुको परीक्षण गर्ने प्रविधि नभएकाले भाइरल ज्वरो आएकाहरूलाई स्वाइनफ्लु नै भएको भनी प्रमाणित गर्न नमिल्ने हुँदा यसका बिरामी अधिक हुन सक्छन् । त्यसैले सरकारले सबै जिल्लामा स्वाइनफ्लुको परीक्षण गर्ने प्रविधि, उपकरण एवं प्राविधिकहरु उपलब्ध गराउनुपर्ने देखिन्छ । स्वाइनफ्लुले महामारीको रुप नलिँदै रोकथामका लागि सरकार र सम्बद्ध निकायहरु लागिहाल्नुपर्छ । स्वाइनफ्लुसम्बन्धी सचेतना जगाउन र यसका बिरामीको समयमै पहिचान गरी उपचार गराउन ढिलाइ नहोस् ।

प्रतिक्रिया दिनुहोस्