शिक्षकको देन र नेताको रुखो बोली



 

शिक्षकलाई देश विकासको दरिलो खम्बाको रुपमा लिइन्छ। विश्वको कुरा गर्ने हो भने शिक्षक शब्द लगनशील, इमानदारी र बफादारी पेसाको रुपमा चिनिदै आएको छ। नेपालमा भने शिक्षकलाई तल्लो स्तरबाट हेरिन्छ। यस्तो नजरले हेर्ने व्यक्तिहरुले यो बिर्सेछन् कि यिनीहरु त्यो ठाउँमा कसरी पुगे ? यो भूल हुनु नै हाम्रा नेताहरुको लाचारीपन हो। शिक्षक देश्को तागत हो भन्नुपर्ने ठाउँमा शिक्षक कोही होइनन्, आकाशबाट झरेका असिना हुन्, बिलाएर जान्छन् भन्ने सोच राख्नु कतिसम्म ठीक होला ?

नेपालमा शिक्षकको अवस्था के छ भन्ने कुरा थाहा हुँदाहुँदै यसरी सार्वजनिक स्थलबाट नै नराम्रा अभिव्यक्ति दिँदा शिक्षकको भविष्य के होला ? अझै पनि हाम्रा सामु बीसौं वर्ष विनास्वार्थ काम गरिरहनुभएका शिक्षक हुनुहुन्छ। हिजो के थियो र आज के भैरहेको छ भन्ने ख्याल नहुनु महासयहरुको ठूलो गल्ती हो। अझै पनि शिक्षकको सहायताविना राजनीति असम्भव छ। शिक्षक जन्मेदेखि नै तपाईंहरुले उनीहरुमाथि रावनीतिक गर्नुभो अनि राजनीति गर्न सिकाउनुभो। त्यसैको वरिपरि धेरै थरीका संगठन, संघ खोलिन पुगे। आज तपाईं त्यसैलाई खारेज गर भन्नुहुन्छ। यो पाठ सिकाउने तपाईंहरु नै हो। तपाईंहरु ‘ताक परे तिवारी नत्र गोतामे’ चरित्र नदेखाउनुहोला।

तपाईंहरुले नै धेरै थरीका शिक्षक खडा गर्नुभो– कोही स्थायी, कोही अस्थायी, कोही राहत, कोही पीसीएफ, कोही बालशिक्षक आदि। समस्या आफैं ल्याउने अनि समस्या भयो भनेर जे मन लाग्छ त्यही बोल्ने। आज एकथरी शिक्षक सडकमा छन्, जो बीसौं, तिसौं वर्षसम्म विद्यालयमा काम गरिरहेका छन्। तपाईंहरुजस्ता व्यक्ति कक्षा १० मा पढ्दा पनि ऊ आन्दोलनमा जान्थ्यो, आज तपाईं देशको प्रधानमन्त्री अनि मन्त्री बनिसक्दा पनि आन्दोलनमा गैरहेको छ। यहाँ तपाईंहरुजस्ता नेता र दक्ष जनशक्ति लाखौं उत्पादन गरिसकेको छ। यहाँ पेसा हितका लागि धेरै संघ–संगठन खडा भैसकेका छन्, उही शिक्षकहरुको नेतृत्वमा। तर शिक्षकको हितको लागि आज खोई को बोलिरहेको छ ? तपाईंहरु शिक्षकका समस्याबारे बोलिदिनुस्। सत्य कुरा गरिदिनुस्। यदि यसरी नै शिक्षक विपरीत बोल्दै हिड्नुभो भने र सबै शिक्षक सडकमा उत्रिए भने संहाल्न गाह्रो पर्ला नेताज्यू।

– कपिलमनि डाँगी

श्री जनचेतना मा.वि., सस्र्युखर्क–१, काभ्रे

शेयर बजार सुध्रेला कि ?

बेयर बजार कहिले सुध्रने होला खै ? सधैँ उकालो–ओरालोको टुंगो नहुने नेपालको शेयर बजार स्थिर भएको पाइँदैन। हुन त यो स्थिर हुने कुरा हैन तर पनि उतारचढाव धेरै हुने गरेको छ। नेपालको शेयर बजारको सुधारमा नियामक निकाय नै अवरोध बनेको काण यो समस्या आएको हो। शेयर बजारको सुधारका लागि थुप्रै नीति र योजनाहरू बनेका छन् तर कार्यान्वयन र ती नीति नियमका आधारमा अगाडि बढ्ने कुराचाहिँ भएको पाइँदैन। तिनलाई कार्यान्वयन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड हो। त्यो कछुवाको तालमा छ। निकै सुस्त गतिमा अघि बढेको छ धितोपत्र बोर्ड।

नेपालको धितोपत्र बजारलाई आधुनिकीकरण गर्न गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा प्रवेश गराउने भनिए पनि त्यसअनुसारको काम अघि बढेको पाइएको छैन। बजेट वक्तव्यमा समेत उल्लेख भएको कुरालाई व्यवहारमा लागू गराउन बोर्ड उदासीन छ। सुस्तगतिमा काम गरिरहेको देखिन्छ।

त्यसै गरी विश्वबजारमा आएका नवीनतम प्रविधिलाई उपयोग गर्नु आवश्यक छ। अनलाइन कारोबार प्रणालीका लागि केही वर्षअघिदेखि कुरा उठेको हो तर नेप्सेको सफ्टवेयरसमेत सुधार हुन सकेको छैन। बेला–बेलामा हिसाबकिताब नै गोलमाल गर्ने प्रणाली कायम राख्ने हो भने बजारको सुधार र आधुनिकीकरण असम्भव छ। सूचना प्रविधिको युगमा यतिसम्म गर्न नसक्नाले निकै समस्या सिर्जना हुने गरेको छ। यस्तोमा बजार ओरालो लाग्ने सम्भावना अझै बढी हुन्छ।

धितोपत्र बोर्डले अनलाइन कारोबार प्रणाली ल्याउन नेप्सेलाई निर्देशन दिएको लामो समय भइसकेको छ, तैपनि यसको व्यवस्थितरुपमा कार्यान्वयन हुन सकेको छैन। यसमा बोर्डले कडा निर्णय लिनु आवश्यक छ। अनलाइन कारोबार प्रणाली भएमा लगानीकर्ताले दैनिक रूपमा शेयर दलालको कार्यालयमा धाइरहनुपर्दैन। शेयर किनबेच गर्न सजिलो हुन्छ। देशको जुनसुकै भागबाट पनि ल्यापटप वा मोबाइलको सहायताले शेयर बजारमा दैनिक कारोबारमा सहभागी हुन सक्छन्।

वाणिज्य बैंकहरूलाई शेयर दलाल लाइसेन्स दिने कुरा पनि लागू हुन सकेको छैन। शेयर दलाल कम्पनीहरू देशका सबै भागमा पुग्न सक्दैनन् तर बैंकहरूको सञ्जाल देशभरि फैलिएको छ। बैंकहरूलाई शेयर दलालीको काम गन दिने हो भने देशभरि काम गर्न सम्भव हुन्छ।

वाणिज्य बैंकले शेयर दलालको लाइसेन्स पाएमा काम शुरु गर्न उनीहरू तयार देखिन्छन्। वाणिज्य बैंकलाई मात्र होइन, पर्याप्त पुँजी र पूर्वाधार भएका विकास बैंकलाई पनि शेयर दलालको लाइसेन्स दिनुपर्छ। यो भएमा सर्वसाधारणलाई राहत हुनेछ।

नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई दोस्रो बजारमा बजार निर्माताका रूपमा भित्र्याउने घोषणालाई व्यवहारमा उतार्न अब ढिला गर्नुहुँदैन। यो व्यवस्थाको थालनी गर्न ढिला गरेमा शेयर बजारमा झन् समस्या सिर्जना हुनेछ। यो विषयमा सम्बन्धित निकायले बेलैमा सोच्न जरुरी छ। शेयर बजारमा सूचना प्रविधिको पनि त्यत्तिकै आबश्यकता र महत्व रहन्छ। सूचना प्रविधिलाई उच्च महत्वका साथ प्रयोग गरी शेयर बजारको कारोबार सुधार्न सरकारी क्षेत्रबाट पहलकदमी चालिनु जरुरी छ। त्यसै गरी शेयर दलालहरूलाई पनि पचहत्तरै जिल्लामा परिचालन गर्नुपर्छ।

अहिले सञ्चालनमा रहेका दलाल कम्पनीहरूको सीप र अनुभवलाई उपयोग गर्नुपर्छ। यी सबै काम गर्न निकै ढिला भइसकेको छ। दैनिक कारोबार ३ अर्बमा उक्लिसकेको शेयर बजार अहिले ४० करोडमा झर्नु साँच्चिकै समस्या हो। त्यसैले यसको सुधारका लागि नियामक निकायले तत्काल साहसिक कदम चालोस्। हामी सबैलाई सुविधा र राहत हुने गरी शेयर बजार सञ्चालन गर्नु जरुरी छ। विश्वबजारको शेयरसँग हामी सूचना प्रविधिले कमी हुनुहुँदैन।
– दयाराम दाहाल, जाजरकोट

प्रतिक्रिया दिनुहोस्