छाडावस्तु व्यवस्थापनमा समस्या



 

राष्ट्रिय जनावर ‘गाई’लाई दुध दिउन्जेल हामी जति सम्मान गर्ने गर्छौं बूढो भएपछि यसको व्यवस्थापनमा ध्यान पुर्याउने गर्दैनौं । हिन्दु धर्मावलम्बीहरुको विशेष महत्व बोकेको गाईलाई कृषकहरुले दुध दिउन्जेलसम्म पाल्ने र त्यसपछि छोडिदिने गर्नाले समस्या निम्तिरहेको छ । गाई मात्र हैन, बाछाबाछीसमेत पाल्न हिच्किचाउने गरेको देखिन्छ । यो समस्या शहरबजार र यसको छेउछाउमा बढ्दो छ । गाईको बाच्छो (बहर) लाई त किसानले उल्टो केही रकम दिएर अन्यत्र पठाउने गरेका छन् । पाल्नको लागि भनेर प्रतिबहर ५ सयदेखि १ हजार रुप्रयाँ लिएर लैजाने अनि अर्को गाउँ तथा शहरबजारनजिकै पुर्याएर छोडिदिने गरेको पाइन्छ । यसैले पनि सडकमा गाईका बाछाबाछी यत्रतत्र नै देखिन्छ । तराई र हिमाली क्षेत्रमा भन्दा काठमाडौं उपत्यकालगायत यसको आसपासका पहाडी क्षेत्रमा पनि यो समस्या छ ।

बाछी भएमा धेरैजसोले पाल्ने भए पनि बाछो भए १० महिना पनि नपाली हटाउने गरेका छन् । पहिला–पहिला ग्रामीण भेगमा खेतबारी जोत्न गोरुको प्रयोग हुने भए पनि अहिले बिस्तारै यसको विकल्पमा ट्याक्टर प्रयोग हुँदा गोरुको उपयोग हट्दै गएको छ । बीउको लागि एउटा गाउँमा एक–दुईवटा गोरु पालिनु स्वाभाविक नै हो । तर अधिकांशले गोरु पाल्न छोडिसके । दुध उत्पादनका लागि पालिएका गाईहरुबाट बर्सेनि जन्मने बाछाको व्यवस्थापनमा ठूलो समस्या देखिएको छ । उत्पादनमूलक काममा प्रयोग नहुने वस्तुलाई पालेर के काम भन्दै किसानहरु छिटोभन्दा छिटो पन्छाउन चाहन्छन् । किसानको चाहना बुझेर केही मानिसले गाउँभरिका बाछा संकलन गरी सडक, शहर तथा सार्वजनिक स्थानमा छोडिदिने गरेका छन् । सडकमा छोडिएको गाईवस्तुले यातायात सञ्चालनमा समेत असर पुगेको देखिन्छ । कतिपय ठाउँमा त छाडा चौपाया मरेर अलपत्र पर्नाले जनस्वास्थ्यमा समेत गम्भीर असर पुगिरहेको हुन्छ ।

गाईको सवालमा किसानले बढीमा ८–२० बेत ब्याउने बेलासम्म मात्र पाल्ने गर्छन् । गाई बूढो भएपछि र दुध दिन छोडेपछि उनीहरु पन्छाइहाल्छन् । किसानले गाई घरमै मरेमा समस्या हुन्छ भनी जोखिम मोल्न चाहँदैनन् । दुधालु गाईको बिमा हुने भए पनि बूढो र दुध थाकेको गाईको बिमा हुँदैन । मलकै लागि भनेर किसानले बूढो र थाकेको गाई पाल्ने गरेका छैनन् । बाछाजस्तै गाईलाई पनि बूढो भएपछि केही रकम दिएर घरबाट पठाइदिन्छन् । रकम लिनेले अलि टाढा सडक तथा सार्वजनिक स्थानमा ल्याई छोडेर जान्छन् । बिरामी, कमजोर र बूढा गाई मरेपछि यसको व्यवस्थापनमा समस्या आइरहेको छ ।

ठूलो समस्या बन्दै गएको छाडा गाईवस्तु र यसको व्यवस्थापनबारे राज्यलगायत कुनै पनि निकाएको ध्यान जान सकेको देखिँदैन । त्यसैले यसको व्यवस्थापनका लागि सम्बन्धित निकायले नीति–नियम बनाउन आवश्यक छ । अझ स्थानीय तहले यस विषयलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्