चुनावमा हारेका मैदान बनाउँदै



 

धन बस्नेत, पोखरा

चुनावमा धेरैले आश्वासन बाँड्छन्। जित र हारको नजिता भने पछि हुन्छ। जितेका व्यक्तिले पनि आफ्नो आश्वासन र प्रतिबद्धता पूरा गर्दैनन्। तर हारेका उम्मेदवारले भने सामाजिक काम गरेर उदाहरण प्रस्तुत गरेका छन्।

गत वैशाख ३१ गते स्थानीय निकायको चुनाव सम्पन्न भयो। चुनावमा पोखरा लेखनाथ महानगरपालिका–२६ मा वडाध्यक्षमा उठेका थिए मुरारी शर्मा। उनीसँगै सदस्यमा चुनावी मैदानमा थिए नरेन्द्र थापा। दुवै चुनावी प्रतिस्पर्धामा पराजित हुन पुगे। तर सामाजिक काम गर्न पराजयले निराश बनाएन।

हारपछि सबै निराश हुन्छन्। तर शर्मा र थापाद्वय भने सामाजिक काममा खरो उत्रिएका छन्। यसको पछिल्लो उदाहरण हो खेल मैदान निर्माण। आफ्नै लगानीमा दुवै जना सेभेन ए साइड खेल्न योग्य मैदान निर्माणमा जुटेका छन्। ‘गाउँलाई सहयोग गर्ने दायित्व हो। जित र हार जे भए पनि काम गर्यौं’, लगानीकर्ता थापाले भने– ‘जलधारेमा पनि फुटबल मैदान बनाउने अभियानमा छौं।’

डाँडाको सानो हिस्सालाई खारेर मैदान निर्माण शुरू गरिएको छ। गाउँका युवाहरूलाई खेलप्रति प्रोत्साहित गर्न मैदान बनाउने कामलाई अघि सारिएको उनले बताए। ‘दशैंसम्म मैदानलाई खेल्न योग्य बनाइसक्छौं’, उनले भने– ‘अहिले वर्षा भएकाले काम गर्न कठिनाइ भइरहेको छ।’ उनका अनुसार डेढलाखको लागतमा मैदान निर्माण पूरा हुने अपेक्षा गरिएको छ। चौतारी युवा क्लबका अध्यक्ष सुमन तिमिल्सेनाका अनुसार सामान्य चौरलाई व्यवस्थित खेल मैदानमा परिणत गरिएको छ। उक्त चौरमा अब भलिबल र फुटबल खेल्न सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्