चीन विश्वकै सबैभन्दा धेरै आशावादी मुलुकः सर्वेक्षण



 

न्युयोर्क, (एजेन्सी)
एक ताजा सर्वेक्षणले भविष्यलाई लिएर चीन विश्वकै आशावादी मुलुक भएको देखाएको छ। सर्वेक्षणमा ८७ प्रतिशत नागरिक तिनीहरूको देश सही दिशामा रहेको विश्वास गर्छन्।

इप्सोस पब्लिक अफियर्सले २७ वटा मुलुकमा गरेको उक्त सर्वेक्षणमा ५० प्रतिशतभन्दा धेरैले तिनीहरूको देश सही दिशामा रहेको सकारात्मक धारणा दिने ७ वटामध्येको एक चीन पनि परेको जनाएको छ।

चीनलाई पछ्याउँदै भारत ७४ प्रतिशत जनताको विश्वास जित्न सफल रहेको सर्वेक्षणले देखाएको छ। त्यसै गरी साउदी अरेबियामा ७१ प्रतिशत, दक्षिण कोरियामा ६६ प्रतिशत, क्यानाडामा ५८ प्रतिशत, रुसमा ५७ प्रतिशत र सर्बियामा ५१ प्रतिशत जनताले देशको स्थितिप्रति विश्वास व्यक्त गरेका छन्।
यो सर्वेक्षणमा पुछारमा रहेको मेक्सिकोमा मात्र ८ प्रतिशत जनताले मात्र तिनीहरूको देश सही दिशामा रहेको विश्वास गरेका छन्। सर्वेक्षणमा अमेरिकाको स्थान १०औं स्थानमा परेको छ भने त्यहाँ ४३ प्रतिशत जनताले मात्र सकारात्मक धारणा दिएका छन्। तर, अमेरिकीको स्थान जर्मन र इजरायलीको भन्दा केही राम्रो देखिन्छ। जर्मनीमा ४२ प्रतिशत र इजरायलमा ४१ प्रतिशत जनता मात्र देशको स्थितिलाई सकारात्मक देखिएका छन्।

सबैलाई समग्रमा हेर्ने हो भने विश्वका जनता धेरै आशावादी देखिएका छैनन्। विश्व जनसंख्याको ४० प्रतिशत तिनीहरूको देशप्रतिको धारणाप्रति सकारात्मक धारणा राख्छन्।

थुप्रै युरोपेली देशहरू फ्रान्स ३५ प्रतिशत, स्विडेन ३२ प्रतिशत र बेलायत २८ प्रतिशत जनता मात्र उनीहरूको देशको स्थितिप्रति आशावादी देखिएका छन्। ती सबैको आशावादीको स्थित ५० प्रतिशतभन्दा कम रहेको छ।

चिन्ताको प्रमुख कारण आर्थिक स्थितिमा आधारित छ। पहिलो ३ वटा प्रमुख चिन्ता भनेको बेरोजगारी, वित्तीय तथा राजनीतिक भ्रष्टाचार र गरिबी तथा सामाजिक असमानता हुन्। अपराध र स्वास्थ्य उपचार चिन्ताको चौथो र पाँचौं स्थानमा परेका छन्।

केही देशको मामिलामा भने चिन्ताको विषयमा धेरै भिन्नता देखिएको छ। बहुसंख्यक हंगेरियन, ७० प्रतिशतले स्वास्थ्य उपचारमा पहुँच उनीहरूको सबैभन्दा प्रमुख चिन्ता भएको बताएका छन्। त्यसै गरी ६७ प्रतिशत मेक्सिकनले अपराध र हिंसा उनीहरूको सबैभन्दा चिन्ताको विषय बनेको बताएका छन्।

त्यसै गरी दक्षिण कोरिया र स्पेनमा जनसंख्याको ६० प्रतिशतभन्दा धेरैले बेरोजगारीलाई सबैभन्दा ठूलो चिन्ता बताएका छन्। आफ्नो देशको भविष्यलाई लिएर सबैभन्दा धेरै आशावादी भएको देश चीनमा नैतिकतामा आइरहेको गिरावटप्रति पनि सबैभन्दा धेरै चिन्तित देखिएका छन्। ४७ प्रतिशत चिनियाँले नैतिक गिरावटप्रति चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्