१ अर्बभन्दा बढीको शेयर कारोबार



 

काठमाडौं, (नेस)
साताको पहिलो दिन शेयर बजार ४ दशमलव ४७ अंकले बढेको छ। अघिल्लो साता १४ अंकले बढेको बजारले आइतबार पनि निरन्तरता पाएको हो।
आइतबार १ हजार ६ सय ६० दशमलव ५८ अंकबाट शुरु भएको कारोबार १ हजार ६ सय ६५ दशमलव शून्य ५ अंकमा पुगेको हो। यसक्रममा बजारमा १ अर्बमाथि कारोबार हुनेक्रमले निरन्तरता पाउँदा एकैदिन ३३ लाख कित्ताभन्दा बढी कित्ता शेयर किनबेच भए।

आइतबार बजारमा १ अर्ब २ करोड ७४ लाख ८३ हजार ४ सय ३३ रुपियाँको कारोबार भयो। सो क्रममा १ सय ५९ कम्पनीका ३३ लाख १८ हजार १ सय १२ कित्ता शेयर किन–बेच भएका थिए। कारोबार रकम गत साताको अन्तिम दिनको तुलनामा १ करोड रुपियाँ कम हो।

बजार परिसूचक बढ्नुमा आइतबार बैंकिङ, उत्पादनमूलक र अन्य समूहको योगदान रह्यो। बढ्नेमा उत्पादनमूलक समूह सबैभन्दा धेरै १७ दशमलव ६९ अंकले बढ्यो। त्यस्तै बैंकिङ र अन्य समूहमा क्रमशः ११ दशमलव शून्य ९ र ५ दशमलव ७९ अंकको सुधार आए।

हिजो बाँकी ५ समूहका परिसूचकमा रातो रङ पोतिए। तीमध्ये बीमा समूह सर्वाधिक ५० दशमलव २७ अंकले ओरालो लाग्यो। चुक्ता पुँजी वृद्धि गर्ने योजना बीमा समितिमा पेस गरेसँगै बढेको बीमा समूहको परिसूचक विगत केही दिनयता थोकेको देखिन्छ। त्यस्तै होटल समूह ३४ दशमलव १९ र विकास बैंक ३ दशमलव १३ अंकले घटे। जलविद्युत् र फाइनान्स समूहमा क्रमशः १६ दशमलव ३३ र ६ दशमलव ९३ अंकको करेक्सन देखिए।

आइतबार बैंकिङ क्षेत्रमा उल्लेख्य सुधार आएको देखिएको छ। सूचकसँगै कारोबार रकममा पनि बैंकिङ क्षेत्रले नै अग्रता लिएको छ। बैंकहरूले गत आवको वार्षिक प्रतिवेदन सार्वजनिक गर्न जारी राख्दा लगानीकर्ता राम्रो लाभांश दिने कम्पनीतर्फ लगानी आकर्षित भएका हुन्। आइतबार बैंकिङ क्षेत्रको मात्र ३५ करोड रुपियाँभन्दा बढीको कारोबार भयो।

आइतबार सबैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनीको ५ लाख ६८ हजार कित्ता शेयर ८ करोड ४४ लाख ४० हजार ८३ रुपियाँ बराबरका शेयर खरिद–बिक्री भए। १ सय ४५ रुपियाँ प्रतिकित्ताबाट कारोबारको शुरुआत गरेको कम्पनीको मूल्य १ सय ५६ रुपियाँसम्म उक्लिएको थियो।

आइतबार ललितपुर फाइनान्सका शेयरधनीले सबैभन्दा बढी ९ दशमलव ६३ प्रतिशत कमाए। त्यसै गरी ९ दशमलव ८ प्रतिशत शेयर मूल्य गुमाउँदै गण्डकी विकासका लगानीकर्ताले सर्वाधिक गुमाए।

प्रतिक्रिया दिनुहोस्