आर्सेनलले जित्यो कम्युनिटी सिल्ड



 

लन्डन, (एजेन्सी)
एफए कम्युनिटी सिल्डअन्तर्गत वेम्बलीमा भएको उपाधि भिडन्तमा आर्सेनलले बाजी मारेको छ।

प्रतियोगिताअन्तर्गत आइतबार भएको उक्त खेलमा गत सिजनको एफए कप च्याम्पियन आर्सेनलले वर्तमान इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै एफए कम्युनिटी सिल्डको उपाधि जितेको हो। वेम्बली रंगशालामा भएको सो खेलमा आर्सेनलले चेल्सीलाई टाइब्रेकरमा ४–१ ले पराजित गरेको हो।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि विजेताको टुंगो टाइब्रेकरमार्फत भएको थियो। नयाँ पद्दतिअनुसार गराइएको टाइब्रेकरमा आर्सेनलले बाजी मार्यो। आर्सेनलका लागि ठियो वाल्कोट, नाचो मोनरिआल, एलेक्स अक्सलेड चेम्बरलिन र ओलिभिएर गिरौडले गोल गरेका थिए। यता चेल्सीका गेरी काहिलले मात्र गोल गरे। गोलरक्षक थिबाउ कोर्टुआ र अल्भारो मोराटाले आ–आफ्नो प्रहार खेर फालेपछि चेल्सीले हारलाई टार्न सकेनन्।

त्यसअघि चेल्सीका लागि भिक्टर मोसेसले खेलको ४६औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। आर्सेनलका ग्रानिट झाकाले राम्रोसँग क्लिएर गर्न नसकेको बललाई मोसेसले जाली चुमाएका थिए। तर खेलको ८०औं मिनेटमा चेल्सी दस खेलाडीमा खुम्चिए।

पेड्रोरोड्रीग्वेजले आर्सेनलका मोहमद एल्नेनीलाई डरलाग्दो ट्याकल हानेपछि रेफ्रीले पेड्रोलाई रातो कार्ड देखाएका थिए। प्रमुख खेलाडीद्वय एलेक्सिस सान्चेज र मेसुट ओजिललाई नखेलाएको आर्सेनलले त्यसको दुई मिनेटपछि नै फाइदा लिन सफल भयो। खेलको ८२औं मिनेटमा चेल्सीले बराबरी गोल बहोर्यो। वैकल्पिक खेलाडी सिआड कोलासिनाचले आर्सेनलका लागि फ्रि–किकबाट उपलब्ध बललाई हेडमार्फत गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्