काठमाडौंलाई सजिलै भियना बनाउन सकिन्छः प्रभु श्रेष्ठ



नवनिर्वाचित मेयरहरूका लागि रामवाण सुझावु

अस्ट्रियाको राजधानी भियनामा बसेर पनि चौबीसै घन्टा नेपालको राजधानी काठमाडौंबारे चिन्ता लिइरहने एक युवाको नाम हो प्रभु श्रेष्ठ। उनी नेपाल छोडेर अस्ट्रियामा स्थायी बसोबास गरी बसेको पनि २५ वर्ष नाघिसकेको छ। तर, उनीसँगको कुराकानी र उनले आफ्नो फेसबुकमा हाल्ने स्टाटस हेर्दा उनी विदेशमा बसिरहेका नेपाली हुन् भन्ने अनुभूति नै हुँदैन कहिल्यै। खाली काठमाडौंकै संस्कृति, स्वास्थ्य, सरसफाइ, वातावरण र विकासकै बारेमा कुराहरू लेखिएका हुन्छन् उनको फेसबुक स्टाटसमा। फोटोग्राफीका सौखिन उनी आफ्नो कर्मभूमि भियनाका सुन्दर तस्वीरहरूभन्दा आफ्नो फेसबुकमा जन्मभूमि काठमाडौंकै प्राकृतिक सुन्दरताले भरिएका दृश्य र राजधानीमा देखिने विकृतिहरूका तस्वीर अपलोड गर्नमै व्यस्त भइरहेका हुन्छन्।

एनआरएन अस्ट्रियाका संस्थापक कार्यकारी सदस्य उनले हालै मात्र अर्थात् यही साउन १० गते राजधानीमा बनेका अनियन्त्रित जंगलजस्ता देखिने घरहरूका तस्वीरसहित यस्तो स्टाटस लेखेर आफ्नो फेसबुकमा राखेका छन्– ‘यो लोकतन्त्रपछि नर्क बनेको काठमाडौं उपत्यकामा अहिले नै जनघनत्वबारे उचित व्यवस्थापन नगरे केही वर्षपछि निकै भयावह अवस्था आउन सक्छ र त्यसपछि अनिकालदेखि लिएर मानव मूल्य करिब–करिब शून्यमा झर्नेछ, फेरि नर्कजस्तो काठमाडौंमा स्वर्गजस्तो नेपालभरिका मान्छेहरू किन झरेका होलान् ?’ यो स्टाटसले पनि उनी राजधानी काठमाडौंप्रति कति चिन्तित रहने गर्छन् भन्ने कुरा दर्साउँछ।

पाँचचोटि भियना पुगिसकेको यस अन्तर्वार्ताकारसँग चारपटक नजिकबाटै उनीसँग त्यहाँ भेटघाट भइसकेको छ। जतिपटक भियना पुग्दा पनि यस अन्तर्वार्ताकारसँग प्रभुले गर्ने प्रश्न नै यिनै हुने गर्दछन्– ‘दाइ, हाम्रो राजधानी काठमाडौंमा यति धेरै विकृति कसरी बढेको ? किन राजधानीमाथि नै एकोहोरो अतिक्रमण ?’ उनी खालि काठमाडौंकै विषयमा एकोहोरो चिन्ता लिइरहन्छन्। यसपटक झन्डै दुई महिना लामो भियना बसाइमा उनले अस्ट्रियाको राजधानी भियनालाई काठमाडौंसँग तुलना गरी मसँग निकै गहन कुरा गरे। उनले गरेका सबै कुराकानी भर्खरै चुनाव जितेर आएका राजधानीका मेयरहरूका लागि रामवाण सुझाव हुन सक्ने देखिएकाले उनीसँग भएका कुराकानीलाई अन्तर्वार्ताका रूपमा यहाँ पस्कने प्रयास गरेको छु।

भाइ यति धेरै काठमाडौंप्रति चिन्तित हुनुको कारण ?

प्रभु श्रेष्ठः म काठमाडौंको कोर एरिया ह्युमत टोलमा जन्मे–हुर्केको मान्छे। आजभन्दा २५ वर्षअघि जुन बेला आफ्नो जन्मभूमि छोडेर पढाइको सिलसिलामा भियना आएँ, त्यस बेलासम्म पनि काठमाडौं स्वर्गजस्तै थियो। म बागमती किनारको विश्वनिकेतन स्कुलमा पढेको विद्यार्थी हुँ। म स्कुलमा पढ्दा बागमती नदी भियनामा बग्ने दुनाउ नदीजस्तो विशाल र स्वच्छ थियो। सानोमा मनोरञ्जनको कुनै साधन नहुँदा पनि इन्द्रजात्राजस्तो चाडपर्वमा कति रमाइलो हुन्थ्यो। राति १२–१ बजेसम्म विना कुनै डर–त्रास ढुक्कसँग काठमाडौं घुम्थ्यौं। गाडी–मोटरसाइकलले किच्ला भन्ने डर हुँदैनथ्यो।

केही वर्ष पहिले काठमाडौं आउँदा म त छानाबाट खसेजस्तै भएँ। विमानस्थलदेखि नै तनाव हुने रहेछ यहाँ त ? ट्राफिक उस्तै कहालीलाग्दो। मानिसहरू पनि कति असभ्य ? कानै खाने गरी बाइकले हर्न दिन्छ, जीउमा ठक्कर लाग्ने गरी मोटरसाइकल हाँक्ने रहेछन्। किन यसो गर्नुभएको भनी सोधेको, झन्डै नहानेको। आफू जन्मे–हुर्केको ठाउँ नै मलाई बिरानोजस्तो लाग्यो। फोहोर उत्तिकै। श्रीमतीको नागरिकता हराएर सरकारी कार्यालय गएको, पैसा नलिई काम नै गर्न मानेनन्। बागमती पनि टुकुचाजस्तो भइसकेको रहेछ।

तैपनि तपाईं हरेक दुई–तीन वर्षमा काठमाडौं आइरहनुहुन्छ त ?

प्रभु श्रेष्ठः युरोपमा हामीलाई एक महिनाको अनिवार्य बिदा दिइन्छ। त्यो बिदा भनेको परिवारसँग कतै बाहिर घुम्न जाओस् भनेर नै दिइने हो। नेपाल आउने पैसाले अस्ट्रेलिया, अमेरिका वा युरोपका धेरै सुन्दर देशहरू घुम्न सकिन्छ। तैपनि किन–किन मलाई भने आफू जन्मेको ठाउँ कत्तिको विकास भो भनेर नै हेर्न हतार हुन्छ। तर कस्तो विडम्बना ? हाम्रो राजधानी त झन् दिनपरदिन कुरूप हुँदै गइरहेको छ।

अब म प्रश्न गर्दिनँ। भाइकै कुरा मात्र सुन्छु। भियनाको विकासबाट म पनि अत्यन्त प्रभावित छु। यसै कारण युरोपको अन्य ठाउँमा भन्दा मलाई पनि भियनामै आउन आतुर भइरहेको हुन्छ। तपाईं लामो समयदेखि भियनामा बस्दै आउनुभएको छ। यहाँको विकासलाई आफ्नै आँखाले प्रत्यक्ष हेर्नुभएको छ। के भो भने काठमाडौंलाई पनि भियनाजस्तै सुन्दर राजधानी बनाउन सकिएला त ?

प्रभु श्रेष्ठः हामी सधैं नेताहरूलाई यसो गरेन, उसो गरेन भनी आलोचना गरिरहेका हुन्छौं। हो, इच्छाशक्ति नभएका, स्पष्ट दृष्टिकोण नभएका, राजनीतिलाई सेवाभन्दा कमाइ खाने भाँडो बनाएका नेताहरूका कारण हाम्रो देशको विकास हुन नसकिरहेको कुरालाई केही हदसम्म म पनि मान्छु। तर, हामी जनता पनि यसका लागि कम जिम्मेवार भने छैनौं। आफैंले गर्न सकिने सानातिना कुरा पनि हामी नेताहरूकै मुख ताकेर बस्छौं। आफ्नो घर–आँगनको फोहोर व्यवस्थापन गर्न पनि नगरपालिकाको गाडीलाई नै कुरिरहेका हुन्छौं। आफ्नै घरबाट निस्केका फोहोरलाई पनि हामी अँध्यारोको मौका छोपी यताउता फालिदिन्छौं। यो भनेको हाम्रो शिक्षा र चेतनाको कमी हो।

संयोगले यसपालि काठमाडौं महानगरपालिकाको मेयरमा म पढेकै विश्वनिकेतन स्कुलका विद्यार्थी विद्यासुन्दर श्रेष्ठ मेयर पदमा चुनिएर आउनुभएको छ। खुसी लागेको छ। राजधानीको विकास गर्नमा मेयरहरूले ठूलो भूमिका निर्वाह गर्न सक्छन्। भियनालाई सुन्दर र व्यवस्थित बनाउनमा यहाँका मेयरहरूको ठूलो हात छ। म राजधानीका नवनिर्वाचित मेयर साहेबहरूलाई के अनुरोध गर्न चाहन्छु भने, सबैभन्दा पहिले उहाँहरूले स्कुलदेखिकै पठनपाठनमा सभ्यता सिक्ने अनिवार्य कोर्सका लागि सरकारसँग पहल गर्नुपर्छ। जबसम्म मानिसमा बच्चैदेखि सभ्यता र संस्कार विकासको चेतना हुँदैन, तबसम्म नेता र सिस्टमले मात्र पनि केही गर्न सकिँदैन। अर्को कुरो सबैभन्दा पहिले उहाँहरूले म कुनै एउटा पार्टीका कार्यकर्ताभन्दा पनि हामी पूरै नगरबासीका पिता अर्थात् अभिभावक हौं भन्ने भावनाले काम गर्नुपर्छ। धेरै कार्यक्रमहरूमा सहभागी भएर समय बिताउनुभन्दा शुरूमा कम्तीमा दैनिक १८ घन्टा कार्यालयमै बसेर महानगरको समस्याबारे अध्ययन गर्दै काम गर्नुपर्छ। नेपाली जनता यति सन्तोषी छन् कि उनीहरूको सानो समस्या समाधान हुँदा पनि दंग पर्ने गर्छन्। केही नहुँदा त सहिरहेका छन् भने उनीहरूका समस्या समाधान भए कति फुरुङ्ग होलान् !

महानगरमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या भनेको थेग्नै नसकिने गरी देशभरबाट ओइरिएको जनसंख्या हो। जसका कारण पानी, फोहोर व्यवस्थापन, ट्राफिक, सार्वजनिक यातायात, बसोबास मुख्य समस्याका रूपमा अगाडि तेर्सिएको छ। यी मूल समस्याको पहिचान भइसकेकाले पहिले यसलाई प्राथमिकतामा राखेर मेयर साहेबहरूले विज्ञहरूलाई राखी योजना बनाउनुपर्छ। योजना बनिसकेपछि व्यावहारिकतामा उतार्न शुरूमा अमेरिकाको न्युयोर्क शहर, युरोपको भियना, इटलीको भेनिस र चेक गणराज्यको प्रागको अध्ययन–भ्रमण गर्न म राजधानीका सबै मेयरलाई हृदयदेखि अनुरोध गर्न चाहन्छु। न्युयोर्कजस्तो विशाल शहर, काठमाडौंजस्तै भियना उपत्यका अनि समुद्रमाथि बनाइएको भेनिस र काठमाडौंजस्तै गल्लीहरू भएका भेनिस र प्रागलाई कसरी त्यहाँका मेयरहरूले त्यति सुन्दर, सफा र आकर्षक बनाउन सफल भए ? किन त्यहाँका जनता ती शहरका मेयरसँग दंगदास छन् भन्ने ती शहरहरूको प्रत्यक्ष अवलोकन हाम्रा मेयरहरूका लागि गहकिलो र व्यावहारिक पाठशाला बन्न सक्छ।

हाम्रा मेयरहरूले बिर्सन नहुने अर्को कुरा भनेको सेवाग्राहीका लागि गरिने छिटो–छरितो काम। तपाईंले धेरैपटक भियना आएर मसँगै यहाँका कैयौं कार्यालयमा हुने कामकाज हेरिसक्नुभो। यस्ता कामका लागि कतै तपाईं ५ मिनेटभन्दा बढी समय कुर्नुपरेको छ ? हो म मान्छु, नेपालमा भनेजस्तो काम गर्न–गराउन त्यति सजिलो छैन। भ्रष्टाचारले नराम्ररी गाँजिसकेको छ हाम्रो समाज। हो, यही समाजलाई चिरेर जनताको वाहवाही लुट्न सक्ने नेता नै भविष्यमा अमर हुने हो।

अस्ट्रियाका नेताहरू जनताबाट के लिनेभन्दा पनि जनतालाई के दिने भन्ने मनसायबाट राजनीति गर्छन्। नेपालका नेताहरूजस्तो नमरुन्जेलसम्म कुर्सीमा टाँसिएर बस्न चाहँदैनन् यहाँका नेताहरू। सकेसम्म राम्रो काम गरी जनताको वाहवाही लुटेर आत्मसन्तुष्टि लिन्छन््, यति गरेर पनि जनताले चित्त बुझाएनन् भने झन् दंग पर्दै राजनीतिबाट बिदावारी भएर आफ्नो बाटो लाग्छन्। मुख्य कुरा राजनीतिलाई जनता झुक्याएर पैसा कमाउने पेसाभन्दा पनि जनसेवामै समर्पित हुने पेसाका रूपमा लिन सक्नुपर्छ।

हेर्नुस्, अस्ट्रि«यामा भ्रष्टाचारको त कुरै छोडौं, एक जना साथीको कम्पनीलाई नियम विपरीत सहयोग गरेको आरोपमा अस्ट्रियाका एक जना पूर्वअर्थमन्त्री कार्ल हेन्ज ग्रासियरलाई वर्षौंदेखि न जनताले बसिखान दिएका छन्, न त सरकारले नै ? भर्खरका युवानेता ग्रासियर वर्षौंदेखि अनुसन्धानको घेरामा रहेर तनावको जिन्दगी बाँचिरहेका छन् अहिले। कति फरक छ हाम्रो र अस्ट्रियाको राजनीति ? हामीकहाँ म सुन्छु– भ्रष्टाचारको आरोपमा वर्षौं जेल बसेर बदनाम भएका नेतालाई पनि जनता नै अघि सरेर लाखौं रुपियाँको माला लगाई, सिन्दूर जात्रा गरी, बजार परिक्रमा गर्दै स्वागत गर्छन् रे ! अनि कसरी हुन्छ, देशको विकास ?

अस्ट्रियामा इमानदारिताका साथ कर तिरेर बस्ने नागरिकको सबै जिम्मा सरकारले लिएको हुन्छ। उसले जिन्दगीभर तनावरहित जीवन जिउन सक्छ। कानुन सबैका लागि बराबर छ यहाँ। एउटा काममा व्यस्त भएर त्यसको आम्दानीबाट कर तिरेपछि करदाताको मात्र होइन उसका शाखासन्तानकै शिक्षादेखि स्वास्थ्य बिमासम्मको जिम्मा सरकारको हुन्छ। कुनै सन्तान बेरोजगार छ भने काम नपाएसम्म सरकारले नै बेरोजगार भत्ता दिई पालेर राख्छ। केटाकेटीले स्नातकोत्तरसम्म अध्ययन गर्छु भन्यो भने २६ वर्षसम्मका छोरा–छोरीलाई बाबुआमाले एक पैसा खर्च गर्नुपर्दैन, नर्सरीदेखि स्नातकोत्तरसम्म अध्ययनको पैसा सबै सरकारले व्यहोरिदिन्छ। बिरामी हुँदा एक पैसा खर्च गर्नुपर्दैन। अवकाशपछि पेन्सनबाट आउने पैसाले नै आनन्दसँग संसार घुमेर जीवन बिताउन सकिन्छ। बच्चा र बूढाबूढीले सार्वजनिक सवारीसाधन प्रयोग गर्दा नगन्य पैसा तिरे पुग्छ। यस्तो पो समाजवाद।

तपाईंले मलाई मात्र बोल्न दिइरहनुभयो। ठीकै छ, म फेरि राजधानीलाई नै व्यवस्थित बनाउने कुरामा फर्कन्छु। यसपटक नेपालमा भएको स्थानीय निर्वाचनमा उठेका मुख्य शहरका प्रायः सबै मेयर उम्मेदवारहरूले राजधानीमा मेट्रो, मोनो रेलको सपना देखाएको पाएँ। कतिले त भूमिगत रेलको पनि कुरा गरेका रहेछन्। सायद उनीहरूको घोषणापत्रमा पनि उल्लेख भएका होलान् यी कुराहरू। थोरै खनेर जमिनमुनि बिच्छ्याउन खोजिएको मेलम्चीको पाइपले राजधानी अस्तव्यस्त भएको वर्षौं बितिसकेको छ। अनुमान गरौं, भूमिगत रेलका लागि सडक खन्ने हो भने के हालत होला हाम्रो राजधानीको ?

अव्यवस्थित काठमाडौं शहर

त्यसको अर्थ काठमाडौंमा यसो गर्न सकिँदैन अथवा सम्भव छैन भन्न खोजेको होइन। सजिलैसँग सकिन्छ। यहाँ अस्ट्रियामा यस्तो जमिन खनेर गर्ने काम एकैचोटि हुँदैन। जस्तो कि अहिले कलंकीबाट थापाथलीसम्म आकाशे सडक बनाउने कुरा भइरहेको छ। अस्ट्रियामा यसरी सडक बनाउनुपरे एकैचोटि कलंकीदेखि थापाथलीसम्म सडक अस्तव्यस्त बनाई काम गर्दैनन्। पहिले कलंकीबाट रविभवनसम्म बाटो बनाउँछन्। त्यो पनि पहिले यो बाटोबाट हिँड्नुपर्नेहरूलाई अर्को वैकल्पिक बाटो बनाइसकेपछि मात्र। यसरी क्रमशः रविभवनबाट कालिमाटीसम्म र कालिमाटीबाट त्रिपुरेश्वर हुँदै अन्तिममा त्रिपुरेश्वरबाट थापाथली जोडेर कामको अन्त्य गर्छन्। अहिलेजस्तो बाटो फराकिलो गर्ने नाममा त्रिपुरेश्वरदेखि कलंकीसम्म एकैचोटि भत्काएर वर्षौंदेखि जनतालाई दुःख दिने काम यहाँ अस्ट्रियामा हुँदैन। यो मैले राजधानीका मेयरहरूलाई सुझावका रूपमा मात्र राखेको हुँ।

राजधानीमा जितेका मेयरहरूले अबको विकासलाई राजधानीसँगैका क्षेत्रहरूमा विस्तार गर्नमा प्राथमिकता दिनुपर्छ। राजधानीदेखि कम्तीमा चितवन, वीरगन्ज, पोखरा, त्रिशूली, दोलखा, सिन्धुलीजस्ता जिल्लामा राजधानीबाट दुई–तीन घन्टामा आवतजावत गर्न सकिने सडकहरूको विस्तार गरिदिनुपर्छ। ताकि त्यहाँबाट बिहान राजधानी आई बेलुका सजिलैसँग आफ्नो ठाउँ फर्किन सकियोस्। यति हुनेबित्तिकै निस्सासिने महँगो राजधानीमा को कोच्चिएर बसिरहन्छ ?

अर्को, सतही कुरा गरेर मात्र हुँदैन। काठमाडौं भूकम्पको अति जोखिमयुक्त शहर हो। फेरि नयाँ पहाडहरू भएको हाम्रो जस्तो देशमा त्यसै त वर्षायाममा पर्ने पानी थेग्न नसकेर ठाउँ–ठाउँमा पहिरो आइरहेको हुन्छ। त्यसैले हाम्रो जमिन भूमिगत रेलका लागि उपयुक्त भए–नभएको कुरा पहिले विज्ञहरूलाई बोलाएर माटोको परीक्षण गराउनुपर्छ। कुनै पनि ठूलो परियोजना बनाउँदा कम्तीमा पनि सय वर्षपछिका लागि सोच्नुपर्दछ।

मेरो विचारमा राजधानीको भूबनोट हेर्दा यहाँ बिजुलीबाट चल्ने ट्राम, बस, मोनोरेल उपयुक्त हुन्छ जस्तो लाग्छ। नेपाल जलविद्युत्मा ठूलो सम्भावनाको देश भएकाले सकेसम्म बिजुली उत्पादन गरेर अरू देशसँग भर पर्नु नपर्ने यातायातका साधनहरूलाई नै जोड दिनुपर्छ। अहिले महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा धुलिखेलसम्म साझा बस गुडाउन लागेको सुन्दा खुसी लागेको छ। म महानगरपालिका र साझा यातायात दुवै संस्थालाई यस सुकार्यका लागि धन्यवाद दिँदै यात्रुको सुविधाका लागि एकैचोटि हप्ता, मासिक र वार्षिक टिकट किन्ने सुविधा उपलब्ध गराउन विशेष अनुरोध गर्न चाहन्छु। यसले गर्दा तत्कालै एकमुष्ट रकम उठी यसले अर्को यातायातको साधन थप्न सकिने र कर्मचारीलाई पनि विशेष सुविधा दिएर प्रोत्साहित गर्न सकिन्छ भने अर्कोतिर यात्रुसँग दिनकै पैसा उठाउँदा हुने समयको बर्बादीलाई पनि बचाउन सकिन्छ। यसबाट यात्रुले पाउने लाभ र कन्डक्टरको झन्झटबाट पाइने मुक्ति त छँदै छ।

युरोपमा बसेर संसारका धेरै देश घुमे पनि नेपालजस्तो सुन्दर र विविध संस्कृतिले सम्पन्न देश मैले कतै फेला पार्न सकेको छैन। तसर्थ नेपालले तत्कालका लागि अरू केही गर्न नसके पनि देशलाई मात्र राजनीतिक स्थिरता र शान्ति दिने हो भने वर्षमा लाखौंलाख पर्यटक भित्त्याएर नेपाल मालामाल हुन सक्छ। अहिले संसारको जुन देशमा गए पनि भेटिने पर्यटक भनेकै चिनियाँ र भारतीयहरू हुन्। पहिलेजस्तो गोरा छाला भएकै पर्यटकहरू चाहिने भन्ने छैन। यिनीहरूभन्दा धेरै खर्च गर्ने हैसियत राख्छन् हाम्रा छिमेकी मुलुक भारत र चीनका पर्यटकहरू। उनीहरूका लागि नेपाल सजिलो गन्तव्य पनि हो।

यसका लागि सबैभन्दा ठूलो वातावरण बनाउने काम नेपालका राजनीतिक पार्टी र कर्मचारीतन्त्रको हो। यो कांग्रेस, यो एमाले, यो माओवादी, यो मधेसी, यो पहाडिया नभनी विनाराजनीतिक पूर्वागृह जनतालाई सर्वोपरी ठानेर केन्द्रले स्थानीय सरकारलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ। नवनिर्वाचित मेयरहरूको सम्पूर्ण ध्यान ठाउँ–ठाउँमा व्यवस्थित शौचालय, मन्दिरहरूको उचित जीर्णोद्धार र संरक्षण, पर्यटकको सुरक्षाको ग्यारेन्टी, प्रदूषणमुक्त शहर, हरियाली, सुन्दर पार्कहरू, यातायातको उचित व्यवस्था, नगरपालिकाबाटै सञ्चालन हुने गरी तालिमप्राप्त व्यावसायिक टुर गाइड र बसको व्यवस्था गर्नमा केन्द्रित हुन सके पर्यटन व्यवसायले मात्र नेपालीहरू अस्ट्रियनजस्तै धनी हुन बेर लाउँदैनन्।

अस्ट्रियाका नेताहरू जनताबाट के लिनेभन्दा पनि जनतालाई के दिने भन्ने मनसायबाट राजनीति गर्छन्। नेपालका नेताहरूजस्तो नमरुन्जेलसम्म कुर्सीमा टाँसिएर बस्न चाहँदैनन् यहाँका नेताहरू। सकेसम्म राम्रो काम गरी जनताको वाहवाही लुटेर आत्मसन्तुष्टि लिन्छन््, यति गरेर पनि जनताले चित्त बुझाएनन् भने झन् दंग पर्दै राजनीतिबाट बिदावारी भएर आफ्नो बाटो लाग्छन्। मुख्य कुरा राजनीतिलाई जनता झुक्याएर पैसा कमाउने पेसाभन्दा पनि जनसेवामै समर्पित हुने पेसाका रूपमा लिन सक्नुपर्छ।

साथै हाल हनुमानढोका अगाडि रहेको प्रहरी कार्यालय भत्काएर हाम्रो पौराणिक शैलीको ठूलो मञ्च बनाई हाम्रा हरेक ठूला चाडपर्वहरूमा सांगीतिकदेखि विभिन्न कार्यक्रमहरू गरेर पनि पर्यटकहरू तान्न सकिन्छ। यहाँ अस्ट्रियाको संसद् भवन रहेको राथ्सल्पाजमा हुने ठूलाठूला कार्यक्रमहरूमा जम्मा हुने लाखौं पर्यटकहरूको भीड तपाईंले देखिसक्नुभएकै छ। आखिर अस्ट्रिया पनि त हाम्रो नेपालजस्तै भूपरिवेष्ठित देश हो नि। उनीहरूले गर्न सक्ने, हामीले चाहिँ किन नसक्ने ?

अब धेरै नबोलौं होला, मैले माथि भनेझैं राजधानीको मुख्य समस्या भनेको धान्नै नसक्ने जनसंख्याको चाप नै हो। बाहिर काम गर्ने अवसर नहुनु र राजधानीको आकर्षणलाई हेर्दा आफ्नै नागरिकलाई यता नआऊ पनि भन्न मिल्दैन। यसको एउटै उपाय भनेको अहिले स्थानीय निर्वाचनमा जितेका राजधानीबाहिरका स्थानीय जनप्रतिनिधिले आफ्नो गाउँ–शहरको विकास गरी आफ्नो ठाउँबाट राजधानी पलायन भएका स्थानीयलाई आफ्नै जन्मभूमिमा फर्कन आकर्षित गर्नु नै हो। अर्को राजधानीका घरहरूमा बहालमा बस्नेसँग बहाल कर उठाएर राजधानीको विकासका लागि खर्च गर्न सकिन्छ। कर तिर्न अनिच्छुकहरूलाई यस्तो व्यवस्थाले अनावश्यकरूपमा राजधानी छिर्न हतोत्साही पनि गर्न सकिन्छ।

सुन्दर, शान्त र सफा भियना शहर

दोस्रो कुरा, राजधानीमा जितेका मेयरहरूले अबको विकासलाई राजधानीसँगैका क्षेत्रहरूमा विस्तार गर्नमा प्राथमिकता दिनुपर्छ। राजधानीदेखि कम्तीमा चितवन, वीरगन्ज, पोखरा, त्रिशूली, दोलखा, सिन्धुलीजस्ता जिल्लामा राजधानीबाट दुई–तीन घन्टामा आवतजावत गर्न सकिने सडकहरूको विस्तार गरिदिनुपर्छ। ताकि त्यहाँबाट बिहान राजधानी आई बेलुका सजिलैसँग आफ्नो ठाउँ फर्कन सकियोस्। यति हुनेबित्तिकै निस्सासिने महँगो राजधानीमा को कोच्चिएर बसिरहन्छ ? मैले नेपालबाट अस्ट्रिया घुम्न आउने मन्त्रीदेखि सबै उच्च पदका सरकारी कर्मचारी, कलाकार पत्रकारहरूलाई भियना घुमाउने सन्दर्भमा यस्ता धेरै कुरा राखिसकेको छु। भियनाको विकास देखेर उत्साहित नेता र कर्मचारीहरू नेपाल गएर केही गर्छौं भन्ने आश्वासन पनि दिन्छन्। पछि नेतालाई भेट्दा कर्मचारीले साथ दिएन भन्छन्, कर्मचारी भेट्दा नेताले गर्न दिएनन् भन्छन्। गर्ने के ? त्यसैले हामी जनता आफैं चनाखो नभएसम्म नेता र कर्मचारीको मुख ताकेर मात्र केही हुनेवाला छैन। लौ, अब त पुग्यो पनि होला।

ए ‘पख्नुस् ! पख्नुस् !’ अन्त्यमा मेरो एउटा भन्नै पर्ने कुरा छ। यसलाई सम्पादन गर्न पाइँदैन है दाइ ? पहिले त मजस्तो एक जना साधारण मान्छेलाई यति धेरै महत्त्व दिएर तपाईंजस्तो ख्यातिप्राप्त वरिष्ठ पत्रकारसामु यति धेरै मेरो मनको बह पोख्ने मौका दिनुभएकोमा म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। त्यति ठूलो हैसियत नभए पनि नेपाली मिडियालाई पनि मेरो एउटा सुझाव छ। तपाईं यति लामो समय भियना बस्नुभो, यहाँ धेरैपटक आइसक्नुभएको छ। तर तपाईंले यहाँ भियनाका पत्रिकाहरूमा राजनीतिलाई त्यति महत्त्व दिएको देख्नुभएको छैन होला।

नेपालमा धेरै राजनीति हाबी हुनुमा कतै नेपाली मिडियाकै हात त होइन भन्ने लागिरहन्छ ? तसर्थ म तपाईंमार्फत् नेपाली मिडियालाई राजनीतिभन्दा विकास र सकारात्मक कुराहरूलाई बढी प्राथमिकता दिन विनम्र अनुरोध गर्दछु।

प्रस्तुतिः पुष्करलाल श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्