मृतकका आफन्तलाई पीडा नदेऊ



 

हिन्दु धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ मन्दिरको समिपमा रहेको पशुपति आर्यघाटमा शव अन्त्येष्टि गर्नु गौरव मानिन्छ । आफ्नो मृत्युअघि धेरैले अन्त्येष्टि पशुपति आर्यघाटमा होस् भन्ने चाहना व्यक्त पनि गर्छन् । तर, पछिल्ला दिनमा पशुपति आर्यघाटमा गरिने अन्त्येष्टि कार्य सहज छैन । आफन्त गुमाएको पीडासँगै मृत्तकका आफन्तले शव जलाउन ३ घण्टासम्म कुर्नुपर्ने अवस्था छ । आर्यघाटमा परम्परागत शैली (दाउरा प्रयोग गरेर) दैनिक ३० देखि ४० जनाको अन्त्येष्टि हुँदै आएको पशुपति क्षेत्र विकास कोषको तथ्यांक छ ।

मलामी जाने आफन्त र अन्य शुभेच्छुकले अन्य विकल्पबारे चासो व्यक्त गर्छन् तर विकल्पका रूपमा अघि सारिएको विद्युतीय शवदाह गृह सञ्चालनमा छैन । विद्युतीय शवदाह गृह बिग्रिएर समयमा मर्मत सम्भार नहुँदा आर्यघाटमा शव अन्त्येष्टि गर्नेहरूको चाप बढेको हो । पशुपति क्षेत्रमा बढ्दो वातावरणीय प्रदूषण र दाउराको खपत न्यूनीकरण गर्ने उद्देश्यले २ वर्षअघि विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइएको थियो । सो शवदाह गृह सञ्चालनमा आएपछि परम्परागत घाटमा शवको चाप घटेको थियो भने धेरै सेवाग्राहीले आधुनिक विधि रुचाएका थिए । अन्त्येष्टि कार्यमा लाग्ने समय र शुल्कका दृष्टिकोणबाट विद्युतीय विधि रुचाइएको हो । यो विधिमार्फत् शव अन्त्येष्टि गर्न ४ हजार रुपियाँ शुल्क लाग्ने र ४५ मिनेट हाराहारीको समयमा शव अन्त्येष्टि कार्य हुँदै आएको थियो ।

परम्परागत विधिबाट घाटमा शव जलाउन ३ घण्टाभन्दा बढी समय लाग्ने गर्छ भने अन्त्येष्टिका लागि १० हजार रुपियाँका हाराहारीमा खर्च हुने बताइएको छ । आर्यघाटमा परम्परागतरूपमा शव अन्त्येष्टिका लागि ११ स्थान तोकिएको छ । विशिष्ट व्यक्तिहरूको शव अन्त्येष्टिका लागि छुट्टै घाट छुट्याइएको छ भने त्यसबाहेका १० स्थानमा सर्वसाधारणले आफन्तको अन्त्येष्टि गर्दै आएका छन् । झन्झटिलो अन्त्येष्टि कार्य सहज बनाउन र वातावरणमैत्री अभ्यास भित्त्याउन पशुपति क्षेत्र विकास कोषले करिब १३ करोडको लागतमा २ वटा शव एकैसाथ जलाउन मिल्ने गरी विद्युतीय विधि शुरू गरेको थियो ।

विद्युतीय शवदाह गृह बिग्रिएको एक महिना भइसकेको छ । तर, अहिले सो मेसिन बिगँ्रदा त्यसको मार भने मृतकका आफन्तलाई परिरहेको छ । सम्झौताअनुसार भारतीय कम्पनीले समय–समयमा विद्युतीय मेसिनको मर्मत सम्भार गर्नुपर्ने थियो तर विगतमा पनि सो कम्पनीले प्राविधिक सहयोग उपलब्ध गराएको थिएन । यो सबै कुरा जान्नुपर्ने निकाय भनेको पशुपति क्षेत्र विकास कोष हो । एउटा शव जलाउनका लागि मृतकका शोकाकुल आफन्तलाई ३ घण्टासम्म कुराउने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । त्यसैले चाँडोभन्दा चाँडो विद्युतीय मेसिन सुचारु गर्नेतर्फ सम्बद्ध पक्षको ध्यान जाओस् । मृतकका परिवारलाई पीडामाथि झन् पीडा दिने र रुवाउने कार्य बन्द गरियोस् ।

प्रतिक्रिया दिनुहोस्