चीन भारत सीमा विवाद चीनले दुई हप्तामा सैन्य कारवाही गर्न सक्छः विज्ञ



 

बेइजिङ ⁄ कोलकाता, (एजेन्सी)
सिक्किमको डोकलाम इलाकामा भारतसँग जारी सीमा विवादबीच एक विज्ञले बेइजिङको तर्फबाट सानो स्तरको सैन्य कारवाही हुने आशंका ब्यक्त गरेका छन्।

चीन डोकलोगमा लामो समयसम्म गतिरोध जारी रहन अुनमति दिन सक्दैन, त्यसैले त्यहाँबाट भारतीय सैनिक हटाउनका लागि २ हप्ताभित्र सानो स्तरको सैन्य कारवाही गर्न सक्छ– ती विज्ञले बताए।

सिक्किम क्षेत्रमा भुटानसँगको त्रिदेशीय सिमानामा चीनले सडक निर्माण गर्न चाहेको छ। भारतले त्यसको विरोध गरिरहेको छ। करिब दुई महिनादेखि भारत र चीनका सैनिक त्यस क्षेत्रमा मुठभेडको स्थितिमा तैनाथ छन्।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले शनिबार प्रकाशित एक लेखमा चिनियाँ विज्ञ हु झियांगले उक्त टिप्पणी गरेको हो। उक्त लेख सामग्रीको शीर्षक ‘मिल्ट्री क्लासेज पसिबल एज वोर्डर स्ट्यान्डअफ ड्रयाग्स अन’ दिएको छ। विगत २४ घण्टामा डोकलाम विवादलाई लिएर ६ जना मन्त्री र सरकारी संस्थाबाट दिएका बयानपछि ती विज्ञले सानो स्तरको सैन्य कारवाहीको आशंका ब्यक्त गरेका हुन्।
हु झियोंग सांघाइ एकेडमी अफ सोसल साइन्सेजको इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सका सोधकर्ता हुन्। चीनले आफ्नो सैन्य कारवाही शुरू गर्नु अगाडि भारतको विदेश मन्त्रालयलाई त्यसको सूचना पनि दिने उनले उल्लेख गरेका छन्।

हु झियांगले आफ्नो दाबी पुष्टि गर्न हालै मात्र तिब्वतमा चीनले गरेको प्रत्यक्ष सैन्य अभ्यासलाई लिएको छ। उनले भने (भारतले हालैका वर्षमा चीनलाई लिएर अपरिपक्व नीति लिएको छ। भारतमा चीनजस्तो विकास हुन सकेको छैन र यो देश त्यस इलाकामा विवाद मात्र उत्पन्न गर्न चाहेको छ, वास्तवमा कुनै विवाद नै छैन। यसको पछाडि भारतको उद्देश्य चीनसँग लेनदेन गर्नु हो।

हालै मात्र भारतका विदेशमन्त्री शुष्मा स्वराजले संसद्मा डाकलाम विवादको शान्तिपुर्ण समाधानका लागि जोड दिँदै दुबै देशले त्यहाँबाट सैनिक फिर्ता गर्नुपर्ने र त्यसपछि वार्ता हुने बताएकी थिइन्।

यसैबीच चीनका जनरल मा झानवुले सिमा क्षेत्रमा शान्ति र धैर्य कायम राख्नु दुबै देशका लागि अहं भएको र दुबैको आपसी हितमा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले भने– ‘चीन भारतको सम्बन्ध भाइबहिनीको जस्तो हो, त्यसैले मतभेद त हुन्छ नै, तर हाम्रो आपसी हित धेरै महत्वपूर्ण छ।’ झानवुले भने – सीमा विवादलाई एक तर्कसंगत तथा रचनात्मक तरिकाले सल्टिने अपेक्षा छ। साथै चाँडोभन्दा चाँडो यो विवाद सल्टाइनेछ। चीन र भारतबीच मतभेद छ तर भाइबहिनीको जस्तो मतभेद हो। तिम्रो आफ्नो आमाबुबासँग पनि मतभेद हुन सक्छ तर यसको अर्थ तिमी ऊसँग बस्न सक्दैन भन्ने हुँदैन। मतभेद भए पनि अन्य मुद्दामा काम नै नसक्ने भन्ने हुँदैन।’

यसअघि चीनको रक्षा मन्त्रालयका प्रवक्ता रेन गुओकियांगले अहिलेसम्म सीमा मुद्दामा सद्भावना देखाएको तर यो संयम चीनको बटम लाइन मात्र भएको भारतले यसलाई कमजोरीका रुपमा लिन नहुने चेतावनी दिएको थियो।
गुओकियांले भने– ‘हामी क्षेत्रमा शान्ति चाहन्छौं तर यसलाई गलत तरिकाबाट लिनुहुँदैन। भारतले भ्रम उत्पन्न गर्न बच्नुपर्छ। कुनै पनि देशले चिनियाँ सेनालाई कमजोर ठान्नुहुँदैन। हाम्रो सेना सम्प्रभुता, सुरक्षा कायम राख्न सक्षम छ।’

भारत चीनको यो सीमा विवाद जुन १६ बाट शुरू भएको हो। भुटानसँगको विवादास्पद चीनको यो सीमा क्षेत्रलाई चीनले डोकलांग भन्छ भने भारत र भुटानमा डोकलाम। भुटानले पनि दावी गरेको उक्त क्षेत्रमा चीनले सडक बनाउन चाहेकोमा भारतीय सैनिकले रोकेको थियो। यद्यपि चीनले उक्त इलाका आफ्नो सीमाभित्रको भएको र आफ्नै इलाकामा सडक बनाएको बताएका थिए। भारत र चीनबीच जम्मुकाश्मीरदेखि अरूणाञ्चल प्रदेशसम्म ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा जोडिएको छ। यसको २ सय २० किलोमिटर मात्र हिस्सा सिक्किममा पर्छ।

नयाँदिल्लीले चीनसँग उक्त सडक निर्माणले त्यस क्षेत्रको सामरिक स्थितिमा महत्वपूर्ण परिवर्तन आउने र त्यो भारतको सुरक्षामा गम्भिर चिन्ताको विषय बन्ने बताएको छ। उक्त सडकबाट चीनलाई भारत विरुद्ध ठुलो सैन्य फाइदा प्राप्त हुने भारतको दाबी छ।

भारतले यसअघि विनासर्त सीमाबाट सैन्य हटाउने चीनको मागलाई अस्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्