सखाप हुँदै खेतीयोग्य जमिन



कृष्णउदास खनाल, वीरगन्ज
पर्साको बेल्वा गाउँपालिकाका कृषक नागेन्द्र साहको परिवार पाल्ने खेत आँखैअगाडि दुईदिन परेको वर्षासँगै आएको बाढीले बगाएर सखाप बनाइदियो। उनी स्थानीय नदीको उचित व्यवस्थापनका लागि सरकारसँग माग गर्दै थिए। त्यसो त पीडा उनको मात्रै होइन, उनकै छिमेकी हरि साह, राजदेपवा साहलगायतको पनि उस्तै छ।

खेतीयोग्य जमिन बाढीले कटान गर्न थालेपछि उनीहरूको निद हराम भएको हो। सामान्य कुलोको समेत व्यवस्थापन नहुँदा आफूहरूको उठिबास हुने अवस्था आएको पीडितहरूले गुनासो गरे। भर्खर लगाएको धानको बिरुवा पानीले बगाएपछि स्थानीयहरू चिन्तामा परेका छन्।

लगातार दुई दिनको वर्षाको पानीले पर्साको बेलवा गाउँपालिका वडा नं. ४ प्रसौनीमा करिब एक बिगाहा जग्गा कटान गरेको छ।

गाउँमा रहेको कुलो स्थानीयले भरेपछि पानीको उचित निकास नहुँदा खेतहरूमा पानी जम्मा भई स्थानीय नागेन्द्र साह, हरि साह र राजदेवा साहको जग्गाहरू कटान गरेको नेकपा एमाले बेलवा गाउँपालिकाका सचिव सुलेमान अन्सारीले बताउनुभयो।

समयमै पानी नियन्त्रण गर्न अस्थायी बाँध बाँधिएकाले पानी गाउँ नपसेको र ठूलो दुर्घटनाबाट जोगिएको समेत अन्सारीले बताउनुभयो। अहिले १५ घर परिवार उच्च जोखिममा रहेको तथा लगातार एक हप्ता पानी परेमा सो गाउँका सयौं घरहरू डुवानमा पर्ने अन्सारीले बताउनुभयो।

यद्यपि बेलाव गाउँपालिकाका कार्यकारी अधिकृत अमित गिरीले गाउँपालिकासँग बाँध निर्माण गर्न बजेट नभएको बताउनुभयो। तर यसबारे पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउने र प्रजिअकै अध्यक्षतामा रहेको दैवी प्रकोप उद्धार केन्द्रमार्फत तत्काल समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो।

उहाँले छिट्टै नापी नक्सा निकाली ऐलानी जग्गा मिचेका र खोला नाला अतिक्रमण गर्नेहरूमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो। सार्वजनिक कुलो या नालीको अतिक्रमण गरिएका कारण मानव बस्तीसमेत जोखिममा परेको उहाँको दाबी छ।

प्रतिक्रिया दिनुहोस्