जगन्नाथ धामको रथयात्रा



प्रताप बानियाँ, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–५ गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथ मन्दिरको शुक्रबार रथ यात्रा भएको छ। जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथको रथयात्रा गरिएको हो।

कार्यक्रमका अतिथि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयबासीलगायतले भजनकीर्तनका साथै भगवान् जगन्नाथको मूर्तिसहितको रथयात्रा गरेका हुन्।
जगन्नाथको रथयात्रा भजनकीर्तन गरी मन्दिर परिसरमा परिक्रमा गराइएको थियो। सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरून् भन्ने उद्देश्यसहित हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन छ। यस दिन जगन्नाथ मन्दिरमा सरकारी भोजको आयोजना गरी खिर खाने प्रचलन रहेको आयोजकले जनाएको छ।

भगवान् जगन्नाथको दर्शनका लागि अन्य समयमा व्यक्तिहरूले १ सय हात साफा ल्याएर आएमा मूर्ति हेर्ने अवसर दिइने परम्परा रहेको थियो। त्यसभन्दा बढीको ल्याएमा पनि मूर्ति देखाउनुपर्ने र तँछाडमछाड हुने भएकाले समितिमार्फत् पुरानो चलनलाई परिवर्तन गरी श्रावण शुक्लपक्ष द्वादशी तिथिको दिन रथयात्राको आयोजना गर्न थालिएको बताइएको छ।

रथयात्रा कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले मठमन्दिर र धार्मिक क्षेत्रको संरक्षण एवं प्रवद्र्धन गर्नुपर्ने बताउँदै नगरपालिकामार्फत आवश्यक सहयोग गरिने बताउनुभएको छ। नगर उपप्रमुख सन्जु बरुवालले धार्मिक क्षेत्रको विकासका लागि नगरपालिकाले वृत्तचित्र निर्माण गरी प्रचारप्रसार गरिने बताउनुभयो। कार्यक्रममा जगन्नाथको महत्व र सरकारी भोजका विषयमा पण्डित दण्डपाणि पौडेलले प्रकाश पार्नुभएको थियो।

शुक्रबार सरकारी भोजको समेत आयोजना गरिएको हुँदा ३५ पाथी चामलको खिरसमेत पकाइएको थियो भने कार्यक्रममा स्थानीय आमा समूह, युवा क्लबलगायतले सहभागिता जनाएका थिए।
यस वर्षको रथयात्रामा म्याग्दीसहित विभिन्न जिल्लाबाट भक्तजनहरू जगन्नाथ मन्दिर दर्शनका लागि आएको आयोजकले बताएको छ।

विसं १५५० मा राजा दिलिपबम मल्लले जगन्नाथको स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किम्बदन्ती उल्लेख रहेको छ। नेपालमै फरक स्वरूपको आजभन्दा ५ सय २४ वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्तिहरू रहेका छन्। राजा मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथ बाबाको मूर्ति ल्याएर स्थापना गरेको बताइन्छ। जगन्नाथकै कारण गाजने गाउँमा कुखुरापालन र मदिरा उत्पादन निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्