जलनको अचानोमा दिल



अरुण नदी खत्री
कवि एवम् गजलकार दीपक आचार्य ‘जलन’को ‘अचानोमा दिल’ नामक गजलसङ्ग्रह हालै निस्केको छ। यसभित्र उनीद्वारा लेखिएका ७२ वटा गजलहरू समावेश गरिएका छन्। नेपाली भाषा–साहित्यमा गजल लेखेर उनले अक्षरका बीउहरूलाई रोपाइँ गर्न सफल भएका छन्। उनका गजलहरू साहित्यप्रेमी पाठकहरूले मन नपराऊलान् भन्न सकिन्न।

मुटुमा राखेर तिमीलाई म सधैँ ताला लगाउँछु
यी कुटिल नजरहरूबाट तिम्रो सुरक्षाको लागि।

जलनका अधिकांश गजल कोमल भावका छन्। साथै सशक्त पनि छन्। दीपक आचार्य जलन नेपाली साहित्यमा त्यति नयाँ नाम होइन। लामो समयदेखि साहित्य साधनामा तल्लीन युवा पुस्ताका सशक्त गजलकार जलन जीवनको यथार्थ, समयको आवाज, प्रेमका उतारचढाव, चिन्तन र विचारका अनेक लोभलाग्दा तरंगित सन्देश बोकेर उभिएका देखिन्छन्। आँसु, हाँसो, प्रेम, दिल, परदेश, समाज र जिन्दगीभित्र ‘अचानोमा दिल’ घुमेको छ। हरेक कुराको सीधा र सबैभन्दा पहिलो असर दिलमा पर्छ। लामो समयपछि प्रकाशनका दृष्टिले उनको यो दोस्रो गजलसङ्ग्रह हो। यिनका गजलमा जिन्दगीका विवशता, उमंग–उत्साह, उपदेश पनि रहेका छन्। केही गजलले सूक्ष्य व्यङ्ग्य धारणा पनि गरेका छन्।

मुटुमा काँढा राखेर कान्छो गएको छ
म पनि कमाउँछु भनेर कान्छो गएको छ।

गजलमा अलग–अलग विषयवस्तुहरूको उठान गरेर आफ्नो काव्यिक योग्यता र क्षमता जलनले प्रस्तुत गरेका छन्। गजल रचनाको परम्परागत संरचनालाई सफलतापूर्वक पालना गरी तयार गरिएको यस सङ्ग्रहभित्रका गजलहरू ग्रामीण क्षेत्रमा रोग, भोक, अशिक्षा, बेरोजगारी, शोषण, उत्पीडन, विभेद आदिबाट पिल्सिएका निमुखा नेपालीहरूको आवाज हो भन्न सकिन्छ। नेपाली समाज, संस्कृति, राजनीति र जनजीवनलाई यस सङ्ग्रहका गजलले प्रतिविम्बित गरेका छन्।

नेपाली साहित्यमा गजल पचासको दशकदेखि निकै प्रचारप्रसारमा आएको देखिन्छ। गजलको शुरूवात शृङ्गारिकताबाट शुरू भए पनि गजलमा समय लेखिनुपर्छ, माटोको दुखाइ उतारिनुपर्दछ, समाजका वास्तविक भोगाइ र जीवन प्रतिविम्बित हुनुपर्छ। जीवनका अनुभूतिहरू प्रेम–विछोडका समसामयिक घटनाक्रमहरूलाई गजल लेखेर जलनले चित्रण गरेका छन्।
मनमा केही न केही हलचल भएको होला

उसैलाई पाउने इच्छा प्रबल भएको होला।
२०६० को दशकदेखि शुरू भएको मध्यपश्चिमी गजलको काव्यिक अभियानका अग्रणी प्रतिभा हुन् दीपक आचार्य जलन। २०६० का दशकमा उनले बर्दियाका गाउँ–गाउँ र स्कुल–स्कुलमा पुगी गजलका गतिविधि गरेर गजलको अभियान शुरू गरे। मध्यपश्चिम र देशभरका गजल स्रष्टाका बीचमा सम्पर्क र सम्बन्ध जोडेर उनले गजलको सिर्जनशील परिवेश निर्माण गर्नमा जोड दिएको सदा स्मरणीय रहेको छ। २०७३ साल कार्तिकमा बुलबुल पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित यो गजलसङ्ग्रहको मूल्य रू.१५०।– राखिएको छ भने पृष्ठसंख्या ९४ छ।

गजलकारबाट पुनः यस्तै स्तरीय कृतिहरू निरन्तर आइरहुन्।

प्रतिक्रिया दिनुहोस्