नेपालमा नथाकेका यी कोरियन



नेपाल समाचारपत्र
काठमाडौं
१५ वर्षअगाडि कोरियाबाट नेपाल आउँदा जंग जे हुङलाई एक्लोपन महशुस हुन्थ्यो। उनी नेपालको अन्नपूर्ण, लुिम्बनीलगायतका पर्यटकीय एवम् धार्मिक स्थानमा घुमे र ती क्षेत्रमा रहेका ग्रामीण वस्तीहरूलाई नजिकैबाट नियाल्ने प्रयास गरे। उनलाई महशुस भयो न त्यहाँ राम्रो स्कुल छ न त उपर्युक्त वातावरण नै। अनि बिस्तारै नेपालका विभिन्न ठाउँहरू घुमे। घुम्दै जाँदा उनले निष्कर्ष निकाले– ‘नेपालमा सामाजिक कामलाई गति दिन्छु।’

कोरियाका जंग जे हुङ उमेरले ५६ वर्ष पुगे पनि २३ वर्षीय ठिटो जस्तो देखिन्छन्। तन बुढो भए पनि मन बुढो हुँदैन भनेझै हुङको सामाजिक कार्यमा सकृय रहने तन अझै बुढ्यौली भएको छैन। नेपाल बुझेर कोरिया पुगी तेस्रो पटक नेपाल फर्किंदा हुङको नेपाली ठिटो गोर्खाका एकप्रसाद ढकालसंग काठमाडौंको एक होटेलमा भेट भयो। हुङलाई नेपाल आएको बेला नेपालको पश्चिम भू–भाग जुम्ला पुग्ने रहर जागेर आयो र जुम्लामा एउटा स्कुल बनाइदिने सोच पलायो तर, उनलाई त्यहाँ ठीक लागेन। किनकि ठाउँ निकै टाढा र विकट लाग्यो।

काठमाडौं झरे र गोर्खाका ढकालले आजभन्दा ७ वर्ष अगाडि गोर्खाको मसेल ६ मा रहेको विन्द्रावति माध्यमिक विद्यालयको अवलोकन गराए जंग जे हुङलाई। सो विद्यालयमा भौतिक संरचनाको अभावमा ७ सयभन्दा बढी विद्यार्थीहरूले पढिरहेको देखे। अनि उनको मनमा विद्यालयको भवन बनाइदिने भावना जागृत भयो। लगत्तै ८० लाख रुपियाँ खर्च गरेर विद्यालयको पक्की भवन बनाइदिए। २०७२ सालमा भूकम्प गएको बेला गोर्खामा हजारौं बस्ती ढले तर, सो विद्यालय अहिलेसम्म केही भएको छैन।

यस्तै गोर्खा मसेलकै वडा नम्बर २ जहाँ निकै विपन्न वर्गका व्यक्तिहरूको वस्ती छ। त्यहाँ पनि पुगे जंग जे हुङ। जुन ठाउँमा खानेपानी लिन जान एक घण्टा लाग्छ। अहिले सो वस्तीमा सरकारको केही रकम र आफ्नो ३० लाखको लागतमा चार ठाउँमा रिजर्भ ट्याङकी राखी मिटरमार्फत पानी तान्ने व्यवस्था मिलाइएको छ। अहिले १ सय ७० घर परिवार खानेपानीबाट प्रभावित भएका छन्।

काठमाडौं दक्षिणकाली नजिकै रहेको तत्कालीन छविमाल्य गाविसमा श्री पञ्चकन्या स्कुलका विद्यार्थीहरूको सहजताका लागि क्यान्टिनको हल निर्माण गरिदिए २०६७ सालतिर। जसबाट १ सय ५० जना विद्यार्थी प्रभावित भएका थिए।

उनले काठमाडौं नर्भिक अस्पताल नजिकै रहेको सुकुम्बासी वस्तीमा विपन्न परिवारका लागि झोला वितरण गरे। त्यति मात्रै होइन सुकुम्बासी वस्तीमा विपन्न परिवारका लागि ४ हजार डलरको लागतमा यसै वर्ष रेनकोट, छाता र विन्टर प्रुफ कपडा किनिदिने प्रतिबद्धता व्यक्त गरेका छन्। धादिङको पात्लेमा पानी वितरणका लागि जडान गरीएको मेसिन बिग्रिएपछि उनले ट्रान्समिटर बनाउन भन्दै २ लाख रुपियाँ उपलब्ध गराए।

उनले भने,– ‘गरेपछि हरेक कुरा सम्भव छ। त्यसका लागि आँट, साहस र धैर्यता चाहिन्छ। कसरी पैंसा जम्मा हुन्छ भन्ने जिज्ञासामा उनले थपे– ‘केही पैसा मेरो हो। अहिले नेपालमा सामाजिक उत्तरदायित्व सम्बन्धी काम गर्न थालेको भनेपछि आफन्त तथा साथीहरूले समेत सहयोग गर्नुभएको छ।’

आगामी योजनाका बारेमा नेपाल समाचारपत्रले जिज्ञासा राख्दा उनले यसरी सुनाए –‘नेपाल सरकारले जग्गा उपलब्ध गरायो भने सिपमूलक शिक्षालय स्थापना गर्ने योजना छ। जसमा गरिब, विपन्न, पिछडिएका, एकल परिवार र बेचबिखनमा परी उद्धार भएकाहरूलाई अध्यापन गराइनेछ। जसले गर्दा रोजगारी दिलाउन सकियोस र रोजगारीका लागि भन्दै विदेशीने समस्या हल हुन सकोस्।’

जंग जे हुङले सामाजिक काम र विभिन्न भौतिक संरचनाहरू निर्माण गरे पनि आफ्नो नाम ती संरचनाहरूमा लेख्दैनन्। उनको तर्क छ,– ‘सहयोग गर्दै जाँदा बीचमा काम रोकियो वा सहयोग गर्न सकिएन भने अप्ठेरो हुन्छ। नामभन्दा पनि ठूलो सामाजिक सेवा हो। राम्रो काम गरेपछि नाम आइहाल्छ। किन लेख्नुपर्यो र नाम ?’ उनीलगायत उनको समूहले क्याम्बोडिया, नेपालसहितका केही देशका विकट वस्तीहरूमा सहयोगका हातहरू फैलाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्