स्यान्टु र पुरुषोत्तम फाइनलमा



काठमाडौं, (नेस)
नेपाल प्रहरी क्लबका स्यान्टु श्रेष्ठ र नेपाल एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

राष्ट्रिय च्याम्पियन स्यान्टुले एपीएफका अमरलाल मल्ललाई ११–५, ११–९, ११–७ र १२–१० तथा पुरुषोत्तमले प्रहरीका पूर्व राष्ट्रिय च्याम्पियन दीप साउनलाई ११–९, ९–११, ११–८, ९–११, ११–४, ५–११ र ११–५ को सेटमा पराजित गरे।

कलेजतर्फ भने स्यान्टुले पुरुष सिंगल्समा स्वर्ण जिते। कलेजको प्रतिस्पर्धामा प्राइम कलेजको प्रतिनिधित्व गरेका स्यान्टुले फाइनलमा लिभरपुल इन्टरनेसनल कलेजका रितिज जोशीलाई ११–६, ११–४ र ११–८ को सोझो सेटमा हराए। टाइम्सका मणिकुमार लामा र सीसीआरसीका आयुश महर्जनले तेस्रो स्थानमा चित्त बुझाए।

मिडियातर्फ पुरुष सिंगल्सको फाइनलमा ट्रि मिडियाका दीपक नेपालीले एनटीभीका मनोहरी थापालाई ११–८, ११–३ र ११–४ को सीधा सेटमा पाखा लगाउँदै स्वर्ण जिते। हाम्रो खेलकुदका दीपेश तिमल्सिना र एनटिभीका मदन आचार्य तेस्रो भए।

प्रतिक्रिया दिनुहोस्