अन्ततः नेयमार पीएसजीमा पुगे



लन्डन, (एजेन्सी)
नेयमारको क्लब स्थानान्तरको चर्चा केही सातादेखि चल्दै आएकोमा बिहीबार यसले आधिकारिकता पाएको छ।

नेयमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले २२ करोड २० लाख युरोमा बार्सिलोनाबाट किनेको छ। यो अहिलेसम्मकै ट्रान्सफर विन्डोमा विश्व रेकर्ड रकम पनि हो। २५ वर्षीय ब्राजिली खेलाडीले म्यानचेस्टर युनाइटेडले पउल पोग्बालाई किनेको विश्व रेकर्डलाई धेरै पछाडि पारेको छ। युनाइटेडले अगस्ट २०१६ मा युभेन्टसबाट पोग्बालाई ८ करोड ९० लाख पाउन्ड तिरेको थियो।

विश्व रेकर्डका साथ फ्रेन्च लिग पुगेका नेयमारले वर्षमा ४ करोड ५० लाख युरो कमाउनेछन्। त्यस्तै सातामा उनको तलब ८ लाख ६५ हजार युरो हुनेछ। शुरूआतमा पाँच वर्षको सम्झौता भएको नेयमारमाथि करिब ४० करोड पाउन्ड रकम लगानी हुने अनुमान लगाइएको छ। नेयमार निजी जेटमार्फत् पेरिस पुगेका हुन्। नयाँ क्लबमा उनको जर्सी नम्बर १० हुनेछ।

नेयमारले पीएसजीमा आबद्ध भएपछि बताए– ‘युरोपका सर्वाधिक चाहेको क्लबमध्ये एक। पेरिस सेन्ट जर्मेनको इच्छा मलाई क्लबमा ल्याउनु हो। म नयाँ चुनौती लिन तयार छु। आजबाट मेरा नयाँ साथी खेलाडीलाई सकेसम्म सहयोग गर्न सक्नेछु।’

पीएसजीले शनिबार यस सिजनको पहिलो खेल अमिन्सविरुद्ध खेल्नेछ। यसै खेलमार्फत् नेयमारलाई समर्थकबीच परिचय गराउने पनि क्लबले जनाएको छ। पीएसजी गत सिजनको च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको थियो। तर सोही खेलमा नेयमारको प्रेरणामा बार्सिलोनाले पीएसजीलाई हराएको थियो। गत सिजनमा क्लबले मोनाकोसँग फ्रेन्च लिग उपाधि गुमाएको थियो।

अघिल्लो दिन मात्रै पनि पीएसजीले तिर्न लागेको रकम बार्सिलोनाले लिन अस्वीकार गरेको थियो। यसको जानकारी बार्सिलोनाले आफ्नो वेबसाइटमा दिएको थियो। ला लिगा क्लबले पीएसजीविरुद्ध युएफामा उजुरी दिने पनि भनेको थियो। पीएसजीले भने बार्सिलोनाले कानुनअनुसार काम नगरेको विचार राखेको थियो।

पैसाका लागि होइन

नेयमारले बार्सिलोना छाड्नुको कारण मान्छेले सोचेजस्तो पैसा नभएको बरु इतिहास कोर्न पीएसजी गएको बताएका छन्। नेयमारले पीएसजी पुगेर पहिलोपटक गरिएको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्। उनले भने– ‘यी मान्छेलाई मेरो व्यक्तिगत जीवनबारे केही पनि थाहा छैन।

म कहिल्यै पनि पैसाद्वारा प्रेरक भएको छैन। यदि पैसालाई पछ्याएको भए म कुनै देशको कुनै क्लबबाट खेलिरहेको हुन्थ्यो। मान्छेले यस्तो ठान्नु मलाई साँच्चीकै दुःख बनायो। मलाई खुसी छ कि पीएसजीले मलाई विश्वास गर्यो।’

प्रतिक्रिया दिनुहोस्