९ आईजीपीसँग डीएसपी कलाकारको अनुभूति



 

नेपाल प्रहरीका पूर्वनायब प्रहरी उपरिक्षक तथा टेलिभिजन र रेडियो कार्यक्रम प्रहरी अनुरोधका पूर्वसञ्चालक आनन्द पुरीले प्रहरी संगठनमा आफूले भोगेका अनुभवहरुलाई पुस्तकका रुपमा तयार पारेका छन्।

९ आईजीपीसँगका अनुभूति शीर्षक दिइएको पुस्तकमा पुरीले प्रहरी संगठनमा देखेका र भोगेका सुख, दुःख, मिलन विछोड, न्याय, अन्याय, आकृति, विकृतिजस्ता पक्षलाई उजागर गरेका छन्।

प्रहरी संगठनमा रहेका बेला रेडियो र टेलिभिजनका लागि निर्माण गरिएको कार्यक्रममार्फत कलाकारिता र निर्देशनसमेत गरेका पुरीले पुस्तकमा पञ्चायतकालदेखि लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था लागू हुँदासम्मको प्रहरी नेतृत्व चयनका बारेमा समेत खुलाएको बताए।

असईबाट प्रहरी सेवा शुरु गरी ३१ वर्षे सेवा अवधिमा प्रहरी नायब उपरीक्षकसम्म भई संगठनबाट अवकाश लिएका पुरीले आफ्नो पुस्तकमा देशमा पटकपटक भएका राजनीतिक परिवर्तनले प्रहरी संगठनमा पारेको प्रभाव, तत्कालीन राजा वीरेन्द्रसँगको भीभीआईपी सेक्युरिटीमा रहँदाको रोमाञ्चक अनुभव, हिमाल चढ्दाको रोचक र चुनौतिपूर्ण यात्रा, संयोग र वियोग, ड्युटीमा खटिँदाको चुनौती र सहजता, दुर्गम र सुगम स्थानको अनुभव, अपराधीसँगको जम्काघेट र कारवाही, जनताबाट पाएको हाईहाईलगायतको विषयलाई समेटेका छन्।

प्रहरी र प्रहरी संगठनप्रति रुचि राख्नेहरु तथा पुरीका शुभचिन्तकहरुका लागि रोचक यो पुस्तक आगामी साता विएन पुस्तक संसारले बजारमा ल्याउने भएको छ। पुरीद्वारा यसअघि लिखित हिमालको स्वच्छ जल प्रवाह र भक्तिमाला बजारमा आइसकेका छन् भने दर्जनौं कथा र कविता प्रकाशन हुँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्