विश्व चर्चित फुटबलर मेस्सीको सहयोगमा गोरखामा तीन स्वास्थ्य चौकी बने



सन्तोष अधिकारी, गोरखा । विश्व चर्चित अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीको सहयोगमा भूकम्पले ध्वस्त गोरखाका तीन वटा स्वास्थ्य चौकीको पुननिर्माण भएको छ ।

भूकम्पको कारणले पूर्णरुपमा ध्वस्त भएर टेण्ट मार्फत स्वास्थ्य सेवा दिइरहेका गोरखाका दर्बूङ, फुजेल र देउरालीको स्वास्थ्य चौकी निर्माणमा लियोनल मेसी फाउण्डेशनले यूनिसेफ मार्फत सहयोग गरेको हो । देउरालीको स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएपछि आजमात्रै स्वास्थ्य चौकी सञ्चालक समितीलाई हस्तान्तरण गरिएको हो ।

 

मेस्सीको सहयोगमा बनेका तीन स्वास्थ्य चौकी निर्माणमा प्रत्येकको करिब ६० लाख रुपैँया खर्च भएको यूनिसेफका स्वास्थ्य तथा पोषण अधिकृत नितेन्द्र चौरासियाले जानकारी दिए । तीन वटै स्वास्थ्य चौकी अत्याधुनिक प्रिफेब जडित रहेका छन् । सामान्य उपचार मात्र हुने तीन वटै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सहित निर्माण गरिएको हो ।

 

‘अब गाउँका महिलाहरु उपयूक्त स्वास्थ्य चौकी नभएकै कारणले सुत्केरी गराउन अन्यत्र जानु पर्दैन’ चौरासियाले भने ‘लियोनल मेसी फाउण्डेशन बाट आएको रकमको सदुपयोग गर्दै स्वास्थ्य चौकी निर्माण गरेका छौँ । अब समुदायले यसलाई निरन्तरता दिन सहयोग गर्नुपर्दछ ।’ २०१५ को सेप्टेम्बरमा नेपाल सरकार सँग सम्झौता गरी २०१६ को सेप्टेम्बरमा ठेक्का लगाई अहिले सम्पन्न गरिएको हो ।

 

मेसिमेमोरियल फाउण्डेशनको सहयोग बाहेक जिल्लाका अन्य नौ वटा स्वास्थ्य चौकी पनि यूनिसेफले निर्माण गरिरहेको छ । यूनिसेफले भूकम्पको केन्द्र विन्दु बारपाक, लाप्राक, गुम्दा, माछाखोला, नाम्जुङ, छोप्राक लगायतका ठाउँमा पनि स्वास्थ्य चौकी निर्माण गरिरहेको छ । केहि स्वास्थ्य चौकीहरुको निर्माण सकिएकोले केहि समय भित्रै समुदायलाई हस्तान्तरण गर्ने चौरासियाले जानकारी दिए ।

 

तीन वटै स्वास्थ्य चौकीमा खानेपानीको समेत ब्यवस्था गरिएको छ । देउराली र दर्बुङमा धारामा पानी झरिसकेको छ भने फुजेलमा धारा बनिसकेको र पानी ल्याउने विषयमा स्थानीयहरु सँग छलफल भइरहेको यूनिसेफका सरसफाई अधिकृत सूर्य थापाले जानकारी दिए ।

 

स्वास्थ्य चौकीमा पानी ल्याउने काम यूनिसेफको सहयोगमा स्थानीय साझेदारी संस्था स्वाँरा सघन गाउँविकास केन्द्रले गरेको छ । देउरालीको स्वास्थ्य चौकी भवन गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, यूनिसेफका गोरखा प्रमुख मोहम्मद इद्रिस खान र स्वास्थ्य चौकी प्रमुख हरिमानसिंह बस्नेतले संयूक्त रुपमा रिवनकाटेर उद्घाटन गरेका हुन् । दर्बुङ स्वास्थ्य चौकी अप्रिलमा र फुजेल स्वास्थ्य चौकी जुन महिनामा हस्तान्तरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्