जिल्ला समन्वय समिति बागलुङमा बाम–राप्रपाको संयुक्त प्यानल निर्वाचित



सिर्जना पन्त, बागलुङ ।

 

शुक्रबार भएको जिल्ला समन्वय समिति बागलुङको निर्वाचनबाट बाम राप्रपाको संयुक्त प्यानलनै निर्वाचित भएको छ । समितिको संयोजकमा राष्ट्रिय जनमोर्चाका राजेन्द्र ढुङगाना १२ मत प्राप्त निर्वाचित हुनुभएको हो । सह–संयोजकमा नेपाली काङग्रेसले उमेदवारी फिर्ता लिएपछि बुधबारनै नेकपा एमालेका विष्णु भुषाल निर्विरोध निर्वाचित भईसक्नु भएको थियो । त्यसैगरी समितिको सदस्यहरुमा नेकपा एमालेका राजु केसी, रुपा वि.क, राष्ट्रिय जनमोर्चाका ताराकुमारी पुन, माओवादी केन्द्रका झंकबहादुर कामी, दलबहादुर थापा, फुलकुमारी पुन र राप्रपाका डिल्ली आचार्यले समान १२÷१२ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

 

९ सदस्यको लागि भएको जिल्ला समन्वय समिति बागलुङको निर्वाचनमा बामपन्थी राजनीतिक दल र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेल गरेर उमेदबार उठाएका थिए भने नेपाली काङग्रेसले एक्लै चुनाव लडेको थियो । यस्तै नेपाली काङग्रेस बाट संयोजकका उमेदवार लक्ष्मण आचार्य, महिला सदस्यमा कुमारी राना, टुकादेवि शर्मा आचार्य र अनिता केसी बस्याल, मेखबहादुर छन्त्याल, झहरबहादुर खत्री, बमबहादुर खत्री र दिपेन्द्रप्रताप केसीले ८÷८ मत प्राप्त गर्नुभएको थियो ।

यसअघि बागलुङमा जिल्ला सभाका २० जना सदस्य मध्ये ६ वटा एमाले, ८ वटा काँग्रेस, ३ वटा राष्ट्रिय जनमोर्चा, २ वटा माओवादी र १ जना सदस्या राप्रपाले जितेको थियो । यस्तै बैशाख ३१ गतेको स्थानिय तह निर्वाचनमा जिल्लाको ४ नगरपालिका र ६ वटा गाउँपालिका मध्ये एमालेले ४ वटा प्रमुख तथा २ वटा उपप्रमुख पद जितेको थियो । यस्तैगरी काँग्रेसले ४ वटा प्रमुख र ४ वटा उपप्रमुख पद जितेको थियो । उपप्रमुख पदमा राष्ट्रिय जनमोर्चाले २ वटा, माओवादी र राप्रपाले १÷१ वटा पद जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्